आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संशोधित भन्सार ऐनविरुद्ध भन्सार एजेन्ट प्रतिनिधिहरू आन्दोलित

सोमबार, ११ असार २०८०, १५ : १०
सोमबार, ११ असार २०८०

काठमाडौँ । भन्सार एजेन्ट प्रतिनिधिहरूले आन्दोलन थालेका छन् । संशोधित भन्सार ऐन २०६४ र नियमावली २०६४ का विरुद्धमा उनीहरूले आन्दोलन थालेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा हालै आएको उक्त ऐन र नियमावली संशोधन गरेर भन्सार प्रतिनिधिले काम गर्ने व्यवस्था नै खारेज गरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको संघका अध्यक्ष उमेश अधिकारीले जानकारी दिए ।  

उनीहरूले भन्सार विभागमा धर्ना दिनुका साथै प्रदर्शन थालेका हुन् । आफूहरूले शान्तिपूर्ण आन्दोलन, धर्ना तथा विरोधका कार्यक्रम थालिएको अध्यक्ष अधिकारीको भनाई छ ।

भन्सार विभाग र अर्थ मन्त्रालयको पटक पटक ध्यानाकर्षण गराउँदा पनि केही सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको उनको भनाई छ । संशोधनपछि भन्सार प्रतिनिधिहरू विगत एक महिनादेखि काम गर्नबाट वञ्चित भएका छन् ।

लामो समयदेखि प्रतिनिधिको रूपमा काम गर्दै आइरहेका प्रतिनिधिहरूको लागि भन्सार एजेन्टको इजाजतपत्र प्रदान गर्नुपर्ने, भन्सार एजेन्ट प्रतिनिधिलाई यथाशीघ्र काम गर्ने वातावरण मिलाउनुपर्ने, भन्सार ऐन २०६४ को दफा ५१(१) भन्सार एजेन्ट वा प्रतिनिधि व्यवस्था पुरानै कायम गर्नुपर्ने र भन्सार नियमावली २०६४ को नियम ३७ (९,१०,१२,१३ र १६) पुरानै कायम गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले भन्सार एजेन्ट प्रतिनिधि संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप