सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिराेले जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार, १० असार २०८०, ०८ : १९
आइतबार, १० असार २०८०

बैतडी । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।

यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, “पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी  पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।”

पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

वर्षाले किसान खुसी, रोपाइँ सुरु  

लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।

रोपाइँका लागि  वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताए । यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए । उनले भने, “वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत भएको छ । रोपाइँ पनि सुरु भएको छ ।” 

यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका बर्खेबाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको मेलौली नगरपालिका–२ सलेनाकी हसांदेवी चन्दले बताए । उनले भने, “वर्षा नहुँदा सुक्न लागेका बालीनालीलाई पनि राहत भयो, रोपाइँ गर्न पनि सहज भएको छ ।”
 
वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँ गर्न चटारो परेको छ ।  सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकामा असार मसान्तसम्म समाप्त हुने किसानले बताएका छन् । 
 
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा वर्षापछि हाल भइरहेको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप