आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ता पक्षका सांसद नै गण्डकीको बजेटप्रति असन्तुष्ट, प्रतिपक्ष सांसद भन्छन् ‘बजेट कनिका छराई’

बुधबार, १३ असार २०८०, ११ : ५६
बुधबार, १३ असार २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको बजेट माथि प्रदेश सभामा छलफल चलिरहेको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाश आले मगरले ल्याएको बजेटको सत्ता पक्षीय सांसदले नै चर्को आलोचना गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेटमाथि छलफलमा बोल्दै सत्ता पक्षीय सांसदले बजेटको विरोध गरेका हुन् । छलफलमा भाग लिन रोष्ट्रम उक्लिएका सांसदले योजना पार्न नसकेकाले जनताले धम्की दिएकोसम्म बताए । 

‘बजेट आइसकेपछि एक जना भाइले फोन गर्नुभयो । तपाईंले मैले भनेको बजेट पार्नुभएनछ । मैले सचिव चिनेको छु । त्यताबाट पार्छौं भनेर धम्कीपूर्ण म्यासेज उठाउनुभएको छ,’ माओवादी सांसद दमयन्ती रुचालले भनिन् । 

माओवादीकै सांसद हरि भण्डारीको दुखेसो पनि यस्तै छ । उनले रोष्टममा बोल्दै भने, ‘मन्त्रीज्यूहरू थाक्नुभाछ, निदाउन पाउनु भा छैन, रातभरि बजेटका लागि सोच्नुहुन्छ होला, जनताका लागि सोच्नुहुन्छ होला भनेको त आफ्नो जिल्लामा, आफ्नो टोलमा, आफ्नो कुन कार्यकर्ता छुट्यो भनेर पो सोच्नुभएको रहेछ, बजेट पढ्दा मलाई त्यस्तो लाग्यो ।’ 

कांग्रेस सांसद डिल्लीराम सुवेदीले पनि जनताले चुनावताका टिपाएका ९ सयभन्दा बढी योजना मध्य १ सय ५० वटा जति योजना मात्र परेको दुखेसो गरे । उनले भने, ‘योजना नपरेका बाँकी ८ सयको त गाली नै खाने हो । तेरो प्राथमिकतामा परिनँ, मेरो भोट चाहिन्न ? पख्लास् ! भन्छन्, ।’ 

कांग्रेस सांसद भेषबहादुर पौडेलले १ करोडभन्दा कमका योजना प्रदेशले राख्नै नहुनेमा टुक्रे बजेट समेटिएको इगित गरे । माओवादी सांसद फणीन्द्र देवकोटाले बजेट पढ्दै चक्कर आउने खाल र आफ्नो क्षेत्रलाई मन्त्रीले प्राथमिकता दिएको आरोप लगाए । सांसदहरूले मन्त्रीहरूले आफ्नो कुन कार्यकर्ता छुट्यो भनेर पो सोचेको तर, कुन सांसदको योजना गम्भीर छन् भनेर ध्यान दिएको बताएका हुन् । कांग्रेस सांसद सरस्वती गुरुङले भने कम्तीमा १० लाखका योजना पारिनु सुखद भएको बताइन् ।

‘बजेट कनिका छराई’

एमाले सांसद वेदबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २४ सय ४७ वटा योजनामा १० लाखको टुक्रे योजना पारिएको भन्दै विरोध गरे । उनले मन्त्रालयबाट ५ अर्ब विनियोजन भएकोमा ४ अर्ब ६६ करोड पुँजीगत र ३५ करोड चालूतर्फ विनियोजन बताए । 

‘पुँजीगत बजेटतर्फ २४ सय ४७ वटा योजनाको टुक्रा बनाइएको छ । १७ सय वटा योजनामा ठ्याक्कै १० लाखका योजना छन् । ५० लाख मुनिको ३९ योजना छन् । १ करोडमाथिको योजना एउटामात्रै देखिन्छ,’ उनले भने । 

बजेट हेर्दा अत्यन्तै दुख लागेको उनको भनाइ थियो । बजेट सिद्धान्त र प्राथमिकतामा केन्द्रित नभएको उनको आरोप थियो । ‘यो बजेटले प्रदेशलाई कहाँ पु¥याउँछ ? हामीले वडास्तरको बजेट टुक्रा बनाएर बाँडेर नागरिकमा के सन्देश जान्छ ? हामीले ३० हजार धारा बनाएर यो वर्ष सम्पन्न गर्ने भनेर आशाजनक लक्ष्य लिएको देखियो,’ उनले भने । 

एमाले सांसद गणेशमान गुरुङले पनि बजेट भकुन्डोजस्तो भएको बताए । उनले भने, ‘बजेटको लागि झोला बोक्दै भकुन्डोजस्तो यता गयो उता फालेको छ सांसद भन्न पनि बेइज्जत भएको छ ।’ उनले योजना बैङ्क बनाएर त्यहीअनुसार बजेट वर्षैपिच्छे छुट्टाएर जान आग्रह गरे । 

एमाले सांसद वेदबहादुर गुरुङले १० लाखका योजनाले प्रतिफल दिन नसक्ने बताए । ‘यो बजेट बालुवामा झ्वाम्म भयो । यो वर्ष ३० हजार धारा भन्नुभएछ, त्यो लक्ष्य प्राप्त गर्ने खालको छैन ।’ सङ्कटपूर्ण आर्थिक अवस्थाको बेलामा बीउ जोगाउनु पर्नेमा त्यसो नभएको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप