सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

दीपेन्द्रले लिए वेस्ट इन्डिजको चौथो विकेट

बिहीबार, ०७ असार २०८०, १६ : ००
बिहीबार, ०७ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको चौथो विकेट लिएको छ । चौथो विकेटका रुपमा वेस्ट इन्डिजका निकोलस पुरन पेभेलियन फर्किएका हुन् ।  पुरनको विकेट दीपेन्द्रसिंह ऐरीले लिए । पुरनको क्याच पनि दीपेन्द्रले नै लिएका थिए । लामो समय क्रिजमा टिकेका पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलको सामना गरी चार छक्का र १० वटा चौका प्रहार गरेका थिए । पुरनले चौथो विकेका लागि कप्तान साई होपसँग दुई सय १६ रनको साझेदारी गरे ।

त्यसअघि स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजको तेस्रो विकेट लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिएका थिए । सन्दीपले किंगलाई ३२ रनमा बोल्ड गरेका थिए । सन्दीपले जारी प्रतियोगितामा लिएको यो पहिलो विकेट हो । किंगले ४२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । वेस्ट इन्डिजले ५५ रनमा तेस्रो विकेट गुमाएको हो । 

त्यसअघि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराए । गुल्सनले चार्ल्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए । त्यतिबेला वेस्ट इन्डिज नौ रन बनाएर खेल्दै थियो ।  त्यसअघि नेपालका अर्का बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । वेस्ट इन्डिजले दुई रनकै कूल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । करण विश्वकप विजेता रहिसकेको राष्ट्रविरुद्ध विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् । 

जिम्बाबेको हरारे स्पोर्ट क्लबमा भएको खेलमा नेपालले टस जितेर वेस्ट इन्डिजलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता हो । नेपालले एकदिवसीय विश्वकप विजेता टोलीसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गरेको हो । 

त्यसैले बिहीबारको खेलमा नेपाली बलर ललित राजवंशीले पनि इतिहास रचे । विश्वकप विजेता रहिसकेको टोलीविरुद्ध बलिङ गर्ने पहिलो नेपाली बलर बने ललित । नेपालले ललितलाई वेस्ट इन्डिजविरुद्धको खेलमा ओपनर बलरको रुपमा प्रयोग गरेको हो । आफ्नो पहिलो ओभरमा ललितले केवल दुई रन दिए । उनको बलमा वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रेन्डन किंग र काइले मायर्सले एक-एक रन लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप