आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रास्वपाको एक वर्ष

अनि म रास्वपातिर लागेँ

बिहीबार, ०७ असार २०८०, १० : २१
बिहीबार, ०७ असार २०८०

आज जति राजनीतिमा मलाई चासो छ, एक दशकअघि प्लस टु पढ्दासम्म थिएन । सन् २०१३ मा ब्याचलर पढ्न म काठमाडौं गएको थिएँ । एउटा कफी सपमा प्रायः गइरहन्थेँ । त्यहाँ कांग्रेस नेता बहादुरसिंह लामासहितका नेता आउथेँ । त्यहाँ राजनीतिकै गफ हुने भएकाले अलिअलि चासो हुन थालेको थियो । राजनीतिक दलमा आबद्ध हुने सोच भने आइसकेको थिएन । 

यसैबीच विवेकशील साझा पार्टीबारे चर्चा सुरु हुन थाल्यो । वैकल्पिक शक्ति भनिएकाले मैले उनीहरूको हरेक कदम पछ्याइरहेको थिएँ । समयसँगै ती पार्टी पनि जुट्ने–छुट्ने भए । यो देखेर राजनीतिप्रतिको मेरो बढ्दो रुचि क्रमशः घटेर गयो । 

आज मलाई राजनीतिक चासो हरेक दिन बढ्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेयता म उपनिर्वाचनमा तनहुँ पुगेँ, अहिले गाउँ–गाउँमा संगठन विस्तारमा हिँडेको छु । शिक्षक पेसाबाट निवृत्त भएका, कृषक, विदेशबाट फर्किएकाका लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)जस्तै गफमा रास्वपा सीमित हुँदैन भन्ने छ । सबैलाई एउटै आश छ — वर्ष दिनमै संसद्मा आफूलाई दरिलो उभ्याएको रास्वपा अरूजस्तो बन्दैन । 

ई–कमर्स अलिबाबाका संस्थापक ज्याक–माको एउटा भनाइ छ, ‘तिमीलाई केही नयाँ सिक्नु छ भने स्टार्ट–अप कम्पनीमा गएर काम गर ।’ रास्वपा ‘स्टार्ट–अप’ कम्पनीजस्तै हो ।

अब राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुको कारण, रास्वपा प्रवेश गरेर पार्टी नेतृत्वसँग एउटा सामान्य कार्यकर्ताले गरेको आसबारे कुरा गरौँ । ठ्याक्कै एक वर्षअघि २०७९ असार ७ गते अर्थात् एक वर्षअघि यो पार्टीको जन्म भयो । त्यतिबेला नै यस पार्टीप्रति युवाको आबद्धता देखेर मलाई झनै चासो बढेको थियो । सन् २०१७ तिर काठमाडौँमा पढाइ सकेर गृह सहर पोखरा फर्किएँ । देशमै बस्नुपर्छ, यहीँ केही गर्नुपर्छ भन्ने भएपछि मैले पोखरामा पानी उद्योग खोलेँ । अहिले व्यवसायमा पनि व्यस्त छु । केही समय राजनीतिक कार्यक्रममा बिताउँछु । 

नेकपा एमाले नेता स्व. रवीन्द्र अधिकारी (पूर्वपर्यटन मन्त्री) हाम्रै निर्वाचन क्षेत्रका, म उनका बोली सुनिरहन्थेँ, टोल–छरछिमेकमा पनि उनकै कुरा हुने देख्दा मलाई राजनीतिप्रति अझै चासो हुन थाल्यो । 

कुनै व्यक्ति कुनै राजनीतिक दल वा त्यसको भ्रातृ संगठनसँग जोडिनुका मुख्य दुई कारण हुँदा रहेछन् ः १) राजनीतिमा आबद्ध साथीभाइको संगत । २) परिवार र टोल–छिमेकको वातावरण । 

यी दुवै कारणले मलाई राजनीतिमा झनै प्रेरित ग¥यो । मेरा साथीभाइ र घर–परिवार, छरछिमेकमा एमाले समर्थकको संख्या बाक्लो थियो । दुई वर्षअघि (२०७८ मा) म एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघसँग जोडिएको थिएँ । ठूला पार्टीभित्र समस्यै–समस्या रहेछन् भन्ने त्यहाँ गएपछि बुझेँ । बाहिर युवालाई अघि सार्छौं भन्ने ठूला पार्टीमा युवा नेताको ‘एस–म्यान’ मात्रै हुनुपर्ने रहेछ । यो देखेपछि गएको केही समयमै मलाई नैराश्यता हुन थालेको थियो । 

हाम्रा भ्रातृ संगठनका नेताहरू पार्टीको ‘एस–म्यान’ बन्नुपर्ने बाध्यता पनि छ । नभए भोलि राजनीतिक भविष्यमै ब्रेक लाग्छ कि भनेर डराउनुपर्ने अवस्था छ । स्थानीय तह चुनावमा मैले ‘डिजिटल क्याम्पेनिङ’ गर्छु भन्ने इच्छा जाहेर गरेको थिएँ, तर कतै ठाउँ पाइएन । नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई लिएर एमालेमा गुट भित्रभित्रै झाँगिएको रहेछ । पार्टीभित्र पनि छुट्टै पार्टीजस्तो गुट देखेपछि झनै निराशा बढेर गयो । एउटा गुटको समर्थकले अर्को नेताको विरुद्ध पोखराको सहिद चोकमा नारा नै लगाएका थिए । त्यो देख्दा एमालेमा बस्नु ठिक होइन भन्ने भइसकेको थिएँ । त्यसपछि मैले एमालेसँगको सक्रियता घटाएँ । 

स्थानीय तह चुनावको डेढ महिना जति पछि असारमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । ‘वैकल्पिक शक्ति’ भनेर आएका विवेकशील, साझा, नयाँ शक्तिजस्तै हुन्छ कि भनेर स्थापनादेखि उनीहरूको गतिविधि नियालिरहेँ । जब विषयविज्ञलाई उम्मेदवार बनाइयो त्यो देखेर मलाई रास्वपाप्रतिको आकर्षण झनै बढ्यो । संसद्मा रास्वपाका सांसदको प्रस्तुति, उनीहरूको अध्ययन र तथ्यमा बोल्ने शैली प्रशंसालायक थियो, छ । जब घुसकाण्डमा सांसद मुछिएपछि पार्टीले तुरुन्त एक्सन लियो, त्यो देख्दा अब रास्वपा जान्छु भन्ने भएको थियो । हामी युवा छिटो एक्सन खोज्छौँ, रास्वपाको त्यही कार्यशैली मलाई मन परेको हो । 

अर्को कुरा, रास्वपाको संगठनात्मक संरचना पनि भिन्न छ । वडा, पालिका, क्षेत्र, प्रदेश अनि संघीय संरचना छ । कास्कीका पाँच पालिकाको संगठनात्मक अवस्था पार्टीको जिल्ला समितिले हेर्न भ्याउँदैन । जुन संरचना छ, त्यसले तल्लो तहसम्म पुग्न सहयोग मिल्छ । 

एक महिनाअघि एक प्रहरीका उच्च अधिकारीसँग भेट भएको थियो । उनले सभापति रवि लामिछानेको खुलेर प्रशंसा गरे । सरुवा हुने बेलामा सभापति लामिछाने गृहमन्त्री भएका रहेछन् । नियमित सरुवा गरिएको र अन्याय नभएकामा ती अधिकारी निकै खुसी छन् । यो विषयले प्रहरी अधिकारीभित्रै नियमित बढुवा र न्यायोचित सरुवा भइँदैन कि भन्ने कतिसम्मको चिन्ता हुन्छ भन्ने पनि पुष्टि गर्छ । 

परिवर्तन चाहिन्छ भनेर आफूले हिँडिरहेको बाटो छाडेर नयाँ दलमा जोडिँदा अवसरवादी भइन्छ भने त्यो पनि ठिकै छ, तर राजनीतिक दल रोज्नु आफ्नो स्वतन्त्रताको कुरा हो ।

अहिले रास्वपा प्रवेश गर्ने सबैलाई ‘अवसरवादी’को ट्याग लगाइएको छ । हामी कुनै न कुनै रूपमा आफूलाई अघि बढाउन, उभ्याउन अवसर खोजिरहेका हुन्छौँ । 

सबै सफा नियतका हुन्छन् भन्ने हुँदैनन् । कोही पुराना दलसँग वाक्क भएका, कोही आजसम्म राजनीतिमा नलागेकाहरू रास्वपामा धेरै जोडिएका छन् । को, कस्तो नियतले जोडियो भनेर थर्मोमिटरले ज्वरो नापेजस्तै मोबाइलमा स्क्यान गर्ने प्रविधि हुन्थ्यो भने को कस्तो भन्ने थाहा हुन्छ । अहिले त आउँछु भन्नेलाई बुझेर–चिनेर ल्याउनुपर्ने हुन्छ, तर नियत थाहा पाएपछि ठाउँ छैन भन्न सकियो । 

परिवर्तन चाहिन्छ भनेर आफूले हिँडिरहेको बाटो छाडेर नयाँ दलमा जोडिँदा अवसरवादी भइन्छ भने त्यो पनि ठिकै छ, तर राजनीतिक दल रोज्नु आफ्नो स्वतन्त्रताको कुरा हो । राजनीतिक दल कसले के भन्छ भनेर रोज्ने विषय होइन, आफूलाई मनपर्ने विचार र बाटो रोज्नुपर्छ । 

रास्वपा ‘मास बेस’ भएकाले ठूलो संख्या आउनु स्वाभाविक हो । रास्वपामा ‘डिजिटल डेमोक्रेसी’ मानेर आन्तरिक चुनाव हुन्छ । कोही कुनै पदमा उम्मेदवार हुँदा पार्टीभित्रकै मान्छेले मत दिनुपर्छ । त्यसपछि बल्ल नेतृत्व र पद चयन गरिन्छ । जस्तै ः म पोखरा बस्छु । पोखरामा रास्वपामै जोडिएकाहरू कस्ता छन्, क्षमता के छ भन्ने धेरथोर जानकारी हुन्छ । ‘प्राइमेरी इलेक्सन’ अनुसार हामीले आन्तरिक मत दिने काम गर्छौं । पाँचजना छनोट गरेर त्यसबाट पदाधिकारी टुंग्याउँछौँ । कोही भोलि पदमा पुग्यो भने पनि बहुमतको आधारमा ‘राइट टु रि–कल’को अपसन छ । 

ई–कमर्स अलिबाबाका संस्थापक ज्याक–माको एउटा भनाइ छ, ‘तिमीलाई केही नयाँ सिक्नु छ भने स्टार्ट–अप कम्पनीमा गएर काम गर ।’ रास्वपा ‘स्टार्ट–अप’ कम्पनीजस्तै हो । सिक्न चाहने युवालाई राजनीति बुझ्न चाहनेलाई एउटा राम्रो प्लेटफर्म रास्वपा हो । म अहिले कति कार्यक्रममा हिँड्दा आफूले बोल्दा बिगारेका कुरा अरू साथीले भनिदिन्छन् । ठूला दलमा युवाहरू पछिल्लो लहरमा बसेर सुन्नुपर्ने दुःखद बाध्यता छ । 

अब रास्वपा भू–राजनीतिबाट जोगिनुपर्छ । संसद्मा ठूलो दल भएकाले विदेशी शक्तिको चासो हुनु स्वाभाविक हो, तर तत्काल त्यता जोडिनु हुँदैन । 

कस्ता युवा ?

युवा–युवा भनेर मात्र हुँदैन । अध्ययनशील, लगाव र दृढता भएको युवा ठाउँमा पुग्नुपर्छ । रास्वपाका माननीयको गतिविधि हामीले हरिरहेकै छौँ । अरूभन्दा रास्वपा फरक छ भन्ने संसद्मा सबै सांसदको सक्रियता, मासिक रिपोर्ट कार्डजस्ता विषयले पनि देखाउँछ । संसदमा के विषय उठाए, उपस्थिति कस्तो रह्यो, कुन कार्यक्रममा भाग लिए, तलब–भत्ता कति लिए भन्ने पारदर्शिता पनि रास्वपाको राम्रो पक्ष हो । 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका विद्यार्थी र युवा संगठन कस्ता छन् तपाईं हामीले देखेकै छौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने विद्यार्थीबाट मरणासन्न कुटिएर अहिले न्याय माग्दै हिँड्नुपरेको छ । त्यस्तै विद्यार्थी र युवालाई हाम्रा ठूला दल संरक्षण गर्छन्, माफी दिन्छन् । विद्यार्थी संगठन र युवा संगठनले आफ्नै नेतालाई सल्लाह–सुझाव दिने, झकझकाउनेभन्दा पनि गलत गर्दा पनि नेताको संरक्षणमा उत्रन्छन् । यसले भोलिका नेता भनिएकाहरू ‘एस–म्यान’बाहेक केही हुन सकेनन् । नेताको ढाकछोप गर्न युवा फरक दलका भए पनि ‘एउटै खेतका...’ हुन् । 

रास्वपाले भ्रातृ संगठन नबनाउने उद्घोष गरिसकेको छ । त्यसैले यहाँ कोही कसैको कार्यकर्ता होइन । कोही नेताले भनेर कसैले केही गर्नु पनि पर्दैन । रास्वपा मात्रै ठिक, यो पार्टीको नेतृत्व मात्रै ठिक भन्नु आफैँमा गलत हो । म त्यो पक्षमा छैन । कहिलेकाहीँ नचाहँदा–नचाहँदै गल्ती हुन्छन् । त्यसलाई सुधार्नु राम्रो पक्ष हो । 

अब रास्वपा भू–राजनीतिबाट जोगिनुपर्छ । संसद्मा ठूलो दल भएकाले विदेशी शक्तिको चासो हुनु स्वाभाविक हो, तर तत्काल त्यता जोडिनु हुँदैन । 

पार्टीमा आउने र आएकालाई शुद्धीकरण गर्दै जानुपर्छ । संख्या ठूलो हुनु सबथोक हुनु होइन । पार्टीले जनताका मुद्दा उठाउने र सत्तामा गए डेलिभरी दिन सक्ने गरेर काम गर्छ वा गर्दैन त्यो मुख्य कुरा हो । चुनावी घोषणापत्रमा भएका कुरा सत्ता बाहिरै बसेर भए पनि कति सकिन्छ आफ्नो ठाउँबाट त्यसलाई पूरा गर्न दबाब दिइरहनुपर्छ । 

(खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक खड्का
अशोक खड्का
लेखकबाट थप