आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्थानीय तहको बजेट

अनुदान कटौतीको असर स्थानीय तहको बजेटमा :  के छ महानगरको तयारी ?

शुक्रबार, ०८ असार २०८०, १० : २५
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै स्थानीय तह (पालिकाहरू) लाई पनि बजेटको चटारो सुरु भएको छ ।

 संविधानमा भएको व्यवस्था बमोजिम केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसकेका छन् । 

यस्तै  स्थानीय तहहरूले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संविधानमा व्यवस्था छ । यसै बाध्यताकालाई मध्यनजर गर्दै यतिबेला पालिकाहरू बजेट निर्माणमा जुटेका छन् । 

७५३ स्थानीय तहहरू मध्येपनि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमलाई विशेष रूपमा हेर्ने गरिएको छ । कूल ६ वटा महानगरपालिका मध्ये काठमाडौँ महानगरपालिकाले झन्डै एउटा प्रदेशकै हाराहारीमा वार्षिक बजेट पाउँछ । 

बागमती प्रदेश भित्रकै तीन वटा महानगरपालिकासहित गण्डकी प्रदेशको पोखरा महानगरपालिका र कोशी प्रदेशको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कस्तो बजेट ल्याउलान् भन्ने चासो छ । त्यसका लागि काठमाडौँ र ललितपुरले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

यस्तै मधेस प्रदेशको वीरगन्ज महानगरपालिकाले बजेट सार्वजनिक गरिसकेको छ । बाँकी महानगरपालिका पनि बजेटको तयारीमा जुटेका छन् । 

तर, सबै महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बजेट घटाउने तयारी गरेका छन् । केन्द्र र प्रदेशबाट पाउने अनुदान समेत घटेकाले त्यसको असर बजेटमा पर्ने देखिएको हो । 

यस्तै राजस्व असुली समेत अपेक्षित नहुँदा बजेट घटाउनुपर्ने अवस्था रहेको महानगरहरूको भनाइ छ । 

काठमाडौँ महानगरपालिका 

सङ्घीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आइतबार अर्थात् असार १० गते नै ल्याउने तयारी गरेको छ । बुधवार मेयर बालेन साहले नगरसभामा नीति तथा कार्यक्रम पेस गरेकामा शुक्रवार र शनिवार दुई दिन छलफल गरेर आइतबार बजेट सार्वजनिक गर्न लागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । 

महानगरको संस्कृति तथा ऐतिहासिक पक्षको संरक्षण एवम् प्रवर्द्धनसँगै सफा र हराभरा सहर बनाउने लक्षित नीति तथा कार्यक्रम बमोजिम नै बजेट आउने उनको भनाइ छ । यस्तै व्यवस्थित सहर निर्माणमा बजेट बढी केन्द्रित हुने उनले रातोपाटीलाई जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको आकार केही घटाउने भएको छ । आन्तरिक राजस्वका स्रोतहरू केही खुम्चिएको अवस्थामा सङ्घ र प्रदेशबाट पाउने अनुदान समेत कटौती भएकाले बजेट घटाउनु परेको अधिकारीले र बताए ।

ललितपुर महानगरपालिकाले आइटीलाई प्राथमिकता दिने

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासमा विशेष प्राथमिकता दिने भएको छ । खासगरी महानगरपालिकाको सरसफाइलाई केन्द्रमा राखेर विकास गरिने प्रविधिले फोहोर कम्प्लेन सूचना प्रविधि, क्लिनिङ एम्बुलेन्स तथा इन्भारोमेन्ट पुलिस जस्ता अवधारणाहरूको विकास र अग्रसरता लिनेछ । 

महानगरको बजेट पूर्वाधारको क्षेत्रमा पुराना र ऐतिहासिक सम्पदाहरूको संरक्षणमा नै केन्द्रित हुने प्रमुख सूचना प्रशासकीय अधिकृत गणेश अर्यालले रातोपाटीलाई जानकारी दिए । 

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मालपोत राजस्व, अन्तर सरकारी अनुदान घटेर आएकाले बजेट केही घट्ने आचार्यले बताए । बजेट आगामी आइतबार नगर सभामा पेस हुनेछ ।  

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिका यस पटकको बजेटमा पनि कृषिमा केन्द्रित हुने भएको छ । कृषि, पशुपन्छी तथा कृषकको आर्थिक एवम् उत्पादकत्व क्षमता वृद्धिमा महानगर केन्द्रित हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले रातोपाटीलाई जानकारी दिए । 

‘कृषि मल, बिउँ विजन, उत्पादनमा आधारित कृषि अनुदान आदि बजेटमा समेटिनेछन्’, उनले भने । साथै, बजेट महानगरपालिकाभित्र सुरु भएका अधुरा भौतिक पूर्वाधारलाई पूर्णता दिन समेत केन्द्रित हुने उनले बताए ।

महानगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रमसहित आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछ । चालु आर्थिक वर्षका लागि ६ अर्ब ७५ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएको महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि केही प्रतिशत आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ ।

 पोखरा महानगरपालिका 

पोखरा महानगरपालिका भने आगामी आर्थिक वर्ष प्रशासनिक भवन निर्माणमा केन्द्रित हुने भएको छ । हाल आफ्नै प्रशासनिक भवन नहुँदा समस्या झेलिरहेको भन्दै महानगरपालिकाले यसका साथै वडाहरूको भवन समेत बनाउने जनाएको छ ।  

महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले यसबाहेक बजेट खानेपानी, सरसफाइ, पर्यटन प्रवर्द्धन एवम् सुधारका कार्यक्रमहरूमा केन्द्रित हुने बताए । नवीनतम टेक्नोलोजीको प्रयोगसँगै नगरलाई हराभरा र स्वच्छ राख्न केन्द्रित हुने पनि उनले बताए ।

 अन्य महानगरपालिकाहरूको जस्तै पोखरा महानगरपालिकाको पनि यस पटक बजेट केही घट्ने भएको छ । चालु आर्थिक वर्षका लागि महानगरले ८ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

विराटनगर महानगरपालिका सहरी विकास पूर्वाधारमा केन्द्रित हुने

विराटनगर महानगरपालिका सधैँ जसो कृषि, पर्यटन, रोजगारीको मुद्दामा केन्द्रित हुने गरे पनि आगामी आर्थिक वर्षमा भने सहरी विकासका पूर्वाधारमा केन्द्रित हुने भएको छ ।

 प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर औद्योगिक सहर भएकाले पनि विशेष सहरी विकास पूर्वाधारमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए । साथै, महानगरलाई पर्यटकको द्वारको रूपमा विकास गर्नेगरी योजनाहरू अघि सारिने उनले बताए । यद्यपि, यो महानगरले अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कम बजेट ल्याउने भएको छ । 

चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेट कार्यान्वयन, राजस्व असुली अपेक्षित नभएको अवस्थाका साथै केन्द्र र प्रदेशबाट पाउने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको पराजुलीले बताए । 

वीरगन्ज महानगरपालिका

 पर्साको वीरगन्ज महानगरपालिकाले भने बुधवार नै आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइसकेको छ । कूल ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको महानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा करिब १२ करोड रुपैयाँले कम बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

कुल विनियोजित बजेट मध्ये महानगरले चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ अर्थात ७७ प्रतिशत छुट्याएको छ भने पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ अर्थात १ प्रतिशत बजेट छुट्याएको छ । 

जुन खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ सङ्कलन गरिने लक्ष्य राखिएको छ भने नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, सङ्घीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ भने प्रदेश राजश्वबाट २ करोड ८७ लाख व्यहोर्ने महानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप