आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि उद्यमी

१५५ रुपैयाँ लिएर सहर छिरेका गजेन्द्रको कृषि फार्ममा ४० करोड लगानी

शनिबार, ०९ असार २०८०, १५ : ००
शनिबार, ०९ असार २०८०

विराटनगर । विराटनगर–१२ दरैयामा कृषि क्षेत्रसँग सम्बन्धित उद्योग विगत २ वर्षदेखि सञ्चालित छ । जहाँ एक सय ४५ वटा गाई छन् । दैनिक ११ सय लिटर दूध उत्पादन हुन्छ । उक्त फर्ममा दानापानी दिने, गोबर पखाल्ने, दूध दुहने सबै काम स्वचालित यन्त्रबाट हुन्छ । 

त्यही फर्ममै साईलेज फ्याक्ट्री छ । साईलेज प्याकेजिङ प्लास्टिक  उत्पादन गर्ने उद्योग गत बुधबार उद्घाटन भयो । दाना उद्योग पनि त्यही छ । गाई फर्मको रेखदेखका लागि पञ्जाबबाट आएका विशेष चिकित्सक छन् । 

उक्त उद्योगमा अहिलेसम्म ४० करोड लगानी भइसकेको छ । ५ बिघा जग्गामा सुरु भएको यो फर्ममा अहिले ३२ जनाले रोजगारी पाइरहेका छन् भने अन्य १० जना दैनिक ज्यालादारी मजदुर छन् । त्यसका अलावा त्यहाँ मौसमी तथा बेमौसमी तरकारी खेती पनि गरिएको छ । 

बञ्जरा एग्रो, दरैया प्लास्टिक उद्योग र कुन्ती क्याटल फोडर सबै उद्योग एकै ठाउँमा सञ्चालन गरिरहेका उद्योगी हुन् गजेन्द्र शर्मा । 

उनी अहिले पनि विश्वविख्यात होटल सञ्चालक कम्पनी हिल्टनका उच्च ओहोदाका कर्मचारी हुन् । अहिले दुबईस्थित हिल्टनले सञ्चालन गरेको पाँचतारे होटलमा उनी म्यानेजर पदमा कार्यरत छन् ।  

Uddhog (1)

स्वेदशको प्रेम

गजेन्द्रका दुई जना छोरा अस्ट्रेलियामा छन् । ग्रीन कार्ड होल्डर बनिसकेका उनीहरूले दुःख नगर्नु बाबा, अस्ट्रेलिया नै आउनु भन्छन् । तर, उनी भन्छन्, ‘म नेपाललाई छाडेर जाने कल्पनै गर्न सक्दिन । मलाई सन् २००७ मै क्यानडाबाट पीआर आएको थियो । तर, मैले अस्वीकार गरेँ । मेरो सबैभन्दा ठुलो उद्देश्य मैले जे सिके, जे देखेँ, त्यसलाई स्वदेशमै लागू गर्न चाहन्छु ।’

कतिपयले उनलाई होटलको जिएम भएको मान्छे कृषि उद्यमी किन बन्नु परेको पनि भन्छन् । तर, उनीसँग त्यसको सामान्य जवाफ छ, ‘गाउँको माया, स्वदेशी प्रेम ।’ त्यसका अलावा होटलमा लगानी गर्दा धेरै लाग्ने र रिटर्न हुन पनि गाह्रो हुने देखेर कृषि उद्यममा लगानी गरेको उनी बताउँछन् । 

‘फुल्ली अटोमेटिक मिल्किङ पार्लर र मिल्क प्रोसेसिङ युनिट नेपालमै कहीँ छैन । अहिले दरैया प्लास्टिक उद्योग स्थापना भएको छ । ४० करोड लगानी भइसकेको छ,’ उनी सुनाउँछन् । 

पहिलो फेजको काम सकिएको र अब ८८ वटा गाई थप्न सेड निर्माण सुरु गर्ने उनको तयारी छ । त्यसका लागि झण्डै ४ करोड लगानी थप्नुपर्ने उनी बताउँछन् । त्यसका लागि बैंकले प्रोजेक्ट बेसिसमा लगानी गर्न नमान्दा आफूलाई समस्या परिरहेको उनको गुनासो छ । 

banjara agro 1 (1)

अहिलेको ४० करोड लगानीमध्ये १० करोडजति लोन छ । लगानी थप गरिसक्दा अर्को वर्षदेखि कम्पनीले दूध, गोबर मल, प्लाष्टिकको व्यापार गरेर वार्षिक २० करोड जति कारोबार गर्ने उनको अनुमान छ । 

अहिले उनको फर्ममा दैनिक ४६ लिटरसम्म दूध दिने होलिस्ट्रियन जातका गाई छन् । यस्तै गाईका बाच्छा कोशी प्रदेशका किसानलाई उपलब्ध गराउने उनको सोच छ ।

मल बिक्रीको लक्ष्य

आफै हुर्के बढेको ठाउँमा आएर लगानी गर्दा आफूलाई आनन्द लागिरहेको उनी सुनाउँछन् । उनले देश भरका फार्म सञ्चालकहरुलाई तालिम दिने योजना पनि बनाएका छन् । 

आफ्नो फर्ममा रहेका एउटा गाईलाई पनि बाँझोपन नभएको उनको दाबी छ । त्यस्तै प्रत्येक किसानको गुनासो सम्बोधन गर्न र गाईमा देखिने बाँझोपन समस्या समाधान गर्न तालिम दिने उनले बताए । अनि गाईको स्वास्थ्य चेकजाँचको लागि ल्याब स्थापना गर्ने उनले अर्को लक्ष्य राखेका छन् ।

Uddhog (4)

उनले गाईका लागि घाँस तथा दाना पानी उत्पादन गर्ने हेतुले सुनसरीका किसानलाई अग्रिम ४० प्रतिशत भुक्तानी गरेर मकै उत्पादनमा प्रोत्साहन गरेका छन् । मकै हुर्किएपछि उद्योगले आफैं ल्याउने गरेको छ । त्यसवापत किसानले मकैको सुत्लासहितको (हल्का दाना पसेको) बोटको प्रतिकिलो ४ रुपैयाँ पाउने गरेका छन् । 

मकै उत्पादन गरिरहेका किसान राजेन्द्र साह पनि उद्योगले मकै खरिद गरिदिएपछि आफूहरूलाई राहत भएको बताउँछन् । 

उद्योगले गाईको खान्कीका लागि ८ सय टन साइलेज आफैं बनाएर राखेको छ । ‘अर्को वर्षको वैशाख सम्मका लागि पुग्ने गरी साइलेज प्याक भएको छ,’ शर्मा भन्छन्, ‘अबको सिजनदेखि भने सस्तो मूल्यमा किसानलाई दिने गरी साइलेज उत्पादन गर्न लागेका छौं ।’

Uddhog (2)

को हुन् गजेन्द्र शर्मा ?

निम्न परिवारमा ५२ वर्ष अगाडि जन्मिएका उनका बुबा गोविन्द प्रसाद बञ्जरा मोरङ सुगर मिलका कार्यालय सहयोगी थिए । उनकी आमा रुक्मिणी बञ्जरा ठेक्कापट्टामा खेतीपाती गर्थिन् । 

मजदुरी गरेर अभिभावकले गजेन्द्रलाई मिल्स माध्यमिक विद्यालयमा पढाए । २०४२ सालमा एसएलसी गरेका गजेन्द्रले त्यसपछि महेन्द्र मोरङबाट ९७ प्रतिशत ल्याई आइकम उत्तीर्ण गरे । दुवै वर्ष उत्कृष्ट नम्बर ल्याएका उनको क्याम्पसमा बुझाउनु पर्ने शुल्क मिनाहा भयो ।

त्यसबेला मोरङबाट काठमाडौँ जाने मोरङ पशुपति एक्सप्रेस नाइट बस चल्थ्यो । उक्त बस पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पीए अमोद कटवालका छोराको थियो । उनी बुबासँग १५५ रुपैयाँ पैसा मागेर उनैको सहयोगमा काठमाडौँ उक्लिए । 

Uddhog (3)

काठमाडौँको शंकरदेव क्याम्पसबाट उनले बीकम गरे । शंकरदेवमा पढ्दा पढ्दै काठमाडौँमा जुद्धबहादुर श्रेष्ठलाई काममा लगाइदिन उनले अनुरोध गरेका थिए । उनै जुद्धबहादुरले आफ्नो छोरा विनोद बहादुर श्रेष्ठको कार्पेट उद्योगमा मासिक ९ सयमा २०४८ सालमा काममा लगाइदिए । 

त्यही उद्योगमा काम गर्दै पढ्दै गजेन्द्रले अरू विद्यार्थीलाई ट्युसन पढाएर थप कमाइ गर्न थाले । त्यहाँ काम गर्दागर्दै उनी त्यो उद्योगको मेनेजर भए । 

उद्योगको उत्पादित सामान विदेश पनि निर्यात हुन्थ्यो । त्यहीबेला उनले स्वीटजरल्याण्डका मानिसहरुसँग काम गर्ने अवसर पाए । उनलाई सोही बेला स्वीटजरल्याण्डका साथीभाइ होटल म्यानेजमेन्ट पढ्न जान सुझाव दिए । 

सुझावलाई मनन गर्दै उनी होटल म्यानेजमेन्ट पढ्न स्वीटजरल्याण्ड गए । होटल म्यानेजमेन्टमा डिग्री हासिल गरेसँगै उनले विश्वविख्यात होटल कम्पनी हिल्टनमा कामको अवसर पाए । त्यही कम्पनीमा २३ वर्षदेखि कार्यरत छन् । 

त्यस क्रममा भियना, अस्ट्रिया, दोहा, कतार, अवुधावी, चाइना, क्यानडा, थाइल्याण्ड र दुबईमा पनि उनले काम गरे । अहिले सोही होटल कम्पनीले सञ्चालन गरेको दुबईको फाइभ स्टार होटलमा मेनेजिङ डाइरेक्टरको रूपमा कार्यरत छन् । 

आफूले गरेको काम र पाएको पारिश्रमिक ल्याएर उनले नेपालमा कृषि क्षेत्रमा लगानी गरेका छन् । दूध उत्पादन र विक्रीमा अहिलेसम्म कुनै समस्या छैन । समस्या भनेको लगानी जुटाउनुमा रहेको शर्माको अनुभव छ । बैंकले लोन दिन रिजि पोलिसी अपनाएको उनको अनुभव छ । 

आफूले १५ लाख रुपैयाँ कट्ठामा किनेको जग्गाको आधा मूल्याङ्कन गर्ने र त्यसको पनि ७० प्रतिशत मात्रै ऋण लगानी गर्ने परिपाटीले कृषि क्षेत्रको विकास नहुने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप