सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुस्केट्सले मेसीसँगै इन्टर मियामीबाट खेल्ने

शनिबार, ०९ असार २०८०, ११ : ३९
शनिबार, ०९ असार २०८०

काठमाडौँ । स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्स र अर्जेन्टिनी स्टार लियोनल मेसीले पुनः एउटै क्लबबाट आफ्नो क्षमता प्रदर्शन गर्ने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तान बुस्केट्स पनि अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका हुन् । बुस्केट्सले गत मेमा ला लिगा क्लब बार्सिलोना छाड्ने घोषणा गरेका थिए । आज (शनिबार) ३६ औं वर्षमा पाइला टेकेका मेसी भने सन् २०२१ बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएका थिए । एक सिजन पीएसजीमा बिताएपछि मेसी पनि मेजर लिग सकर क्लब इन्टर मियामीमै आबद्ध हुँदैछन् ।

मेसी र ३४ वर्षीय बुस्केट्सले लामो समय बार्सिलोनाबाट खेलेका थिए । बुस्केट्स बार्सिलोनाको ‘बी’ टिम हुँदै सन् २००८ मा सिनियर टोलीमा आबद्ध भएका थिए । मेसी भने बार्सिलोनाको ‘बी’ टिम हुँदै सन् २००४ मा सिनियर टोलीमा आबद्ध भएका थिए । इन्टर मियामीले पनि बुस्केट्स आफ्नो क्लबमा आबद्ध हुने जनाएको छ । मेसी र बुस्केट्सले सन् २००८ देखि सन् २०२१ सम्म १३ सिजन एकसाथ बार्सिलोनामा बिताएका थिए । यी दुबै खेलाडीले बार्सिलोनालाई तीनवटा च्याम्पियन्स लिगको उपाधि चुमाएका थिए ।

यसैगरी मेसी र बुस्केट्सले बार्सिलोनालाई आठवटा स्पेनिस ला लिगा र ६ वटा कोपा डेल रेको उपाधि पनि जिताएका थिए । मेसीलाई जस्तै बुस्केट्सलाई पनि साउदी अरेबियाको ब्यवसायिकबाट प्रस्ताव आएको थियो । तर, बुस्केट्सले साउदी लिग छाडेर इन्टर मियामीलाई नै रोजे । इन्टर मियामीका मालिकहरुमध्ये एक, आफ्नो समयका चर्चित फुटबलर डेभिड बेकह्याम पनि हुन् । मेसीलाई जस्तै बुस्केट्सलाई इन्टर मियामीमा भित्र्याउन पनि बेकह्यामको महत्वपूर्ण भूमिका रहेको समाचारमा जनाइएको छ । स्पेनिस राष्ट्रिय टोलीका पूर्वकप्तान बुस्केट्सले बार्सिलोनाका लागि सात सय २२ खेल खेलेका छन् ।

उनी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा पर्छन् । उनले बार्सिलोनाको सिनियर टोलीका लागि १८ गोल गरेका छन् भने अन्य खेलाडीलाई गोल गर्न ४० वटा उत्कृष्ट पास उपलब्ध गराएका छन् । बुस्केट्सले गत डिसेम्बरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । स्पेनलाई सन् २०२१ को विश्वकप र सन् २०१२ को युरो कप जिताउन बुस्केट्सको महत्वपूर्ण भूमिका रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप