सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा उपचारको क्रममा २ वर्षीय बालकको मृत्यु, स्वास्थ्यकर्मी  पक्राउ

बुधबार, १३ असार २०८०, २० : ५३
बुधबार, १३ असार २०८०

काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा क्लिनिकमा उपचार गर्न लैजाँदा २ वर्षीय बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–९ स्थित गमहरियामा संचालित ‘ओम क्लिनिक’मा उपचारको क्रममा सचिन पटेलको मृत्यु भएको हो । 

देवाहीगोनाही नगरपालिका–४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई ज्वरो आएपछि परिवारले ‘ओम क्लिनिक’मा लगेका हुन् । क्लिनिक सञ्चालक गणेश सहनीले बालकलाई सिरिन्ज लगाई दिएका थिए । ‘एकछिनमा ठिक हुन्छ’ भनेर सहनीले भनेपनि बालकको स्वास्थ्य अवस्था झन् बिग्रिएसँगै परिवारले उनलाई अनामिका अस्पतालमा लाँदै थिए । अनामिकामा पुग्नासाथ चिकित्सकले बालकलाई मृत घोषण गरे । 

‘ओम क्लिनिक’का संचालकले सिरिन्ज लगाएका कारण बालकको मृत्यु भएको परिवारको आरोप छ । अनुसन्धानका लागी क्लिनिक सञ्चालक गणेश सहनीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।

डिएसपी खनालले भने,‘बालकको शव पोष्टमार्टमा गर्न प्रादेशिक अस्पतालमा पठाएका छौं, आवश्यक अनुसन्धान हुँदै छ ।’ 

स्थानीय स्तरमा चिकित्सक भनेर चिनिएका गणेश चिकित्सक होइनन् । उनले कस्तो सिरिन्ज लगाएका हुन् भन्नेबारे प्रहरीले चिकित्सकको सहयोगमा अनुसन्धान गरिरहेको छ । सहनिले आफ्नै घरमा क्लिनिक सञ्चालन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप