सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

बुधबार, १३ असार २०८०, १८ : ०७
बुधबार, १३ असार २०८०

हेटौंडा । आगामी ६ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ । 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०–८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ । 
 

डा.सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उनले जानकारी दिए । डाइलाइसिस गर्न आउने बिरामीका लागि थप १५ डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको डा सापकोटाले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले हेटौँडामा प्रत्यारोपण सेवा सुरु गरेपछि यस कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप