आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

शिक्षा क्षेत्रको सुधारमा काठमाडौँ महानगरको फड्को !

बिहीबार, १४ असार २०८०, २० : २५
बिहीबार, १४ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित भएसँगै बालेन्द्र शाह शिक्षा क्षेत्रको सुधारबारे निकै चासो राखे । यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा उनी निकै चिन्तित थिए । 

त्यही आधारमा उनले आफ्नो शिक्षा सल्लाहकारमा शिक्षा क्षेत्रकै विज्ञलाई नियुक्ति गर्ने मनसाय बनाए । अन्ततः टिच फर नेपाल संस्थाकी अध्यक्ष तथा शिक्षाविद् रेशु अर्याललाई शिक्षा सल्लाहकार नियुक्त गरे । 

गत भदौमा बसेको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । उनले थुप्रै विषयमा सुझाव तथा सल्लाह दिएकी थिइन् । उनकै सक्रियतामा महानगरले शिक्षा सुधारका लागि विभिन्न काम अगाडि बढाएको थियो । तर उनको सहकार्य लामो समय टिकेन ।

कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी अर्यालले हाल व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी छिन् । उनको राजीनामा महानगरले स्वीकृतसमेत गरिसकेको छ । 

k

मेयरको सचिवालयका एक अधिकारीले शिक्षामा देखिएका सम्पूर्ण सुधार शिक्षा सल्लाहकारकै योजनामा अघि बढेको बताए । 

यसका लागि मेयर शाहले सुधारका हरेक कार्य अगाडि बढाउन तत्परता देखाएका हुन् । सोही आधारमा अहिले शिक्षा क्षेत्रमा नतिजा देखिन थालेको छ । 

यसका पछाडि मेयर शाहमात्र नभई उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विभाग, वडाअध्यक्षहरू लगायत सिंगो महानगर एकजुट भएको छ । 

शिक्षा विभागका शिक्षा अधिकारी सिताराम कोइरालाले सिंगो महानगर नै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा केन्द्रित रहेको बताए । उनका अनुसार मेयर शाहले प्रत्येक शुक्रबार दुई घण्टा शिक्षाको सुधारका विषयमा कर्मचारीहरूसँग छलफल गर्छन् । 

b

महानगरले थालेका महत्त्वपूर्ण काम 

महानगरले शिक्षा क्षेत्रमा नयाँ शैक्षिक सत्रदेखि प्राप्त मात्रामा बजेट वृद्धि गरेको छ । महानगरको नियम कानुन र संघीय सरकारको नियम कानुनको अधीनमा रहेर शिक्षा क्षेत्रमा विभिन्न सुधारका काम अघि बढाएको छ । 

-जीवन चलाउन क्षमताका लागि शिक्षामा सीप कार्यक्रम

-बुक फ्रि फ्राइडे अन्तर्गत अतिरिक्त क्रियाकलापमा जोड 

-निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिमा कडाइ 

-१३ हजारभन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति 

-विद्यार्थी संगठनले लगाएको तालाबन्दी खोलियो नगर प्रहरीबाट

-विद्यालय बन्द गर्नेमाथि कारबाही गर्ने चेतावनी

-कक्षा ११ मा आफू खुसी लिने शुल्कमा नियन्त्रण 

-निजी विद्यालयका शिक्षक कर्मचारीको तलबमा कडाइ  

कक्षा ९–१२ मा जीवन चलाउन क्षमताका लागि शिक्षामा सीप कार्यक्रम सञ्चालन गरिएको छ । 

हरेक शुक्रबार ‘बुक फ्रि फ्राइडे’ लागू गरिएको छ । त्यो दिन विद्यार्थीहरूले कापी किताब र झोलाबिनै विद्यालय जान्छन् । र, अतिरिक्त क्रियाकलापमा जोड दिन्छन् । 

त्यस्तै, महानगरले निजी विद्यालयमाथि कडाइ गरेको छ । निजी विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराइएको छ । छात्रवृत्ति नदिने र त्यसको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई जरिवानासमेत गराइएको छ । 

छात्रवृत्तिमा गरिएको कडाइपछि १३ हजार भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौँ महानगरका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरको इतिहासमा पहिलो पटक छात्रवृत्तिको विवरण पेश गरिएको हो । 

छात्रवृत्ति विवरण पेश नगर्ने ३९ विद्यालयलाई १ लाख रुपैयाँका दरले जरिवाना गराउँदै पुनः विवरण पेश गर्न समय दिइएको छ । 

विद्यालय शान्ति क्षेत्र हो, बन्द हड्ताल गर्न पाइँदैन । त्यसैले,संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले विभिन्न माग राखी लगाएको ताला नगर प्रहरी लगाएर महानगरले तोडेको थियो । 

k1

महानगरले कक्षा ११ मा आफू खुसी शुल्क लिने गरेको भन्दै त्यसमा समेत नियमन गर्न लागेको छ । 

कक्षा ११÷१२ सञ्चालन गर्दै आएका सबै संस्थागत विद्यालयहरूलाई शुल्क प्रस्ताव गर्न भनेको छ । असार मसान्तभित्र के के शीर्षकमा, के कति शुल्क लिने हो ? विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव गर्न भनेको हो ।

महानगरले भर्खरै निजी विद्यालयका शिक्षकहरूको तलबका विषयमा समेत चासो देखाएको छ । सामुदायिक विद्यालयका शिक्षकको तुलनामा निजीका शिक्षकले निकै कम तलब पाइरहेको गुनासो आएको भन्दै सोही आधारमा भए/नभएको जानकारी गराउन भनेको हो । 

काठमाडौँ महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । डिजिटल एन्ड वियोन्डको सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ सिकाउन थालिएको शिक्षा विभागका शिक्षा अधिकारी कोइरालाले बताए । 

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप