आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्यायलय

पार्टीले ‘पुस’ गरेको व्यक्तिलाई न्यायाधीश बनाउँदा निष्पक्ष न्याय दिन सक्दैन : पूर्णमान शाक्य

बार अध्यक्ष घिमिरे भन्छन्, ‘न्यायाधीश नियुक्तिको विषयलाई लिएर वकिललाई होच्याउने काम बन्द होस्’
आइतबार, १० असार २०८०, १७ : ३९
आइतबार, १० असार २०८०

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश नियुक्ति गर्दा पार्टीले तयार पारेको व्यक्तिलाई नियुक्ति नदिन आग्रह गरेका छन् । पार्टीले पठाएको व्यक्तिलाई उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गरेमा उसले निष्पक्ष न्याय दिन नसक्ने शाक्यले बताए ।

आइतबार सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गरेको प्रधानन्यायाधीशलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै एसोसिएसनका पूर्वअध्यक्ष शाक्यले पार्टीले पठाएको व्यक्तिलाई न्यायाधीशमा नियुक्ति दिन नहुने बताएका हुन् । 

हाल उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त रहेको स्मरण गराउँदै न्यायाधीश नियुक्ति गर्दा संवेदनशील हुनुपर्ने उनको तर्क थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले भने, ‘अहिले सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको पद रिक्त छ । उच्च अदालतमा पनि ४० जनाभन्दा बढी न्यायाधीशको पद रिक्त छ । कमसेकम तपाईंले खाली हुनुभन्दा एक महिना अगावै सिफारिस गर्न पहल गर्नुपर्‍यो । कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त गर्दा पार्टीले जोड गरेको व्यक्तिलाई न्यायाधीश नबनाऊँ । त्यस्तो व्यक्तिले निष्पक्ष न्याय सम्पादन गर्न सक्दैन । तर न्यायाधीश नियुक्त हुने व्यक्ति पार्टीमा आस्था नै नभएको व्यक्ति भन्न खोजेको होइन । भोट त प्रधानन्यायाधीशले पनि हाल्लान्, प्रमुख निर्वाचन आयुक्तले पनि हाल्लान् । तर त्यस्तो व्यक्तिलाई पार्टीको सिफारिसमा पार्टीले पुस गरेर होइन, क्षमता र दक्षता हेरेर नियुक्त गर्नुपर्‍यो ।’

पूर्व अध्यक्ष शाक्यले अदालतमा एक वा दुई सिट खाली भए पनि न्यायापरिषद्को बैठक बसेर सिफारिस र नियुक्ति गरिहाल्न सुझाव दिए । साथै लामो समय प्रधानन्यायाधीश विहीनताको अवस्थामा रहनुपरेको भन्दै आफू अवकाशमा जानुभन्दा एक महिना अगावै प्रधानन्यायाधीशका लागि सिफारिसका लागि काम गर्न आग्रह गरे । 

प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीको सिफारिसको समयमा विवाद आए पनि त्यसपछि सधैँ निष्पक्ष भएर काम गरेको भन्दै प्रशंसा गरे । शाक्यले भने, ‘उहाँको नियुक्तिमा विवाद भए पनि नियुक्तिपछि कहिल्यै विवादमा आउनुभएन । उहाँले इमान बेच्नुभएको छैन, इमानको सम्बन्धमा कहिल्यै गुनासो आएन । अब जाँदा पनि त्यो इमान र छवि कायम राख्नुहोस् ।’

वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले पनि रिक्त न्यायाधीशमा यथाशीघ्र नियुक्ति गर्न आग्रह गरे । उनले भने, ‘जिल्लादेखि सर्वोच्चसम्म न्यायाधीशको पद रिक्त छ । अब चाँडो त्यहाँ न्यायाधीशको नियुक्ति गरियोस् । र, न्यायाधीशको नियुक्ति गर्दा ती न्यायाधीश देख्दा पनि अनुहारमा चमक आउने व्यक्ति ल्याइयोस् । बधाई दिन लायक न्यायाधीशको नियुक्ति होस्, सोही विषयमा लिएर बदनामी नहोस् ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूलाई न्यायाधीश पदमा कुनै लोभ नभएको र आफू बारमा रहुन्जेल कहीँ कतै नियुक्ति नलिने कुरा दोहोराए । अध्यक्ष घिमिरेले भने, ‘बार अध्यक्षकाका रूपमा मेरो जिम्मेवारी बारलाई अझै माथि लैजान हो । अन्त जानका लागि होइन र मलाई जानु पनि छैन ।’

अध्यक्ष घिमिरेले न्यायपालिका सुधारको प्रतिवेदन फूलकोर्टमा राखेर पूर्ण अनुमोदन गरिदिन आग्रह गर्दै अनुमोदन भएमा यसले सबैलाई गुन लगाउने बताए । 

सर्वोच्च अदालतमा भएको गोला प्रक्रियाले सुधारको सुरुवात गरेको भन्दै यसलाई कसैले फिर्ता  गर्न नसक्ने बताए । यद्यपि गोला प्रक्रियाबाट पूर्ण स्वचालित पेसी व्यवस्थापनमा जानै पर्ने घिमिरेले बताए । घिमिरेले भने, ‘हामीले भनेको अटोमेसनको सुरुवात हो, अटमेसनमा जानका लागि रिसोर्सको कुरा गरेका छौँ । अटोमेसन भनेको हाम्रो गोल हो, हामी त्यहाँबाट ब्याक हुन सक्दैनौँ ।’

त्यसै गरी अध्यक्ष घिमिरे उच्च र सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति हुँदा मेरिट लिस्टमा नियुक्ति गर्न पनि आग्रह गरे । उनले भने, ‘न्यायाधीश नियुक्तिको विषयलाई लिएर वकिललाई होच्याउने काम भएको छ । अब वकिललाई होच्याउने काम बन्द होस् र सक्षम व्यक्तिलाई न्यायाधीश बनाइयोस् ।’

घिमिरेले अगाडि भने, ‘मेरिट लिस्टका आधारमा वकिलबाट न्यायाधीश बनाउन सकियो भने बदनामी नहुने भन्दै यसपटकको न्यायाधीश नियुक्तिमा वकिललाई होच्याउने काम बन्द होस् भन्ने हामीहरूको चाहना हो । वकिललाई खराब छ वा हुन्छ भन्ने धारणा हटोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप