आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एकैदिन निराश भए फुटबल र क्रिकेटका समर्थक

शनिबार, ०९ असार २०८०, २३ : ४४
शनिबार, ०९ असार २०८०

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय खेल हो, फुटबल र क्रिकेट । उसो त, समग्र दक्षिण एसियामै फुटबल र क्रिकेट सबैभन्दा बढी रुचाइएका खेल हुन् । यी दुई खेलका लाखौं समर्थक छन्, दक्षिण एसियाली आकाशमुनि ।

नेपालमा पनि फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा थामिनसक्नु दर्शक ओइरिन्छन्, रंगशालामा छ । तर, नेपाली फुटबल र क्रिकेटका समर्थकको लागि शनिबारको दिन भने ज्यादै निराशाजनक रह्यो ।

निकै कम यस्तो संयोग पर्छ, जब क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली एकै दिन मैदानमा ओर्लन्छन् । शनिबार यस्तै संयोग जुर्यो । नेपाली क्रिकेट जिम्बाबेमा इतिहास रच्ने संघारमा थियो भने नेपाली फुटबल टोली भारतमा कीर्तिमान कायम गर्ने दाउमा थियो ।

तर, यी दुबै खेलका समर्थकले खुसी साटासाट गर्ने अवसर भने पाएनन् । पहिलो पटक आईसीसी एकदिवसीय विश्वकप खेल्ने सपना जिम्बाबेमा तुहियो भने भारतलाई उसैको भूमिमा हराएर साफ च्याम्पियनसिप उपाधि कुम्ल्याउने नेपालको चाहना पनि बैंगलोरमा विफल भयो ।

नेपाली क्रिकेट टोली जिम्बाबेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको महत्वपूर्ण खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भयो भने भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोली आयोजक राष्ट्रसँग २—० गोलले पराजित हुन पुग्यो ।

यी दुबै नतिजाले नेपाली खेल समर्थकको मनमा लामो समयसम्म निको नहुने घाउ लगायो । अब नेपालले आईसीसी एकदिवसीय विश्वकप खेल्ने सपना साकार पार्न कम्तिमा पनि चार वर्ष लामो प्रतिक्षा गर्नु पर्नेछ । यसैगरी पहिलो पटक साफ च्याम्पियनसिप जित्ने सपना साकार पार्न पनि नेपाली फुटबल समर्थकले कम्तिमा दुई वर्ष कुर्नु पर्नेछ ।

भारतसँग हारेपछि साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करणमा नेपालले उपाधि जित्ने सम्भावना समाप्त भएको हो । लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिन बाध्य भयो । नेपाल समूहगत चरणको आफ्नो दोस्रो खेलमा शनिबार आयोजक राष्ट्र भारतसँग २—० गोलले पराजित भयो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा सञ्चालन भइरहेको छ ।

घरेलु टोली भारतले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो गोल सुनिल क्षेत्रीले गरेका थिए । उनले पहिलो गोल निर्धारित समयको ६१औं मिनेटमा गरेका थिए । दोस्रो गोल खेलको ७०औं मिनेटमा महेश सिंहले गरेका थिए ।

समूह ‘ए’ बाट भारत र कुवेत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ । कुवेतले आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई ४—० गोलले हराएको थियो । भारतले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४—० गोलले नै पराजित गरेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ । तर, नेपाल र पाकिस्तान दुबै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् ।

यसैगरी, आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले नमिठो हार बेहोर्यो। उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई सात विकेटले हरायो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको हो । नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ । नेपालले भने अब प्लेअफ चरणको खेल खेल्नेछ । उक्त नतिजापछि पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पनि कम्तीमा थप चार वर्षका लागि पर धकेलिएको छ ।

पहिलो चरणको खेलपछि दुबै समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । दुबै समूहको चौथो र पाँचौँ स्थानमा रहने टोलीले भने प्लेअफ चरणको खेल खेल्नेछन् । यो छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि चयन हुनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप