आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बजेट

काठमाडौँ महानगरको बजेटको आकार सुदूरपश्चिम प्रदेशको जत्रै

आइतबार, १० असार २०८०, १५ : ५३
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुदूरपश्चिम प्रदेश हाराहारीकै बजेट पेस गरेको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सुदूरपश्चिम प्रदेशले ल्याएको हाराहारीकै बजेट ल्याएको हो ।

आज असार १० गते आफ्नो बजेट पेस गर्दै संघीय राजधानी समेत रहेको महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यो बजेट प्रदेशहरूमध्ये सबैभन्दा न्यून बजेट ल्याएको सुदूरपश्चिम प्रदेशकोभन्दा ३ अर्ब ७२ करोड मात्रै कम हो । यसअघि, असार १ गते सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड रुपैयाँको बजेट पेस गरेको थियो । उक्त मितिमा सात वटै प्रदेशहरूले आफ्नो बजेट पेस गरेका थिए । र, ७ प्रदेशमध्ये सबैभन्दा न्यून बजेट ल्याउनेको सूचीमा सुदूरपश्चिम प्रदेश थियो ।

चालू आर्थिक वर्ष २०७९/८० मा काठमाडौँ महानगरले २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि महानगरले १३ करोड बढाएर २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको हो । यस्तै, गत आर्थिक वर्षमा महानगरले १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशहरूको बजेट सूचीमा सुदूरपश्चिमपछि कर्णाली र गण्डकीको समान ३३/३३ अर्ब, कोसीको ३६ अर्ब, लुम्बिनीको ४० अर्ब, मधेसको ४४ अर्ब र बागमती प्रदेशको ६२ अर्ब रुपैयाँ छ । यस्तै, हालसम्म भरतपुर, वीरगन्ज, विराटनगर लगायत महानगरले बजेट पेस गरेका छन् ।

भरतपुरले ६ अर्ब ३१ करोडको बजेट ल्याउँदा विराटनगरले ३ अर्ब २८ करोडको बजेट ल्याएको छ । यस्तै, वीरगन्ज महानगरले ३ अर्ब २१ करोड रुपैयाँको बजेट ल्याएको छ । ललितपुर र पोखरा महानगरले भने बजेट सार्वजनिक गरिसकेका छैनन् ।

घट्यो पूर्वाधारतर्फको बजेट

महानगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फको बजेटको आकार घटाएको छ । महानगरले चालू वर्षका लागि पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, आगामी आर्थिक वर्षका लागि भने ७ अर्ब ३४ करोड घटाएको छ । यो चालू वर्षमा पूर्वाधार विकासका लागि विनियोजित बजेटभन्दा ४ अर्ब ४६ करोडले कम हो ।

तीन वर्षमा ९ अर्बले बढ्यो बजेटको आकार

पछिल्लो तीन आर्थिक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाको बजेटको आकार ९ अर्ब २८ करोडले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ सम्मको अवधिमा उक्त आकारले काठमाडौँ महानगरको बजेट बढेको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा महानगरले १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो । जबकी, आगामी आर्थिक वर्षमा २५ अर्ब ५४ करोड रुपैयाँ आकारको बजेट विनियोजन भएको छ । महानगरले चालू आर्थिक वर्षमा एकाएक आफ्नो बजेटको आकार ९ अर्ब १५ करोडले बढाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप