बागमती नदीको बाढीमा फसेका ५ जनाको उद्धार
रौतहट । रौतहट स्थित बागमती नदीको बाढीमा फसेका ५ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्धार गरेको छ। बागमती नदीमा एक्कासि बाढी आएपछि पारी गोठाला गएका ४ जना महिलासहित पाँच जनाको सुरक्षा टोलीले सुरक्षित उद्धार गरेको हो।
जिल्लाको राजदेवी नगरपालिका ३ चन्डिहा गाउँबाट शुक्रबार साँझ भैँसी चराउन बागमती नदीको बगरमा गएका ५ जना गोठाला एक्कासि नदीमा बाढी आएपछि बगरमा फसेको थिए। घटनाबारे प्रहरीलाई राति १० बजे खबर आउनासाथ तत्कालै प्रहरीको उद्धार टोलीले ३ जनालाई राति १२ बजे २ जनालाई आज बिहान उद्धार गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।
संयुक्त टोलीले राजदेवी ३ घर भएकी ५० वर्षीय रामपति देवी, ३० बर्सिया ललिता देवी र सर्लाही बलरा जमुनियाका ६० वर्षीय किसान सहनीलाई राति नै उद्धार गरेको थियो।
भैँसीसहित रहेका राजदेवी ३ का ६० वर्षीय विलास साह र ४० वर्षीय करणशीला साहलाई चौपायासहित आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उद्धार टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता रहेको थियो।