आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार

७५ हजार पैतृक सम्पत्ति पाएका जनस्वास्थ्य निरीक्षकले जोडे सवा करोडको अवैध सम्पत्ति

दुई श्रीमतीलाई काठमाडौँ र पोखरामा घर
बुधबार, १३ असार २०८०, १२ : ३०
बुधबार, १३ असार २०८०

काठमाडौँ । सर्लाही बलरा नगरपालिकाका कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौँ) पदका मिश्रको विगत रोचक छ । 

२०५७  असार ८ गते हेल्थ असिस्टेन्ट (सहायक पाँचौँ) बाट सार्वजनिक पदमा प्रवेश गरेका मिश्र पर्वतको वाजु, सर्लाहीको हरकठुवा र मुस्ताङको झारकोटमा रहेका स्वास्थ्य चौकीहरु काम गरे । २०७१ फागुन १३ गते जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौँ) पदमा बढुवा भएका उनी फेरि स्वास्थ्य चौकी मुस्ताङको झारकोट, प्राथमिक स्वास्थ्य केन्द्र काभ्रेको धुलिखेल र सर्लाहीको बलरामा सरुवा भई काम गरे । सात वर्षपछि मिश्र २०७८ जेठ २७ मा जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौँ) मा बढुवा भए । 

मिश्रले पछिल्लो पटक भने बलरामै जनस्वास्थ्य अधिकृतको रूपमा काम गर्दै आएका थिए । २०४२ मै परिवारमा अलग भएर बसेका उनको कानुनी रूपमा अंशवण्डा भने २०६२ मङ्सिर २९ मा भएको देखिन्छ । 

मिश्रका दुई श्रीमतीहरू सरोज कुमारी र तुलसी कुमारी छन् । तीन छोरी र एक छोराका बाबु उनले २०६३ पुस १ देखि २०६६ भदौ ३१ सम्म जागिरे अवधिमा बेतलबी अध्ययन बिदामा बसेको देखिन्छ । 

अंशवण्डाबापत पाएको पैतृक सम्पत्तिबापत ७५ हजार रुपैयाँ लिएका मिश्रको जीवनयापन भने पछिल्लो पटक अस्वाभाविक देखिन्छ । सर्लाहीका उनले जागिरे जीवनमै कास्की पोखरामा घर किनेका थिए । उनले उक्त घर २०७३ जेठ २० मा २५ लाखमा बिक्री गरे । दुई श्रीमतीहरू मध्ये तुलसी कुमारीलाई पोखरामै अर्को घर बनाइदिए । अर्की श्रीमती सरोज कुमारीलाई भने २०६७ फागुन १३ मा काठमाडौँ महानगरपालिका – १४ मा नारायण विश्वकर्माबाट घर खरिद गरिदिए । दुवै घर श्रीमतीहरूकै नाममा छन् । सामान्य परिवारमा जन्मिएका मिश्रले जागिरे जीवनमै सम्पत्ति थुपार्दै गए । आयोगले उनलाई पक्राउ गर्न जाँदा उनीसँग निजी टाटा कम्पनीको कार समेत भेटियो । मिश्रले २०७८ असार ४ मा ३७ लाखमा टाटा कम्पनीको कार खरिद गरेको देखियो । 

मिश्रका नाममा दुई वटा कम्पनी रहेको छ । तुलसी ट्रेड सेन्टर र मिश्रा आयु फर्मा नामको दुई कम्पनी पोखरामा दर्ता भएको देखियो । आयोगको छानबिनबाट मिश्रले पोखरामै ५३.५० वर्ग मिटर भएको जमिन खरिद गरेको देखियो । त्यतिमात्रै होइन उनले बारास्थित बहुअरी–१ मा कित्ता नम्बर १५९० को जग्गा आफ्नै नाममा खरिद गरेको देखिन्छ । 

२०६७ मा काठमाडौँमा घर खरिद गर्दा मालपोत कार्यालयमा रजिष्ट्रेसन पास गर्दा १३ लाख रुपैयाँ मात्रै देखाएका मिश्रले घर भने ३६ लाखमा खरिद गरेको देखिन्छ । आयोगले घर बिक्रेता नारायण विश्वकर्मासँग समेत कागज गरेको थियो । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार मिश्रले २०५६ असार ८ देखि २९७८ असार ३२ को अवधिमा जग्गा खरिद, बीमा प्रिमियर भुक्तानी, घर निर्माण र शैक्षिक खर्च भुक्तानीका नाममा जोडेको सम्पत्ति र खर्च हेर्दा एक करोड ३० लाख ४५ हजार ७ सय ६० रुपैयाँ २९ पैसाको वैधानिक स्रोत खुल्दैन । 

दाहालले भने, ‘आयोगको छानबिन अनुसार मिश्रले अस्वाभाविक सम्पत्ति जोडेको देखिएकाले उनी विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो ।’ 

४ महिनामै स्रोत नखुलेको सम्पत्ति ६५ लाख

जनस्वास्थ्य निरीक्षक मिश्रले जागिरे अवधिको ४ महिनामै स्रोत नखुलेको ६५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको देखिन्छ । यो अवधिमा पारिश्रमिक आयतर्फ तर्फ ४ लाख २९ हजार, बैठक भत्ता ५३ हजार, छोरीको पारिश्रमिक २ लाख ९१ हजार र घर बहालतर्फ ८४ हजार गरी ८ लाख ५८ हजार देखिन्छ । सोही अवधिमा व्ययतर्फ अध्ययन खर्च साढे चार हजार, कर्जा भुक्तानी एक लाख ८० हजार, पोखरामा घर बनाउँदाको खर्च ६४ लाख २७ हजार, बारामा जग्गा खरिद गर्दा ७ लाख, जग्गा राजीनामा पास गर्दाको खर्च २१ हजार र सेयर खरिदतर्फ ३८ हजार रुपैँया गरी ७३ लाख ७१ हजार पाँच सय रुपैयाँ देखिन्छ । आम्दानी र खर्चको आँकडा हेर्दा यो अवधिमा उनले जोडेको सम्पत्ति ६५ लाख १३ हजार रुपैयाँको स्रोत नखुल्ने अयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप