आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

पुरुषोत्तम काफ्ले : धर्मगुरुको आवरणमा ठगी र यौनशोषण

भारतबाट पक्रेर नेपाल ल्याइयो, ३ करोड ६२ लाख ठगेको आरोप
मङ्गलबार, १२ असार २०८०, २१ : २१
मङ्गलबार, १२ असार २०८०

काठमाडौं । आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउँथे दोलखा घर भएका पुरुषोत्तम काफ्ले । तर, उनले धर्मगुरुको नाममा ठगीधन्दा चलाउने र यौन शोषण गर्ने गरेको थाहा भएको छ ।

काठमाडौँको गौशालामा आश्रम बनाएर बसेका शिव सुतक गौरीभक्त करिब डेढ वर्षदेखि फरार थिए । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको छ । पुरुषोत्तम काफ्ले भारतको हरिद्वारमा लुकेर बसेका थिए ।

गौशालामा उनले आश्रम चलाएका थिए । सो आश्रममा आउने महिलाहरूलाई प्रभावमा पारेर काफ्लेले ३ करोड ६३ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

महिलालाई घरबाट विद्रोह गर्न आह्वान गरेर प्रवचन दिने काफ्ले भन्थे–‘नारी आन्दोलन गर्नुपर्छ ।’ नारी उत्थानका लागी कम्पनी खोल्न भनेर उनले भक्तजनहरूसँग रकम उठाएका हुन् । महिला भक्तजनहरूले आफ्नो झुक्का बेचेर उनलाई चढाउने गरेका थिए । तर, करोडौँ रकम उठाएपछि उनी फरार भए । धर्मको आवरणमा उनले महिलाहरूलाई यौन शोषण समेत गरेको आरोप छ ।

भारतमा लुकेको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी रुगम कुँवर नेतृत्वको टिम उनलाई पक्राउ गर्न भारत गएको थियो । उनलाई भारतको उज्जैनबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । प्रहरीले पछ्याएको थाहा पाएर उनी नयाँ दिल्लीबाट इन्दोर र जयपुर हुँदै हरिद्वार पुगेका थिए ।

काफ्लेबाट पीडित एक महिलाले रातोपाटीसँग भनिन्–‘मैले २ करोड गुमाएको छु, धर्मगुरुको नाममा काफ्लेले धेरेको डिभोर्स गराएका छन् ।’ सापट भनेर रकम लिने गरेका गौरीभक्त पैसा फिर्ता माग्दा भन्ने गर्थे–‘तिम्रो श्रीमान्लाई सिध्याइदिन्छु ।’

निशा तिवारीसँग विवाह गरेका गौरीभक्तले ठगेको रकमबाट तनहुँको बन्दीपुरमा ५ रोपनी जग्गा किनेको थाहा भएको छ । गौरीभक्तकहाँ सांसद र नेताहरू पनि जाने गरेको पीडितहरू बताउँछन् । भक्तपुरको नागरिक अस्पताल नजिकै उनको ४ तले घर छ । ‘गौरीभक्त’ विरुद्ध ब्यूरोमा १२ जनाले जाहेरी दिएका छन् । अहिलेसम्म उनीबिरुद्ध ३ करोड ६२ लाख नगद र २७ तोला सुनका गहना ठगेको उजुरी ब्यूरोमा दर्ता भएको छ । ठगी र आपराधिक लाभ विरुद्धको कसुरमा उनीविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एआईजी बज्राचार्यले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप