सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
लोकदोहोरी

बन्द कोठाभित्र गाउँदा बिग्रियो लोकदोहोरी

शनिबार, ०९ असार २०८०, ११ : ३४
शनिबार, ०९ असार २०८०

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई लिएर मेरो ठुलो सपना केही छैन । अग्रजले सबै पूरा गर्नु भएको छ । हिँड्ने बाटो देखाउनुभएको छ । त्यो बाटो म पछ्याउँदै अगाडि बढिरहेकी छु ।

प्रतिष्ठानको नेतृत्व मैले लिएपछि मप्रति एक किसिमको अपेक्षा धेरैको छ । मसँग अझ तीन वर्षको समय छ । केही न केही रचनात्मक काम गरेर जान्छु । प्रतिष्ठानबाट जाँदै गर्दा रीता थापा मगरले पनि केही दिइन्, केही गरिन्  भन्ने पार्छु ।

प्रतिष्ठानमा मेरो नेतृत्व नै एक किसिमको परिवर्तन पनि हो । किनभने पहिलो पटक प्रतिष्ठानले महिला नेतृत्व पाएको छ । म प्रतिष्ठानमा आउँदै गर्दा कतिपयले महिला नेतृत्वलाई सहज छैन समेत भनेका थिए । मैले सहज देखिरहेको छु । मलाई महिला, पुरुष सबै साथीभाइले सहयोग गरिरहनुभएको छ । सबैको साथ र सहयोगले अगाडि बढ्न हौसला मिलेको छ । मेरो नेतृत्वमा प्रतिष्ठान एक कदम अगाडि हुनेछ ।

प्रतिष्ठान आफैँमा राम्रो संस्था हो । प्रत्येक जिल्ला, प्रदेशमा र विदेश पनि सङ्गठन छ, आफ्नै भवन छ । हामीले अनुशासित भएर यसको काममा लाग्नुपर्ने छ ।

म अध्यक्ष भएपछि विभिन्न प्रदेशमा प्रत्येक तीन महिनामा प्रतिष्ठाको घुम्ती बैठक राख्ने नियम बनेको छ । जसअनुसार गण्डकी प्रदेशको मादी गाउँपालिकास्थित तान्तिङ होमस्टेमा हामीले बैठक राखिसकेका छौँ । अब प्रतिष्ठानको प्राथमिकता भनेको तीज उत्सव र नारायण रायमाझीको एकल साँझ हो ।

प्रतिष्ठानले प्रत्येक वर्ष एक स्रष्टाको एकल साँझ गर्नेछ । लोक सांस्कृतिक सङ्ग्रहालय बनाउने भनेर घोषणा गरेका छौँ । त्यसतर्फ पनि अगाडि बढ्नेछ ।

मानिसका लागि सबैभन्दा ठुलो मान, प्रतिष्ठा हो, पैसा होइन । पैसाको लागि जे पनि गर्न मिल्दैन ।

पैसा मात्र ठुलो कुरो होइन

लोक तथा दोहोरी गीतको अवस्था पहिलेको तुलनामा पछिल्लो समय धेरै सुध्रिएको छ । गायक भाइबहिनी पनि अनुशासित भएका छन् । नराम्रो, अश्लील गीत बन्यो भने नैतिक रूपमा कारबाहीमा परिन्छ । हामी आफैँ चेतनशील, नैतिकवान् हुनुपर्छ भनेर चेत खुलेको छ ।

लोक तथा दोहोरी गीतको विकृतिका विषयमा प्रतिष्ठान एक्लैले केही गर्न सक्दैन । तर पनि हामीले विभिन्न खालका विभाग गठन गरेर काम गरिरहेका छौँ ।

केही समयअगाडि बजारमा अश्लील र द्विअर्थी गीतसङ्गीत धेरै थिए । सस्तो चर्चा र युट्युबबाट आम्दानीको लोभमा यो भएको हो । समाजको ध्यान अलिक बढी नकारात्मकतिर जाँदो रहेछ ।

युट्युबमा राम्रा मौलिक गीतसङ्गीत थुप्रै छन् । तर त्यो कसैको प्राथमिकतामा पर्दैन । नराम्रो र विवादित भयो भने सबैको ध्यान जान्छ । नकारात्मकता नै बजारमा बढी बिक्ने भएकाले केही आफूलाई विवादमा पारेर अगाडि आउन खोज्दा रहेछन् ।

मिडिया तथा सामाजिक सञ्जालमा यस्तैको बढी चर्चा हुँदोरहेछ । यो एउटा कल्चर जस्तो पनि भएको छ । अहिले नराम्रो गीतसङ्गीतमा बिस्तारै कमी आएको छ ।

कतिपय लोक गीतसङ्गीतमा अश्लील र द्विअर्थी शब्द बाध्यता भन्छन् । मलाई लोक गीतसङ्गीतलाई नङ्ग्याएर किन पेट पाल्नुपर्‍यो जस्तो लाग्छ । त्यसले इज्जत दिन्छ त ? मेरो प्रश्न यही हो ।

मानिसका लागि सबैभन्दा ठुलो मान, प्रतिष्ठा हो, पैसा होइन । पैसाको लागि जे पनि गर्न मिल्दैन । नराम्रो काम गर्नेलाई एकछिन त साथीभाइले ठिक छ भन्लान् । त्यसले कालान्तरमा उसैलाई असर गर्छ ।

उमेर बढ्दै जाँदा, कलाकारितामा समय बिताउँदै जाँदा आफ्नो इज्जत बढाउनुपर्ने, मान, प्रतिष्ठा बढाउँदै जाने दिन आउँछ । त्यो समय नराम्रो काम गर्नेलाई सबैको हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ । त्यसैले पैसा मात्र ठुलो कुरो होइन है भन्छु म ।

अनि बिग्रियो लोकदोहोरी

एक समय टेलिभिजनमा लोकदोहोरीका प्रशस्तै कार्यक्रम थिए । त्यो समय लोकदोहोरी गीत बजारसमेत बिक्री धेरै हुन्थ्यो । धेरै निस्कन्थे । त्यो समय क्यासेट कम्पनी धेरै खुले । हेर्दा घर घरमा क्यासेट कम्पनी थिए ।

पछिल्लो समय लाइभ लोकदोहोरीले दर्शक श्रोता रिझाएका छन् । कलाकार एक अर्कासँग आलोपालो गरेर लोकदोहोरी गाउँदै युट्युबमा राख्न थालेका छन् ।

डिजिटल प्लेटफर्मको विकासले प्रत्येक कलाकारले आफ्नो युट्युब च्यानल भयो । आफैँले किन गीत रेकर्ड नगर्ने भनेर स्टुडियो धेरै खुल्यो ।

मेरो विचारमा बन्द कोठामा सीमित व्यक्ति बसेर लोकदोहोरी गाउनाले बिग्रियो । मेरो विचारमा यस्ता गीतले कहिल्यै पनि लोकदोहोरीलाई माथि पुर्‍याउँदैन ।

लोकदोहोरीको केही गीत सुन्दा आँखाबाट आँसु रसाउँछ । मौलिक संस्कृतिलाई यसले राम्रोसँग टेवा पुर्‍याएको जस्तो लाग्छ । केही लोकदोहोरी हेर्दा विरक्त लाग्छ । गीत गाउने व्यक्ति केही क्षणका लागि मात्र कलाकार बन्न आए जस्तो लाग्छ । 

कतिपय गीत त धेरै छिल्लिएर गाइएका भेटिन्छ । ती गीत बुबाआमा र समाजले सुन्यो भने के भन्ला, डर त्यसमा छ ।

पहिले लाइभ लोकदोहोरी बुबाआमा, गाउँघर समाजको अगाडि गाउने गरिन्थ्यो । त्यसैले गीतमा नराम्रो शब्द प्रयोग हुँदैन थिए । अहिले लाइभ लोकदोहोरी बन्द कोठामा उस्तै उस्तै साथीहरू बसेर गाउने गरिन्छ । चर्को शब्दमा, अलिकति बटारेर जसले गाउन सक्यो, हाँसो र ताली उसैले पाउँछ । स्टुडियोमा ६, ७ जना बसेर जे मन लाग्यो त्यही गायो र बाहिर ल्यायो ।

मेरो विचारमा बन्द कोठामा सीमित व्यक्ति बसेर लोकदोहोरी गाउनाले बिग्रियो । मेरो विचारमा यस्ता गीतले कहिल्यै पनि लोकदोहोरीलाई माथि पुर्‍याउँदैन । न यस्ता गीत सङ्गीत देशविदेशका कार्यक्रममा प्राथमिकतामा नै पर्छ ।

म विसं २००७ देखि कार्यक्रमको सिलसिलामा देश विदेशको यात्रा गरिरहेको छु । अहिलेसम्मको अनुभवले कार्यक्रममा प्राथमिकतामा पर्ने भनेको मौलिक र राम्रा लोक तथा दोहोरी गीतसङ्गीत नै हो ।

पुरुषले दौरा सुरुवाल र महिलाले गुन्युचोलीमा नेपाली मौलिक लोकदोहोरी गाउँदा दर्शक–श्रोताले असाध्यै माया गर्नुहुन्थ्यो । नेपाली मनलाई नेपाली पन भएको गीतसङ्गीत र संस्कृतिले नै छुन्छ । विदेशमा त जहिले पनि मौलिक नेपाली लोकगीत नै खोजिन्छ । 

पलायन होइन

अहिले धेरै पुराना लोकदोहोरी गायक गायिका गीतसङ्गीत बाहिर रहेका छन् । त्यो सबैलाई थाहा भएको विषय हो । गायक गायिका गीतसङ्गीतबाहिर रहनुलाई कतिपयले यो क्षेत्रबाट बाँच्ने अवस्था नभएर पलायन भएको समेत भनेका छन् । तर म त्यो मान्दिनँ । हरेको मानिसको जिन्दगी जिउने आ–आफ्नो सोच हुन्छ । त्यो सोच अनुसार उहाँहरू हराउनुभएको हो ।

अर्को कुरो कलाकारको एउटा समय हुन्छ । त्यो समय कलाकारितामा लाग्छन् । कलाकारिताको जिन्दगी यहाँसम्म भएपछि पुग्यो भन्छन् अनि हराउँछन् । कतिपयको विदेशमै रहने सोच पनि हुन्छ ।

कति छायामै बस्न रुचाउनेसमेत छन् । केही लोक गीतसङ्गीतबाट बाँच्न गाह्रो भएर अन्य पेसा रोजेका पनि होलान् ।

हाम्रो देश सानो छ । तर कलाकारिता क्षेत्रप्रतिको आकर्षण धेरै छ । सबै जनालाई यो क्षेत्रमा लाग्न मन लाग्छ । यसैमा लागेर आफ्नो भविष्य बनाउने सोच्छन् । देशमा कलाकारका लागि भविष्य बनाउने कहाँ छ र ?

अर्को कुरा हामी विदेशका कलाकारसँग आफूलाई तुलना गर्छौँ । त्यहाँको हाइफाई र स्ट्यान्डर्ड यहाँ खोज्छौँ । हाम्रो भूगोल त त्यो होइन नि ।

हामी कलाकारले राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्व पूरा गरेका छौँ त ? यो पहिले सबैले सोच्नुपर्‍यो ।

मलाई यस्तो पनि लाग्छ, कलाकारिताबाट हुन सक्दैन र गर्न सकिन भने त्यो कलाकारले कलाकार बन्नका लागि अर्को पेसा रोज्नुपर्छ । अर्को पेसाबाट आम्दानी गरेर आफुलाई आर्थिक रूपमा मजबुत बनाएर सौखका लागि कलाकारिता गर्नुपर्छ ।

कलाकारले तिर्नुपर्छ कर

धेरै कलाकार राज्यले हामीलाई के दियो, राज्यबाट के मिल्यो भनेर गुनासो  पोख्छन् । म त्यसमा पर्दिनँ । यस्तो सोच गलत हो भन्नेमा म पनि एक हो ।

हामी कलाकारले राज्यप्रति निर्वाह गर्नुपर्ने दायित्व पूरा गरेका छौँ त ? यो पहिले सबैले सोच्नुपर्‍यो ।

मेरो विचारमा कलाकारले पहिले देशका लागि गर्नुपर्‍यो । अनि राज्यबाट माग्नुपर्‍यो । त्यो भयो भने राज्यले पनि दिन्छ ।

विदेशका कलाक्षेत्र हेर्ने हो भने सानाठुला सबै कलाकारले आफ्नो आम्दानीअनुसार राज्यलाई कर तिर्छन् । देशका लागि विभिन्न साथ र सहयोग गर्छन् । हामीले भने अहिलेसम्म लाखौँ, करोडौँ कमाए पनि कर तिरेको रेकर्ड  छैन ।

हामीले राज्यबाट माग्ने मात्र होइन, राज्यलाई पनि दिन सक्नु पर्‍यो । त्यसपछि मात्र राज्यबाट पाइन्छ भन्ने मेरो धारणा हो ।

(लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरसँग कुवेर गिरीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रीता थापामगर
रीता थापामगर
लेखकबाट थप