आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रकोप

बाढी पहिरोका कारण ३० जलविद्युत आयोजनामा साढे ८ अर्बको क्षति

शनिबार, ०९ असार २०८०, ११ : २०
शनिबार, ०९ असार २०८०

काठमाडौँ । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० वटा जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । यहीँ असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० ओटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो ।

पूर्वी नेपालमा आएको अप्रत्याशित बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । यस्तै, पूर्वी नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना २५ मेगावाटको काबेली बी(१) मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ । उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले जानकारी दिए ।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा २ जलविद्युत आयोजनामा ९० करोड बराबरको क्षति भएको मेन्छियाम हाइड्रोपवारका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य माननीय दीपक खड्काले बताए । उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावर हाउस लगायतका भौतिक संरचना पूर्णरुपमा क्षति भएर आयोजनाको पुनर्निर्माणको लागि २ वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।

flood

यस्तै १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनामा ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए ।

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति

बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म ४ जनाको मात्र शब भेटिएको छ ।

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए । यस्तै ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । ९.७ मेगावाटको इङ्ग्वा खोलामा पनि ५० करोड बराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिष न्यौपानेले जानकारी दिए । प्रभावित आयोजनाका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पानले बाढीले प्रभावित आयोजनाका वारेमा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, राष्ट्र बैंकका गभर्नर र बीमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी समेत गरेको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाका बारेमा प्रस्तुतिकरणको लागि समय माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप