आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलकारखाना

बुटवल धागो कारखानाका दुई विकल्प : पूर्ण रूपमा बन्द कि निजीकरण

नीति तथा कार्यक्रममा लगातार आउने तर बजेट नपाउने अभागी कारखाना
शुक्रबार, १५ असार २०८०, ०७ : २४
शुक्रबार, १५ असार २०८०

बुटवल । बुटवल धागो कारखाना लगातार दुई आर्थिक वर्षको नीति तथा कार्यक्रममा सञ्चालनको लागि  परेको छ । गत वर्षको र अहिले अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रममा राखे पनि बुटवल धागो कारखाना सञ्चालनको लागि बजेटमा भने कतै उल्लेख भएको छैन ।

लगातार नीति तथा कार्यक्रममा राखे पनि ठोस निर्णय सरकारले नगर्दा १६ वर्षदेखि कारखाना बन्द छ । उद्योग मन्त्रालयकी सहसचिव एवं प्रवक्ता राधिका अर्यालले मन्त्रालयले रुग्ण उद्योगहरूको सञ्चालन मोडलबारे छुट्टै समूह बनाएर अध्ययन भइरहेको रातोपाटीलाई बताइन् । 

उनले धागो कारखानाको लागि मात्रै भने अहिले छुट्टै समिति या कुनै निर्णय भएको अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘बुटवल धागो कारखाना मात्रै नभएर देशभरका सबै रुग्ण उद्योगहरूको सञ्चालन मोडलबारे सरोकार मन्त्रालयहरूबीच कसरी चलाउने भन्ने विषयमा पटक पटक छलफल भएको छ तर ठोस निर्णय आएको छैन ।’ 

बुटवल धागो कारखाना २०६४ सालदेखि बन्द छ ।  गत वर्ष उद्योग मन्त्रालयले निजी क्षेत्रलाई  लिजमा दिन सकिने आशयको प्रतिवेदन अर्थ मन्त्रालयलाई प्रदान गरेको थियो ।  उद्योग मन्त्रालयले गत वर्ष नै दिएको प्रतिवेदनमा निजी क्षेत्रलाई लिजमा दिँदा अहिलेको अवस्थामा दिने कि,मेसिनहरू मर्मत गरेर सञ्चालन गर्न मिल्ने अवस्था दिने या केही सरकारको लगानी, केही निजी क्षेत्रको गर्ने भन्ने  एकिन नभएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए ।

०६४ सालदेखि उत्पादन बन्द रहेको तथा ०६६ असोजदेखि कर्मचारीलाई अनिवार्य अवकाश दिँदै बन्द गरिएको यो कारखाना सञ्चालन गर्ने सरकारको योजना अहिले मात्र नीति तथा कार्यक्रममा समेटिएको भने होइन ।

गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि यो उद्योग चलाउने घोषणा गरेका थिए । यस अघिका सरकारले कहिले अध्ययन समिति गठन गर्ने, कहिले निजी क्षेत्रलाई दिएर भए पनि उद्योग चलाउने दिशामा विभिन्न योजना ल्याएका थिए । 

बुटवल औद्योगिक क्षेत्रभित्र रहेको सो कारखाना १४३ रोपनी क्षेत्रफलमा फैलिएका ६ वटा ठुला भवन छन् ।वर्षेदेखि उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन बिग्रिएका छन् । भवन पनि जीर्ण छ । 

बुटवल उद्योग वाणिज्य महासचिव विमलराज भटराईले करोडौँ रुपैयाँको सम्पत्ति यसरी राख्नुभन्दा जति सक्दो छिटो निजीकरणमा जाने या पूर्ण रूपमा बन्द गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले जति ढिला ग¥यो, उति नोक्सान हुन्छ । त्यसैले, छिटो निर्णय लिनु पर्छ ।’ 

४ देखि ५ सय कर्मचारीहरूको चहलपहल हुने बुटवल धागो कारखानालाई अहिले ४ जना कर्मचारीले कुरिरहेका छन्  । उनीहरूको तलब सुविधा र  धागो कारखानाले औद्योगिक क्षेत्रलाई जग्गाको भाडा बापतको खर्च दिनुपर्ने निमित्त महाप्रवन्धव डोलराज शर्माले बताए । 

dhago1

बुटवल औद्योगिक क्षेत्रभित्र रहेको सो कारखाना १४३ रोपनी क्षेत्रफलमा फैलिएका ६ वटा ठुला भवन छन् ।वर्षेदेखि उद्योग बन्द हुँदा उद्योगका अधिकांश मेसिन बिग्रिएका छन् । भवन पनि जीर्ण छ । 

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले  कारखानाका मेसिनहरू धेरै बिग्रिएकोले नयाँ मेसिन खरिद गरेर सरकार आफै चलाउने सम्भावना कम रहेकोले निजीको लागि कुन मोडल भन्ने एकिन गर्नुपर्ने बताए । 

dhago2
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप