आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भ : असार १५

कहाँ हराए असारे भाका ?

व्यावसायिकताले असारे गीत गायकहरूको प्राथमिकतामा परेन
शुक्रबार, १५ असार २०८०, ०८ : ५५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । वर्षमा केवल एक दिनपर्ने तीजका लागि अचेल हजारौँ गीत बन्छन् । महिनौँ अगाडिदेखि गीत गुन्जन्छ र धेरैको प्राथमिकतामा पर्छ । तर ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा चिनिएको असारका लागि पछिल्लो समय गीतसंगीत निर्माण हुने क्रम घट्दो छ ।

खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । 

तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी गीतमा टिकटक बनाउन थालिएको छ । रोपाइँमा परम्परागत हलो, जुवा र गोरु भन्दा पनि कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएको छ । आधुनिक प्रविधिको विकासले पनि स्थानीय परम्परागत शैली लोप हुँदै गएको धेरैको बुझाई छ ।

वर्षमा हजारौँ नयाँ गीत भित्रिने नेपाली सांगीतिक बजारमा समेत असारे गीत बनेको देख्न, सुन्न मुस्किल छ । तीजका गीत वैशाखदेखि नै रेडियो, टेलिभिजनमा प्राथमिकतामा पर्छ भने असारे गीत लोपोन्मुख छ । गीत संगीतको व्यावसायिकताले पनि यस्ता गीत लोप हुँदै गएको छ । 

के हो असारे गीत ?

रोपाइँको बेला खेतको गरा, आलीमा घन्किने गीत हो ‘असारे गीत’ । जसलाई कतै कतै ‘वाली गीत’ पनि भनिन्छ ।

असारे गीतलाई पूर्वी भेगमा ‘रसिया’, पश्चिमाञ्चलतिर ‘काँठेभाका’ समेत भनिन्छ । थारु समुदायले रोपाइँको बेला गाइने गीतलाई सजना भनिन्छ । यसरी देशको भौगोलिक विविधताअनुसार फरक फरक तरिकाले असारे गीतलाई बुझिन्छ । 

ठाउँअनुसार असारे गीतको भाका फरक छ । तर विषयवस्तु भने प्राय खेतबारीकै हुन्छ । कतिपयले यस्ता विषयमा मायाप्रेम समेत मिसाउँछन् ।

रोपाइँमा थाकेका बाउसे र रोपाहारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट बिर्सन खोज्छन् । जसले थकाई बिर्साउँदै आनन्द दिन्छ । खेतका गरा, खोलानाला र झरीको पानीसँगै असारे भाका खुल्छ । गीतले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ ।

असारे गीतमा खेतीबाली, हिलो, रोपाहार, बाउसे, हलोजुवा, गोरुका अलावा मौसम लगायतका विषय बढी प्रयोग हुन्छ । कतिपय गीतमा व्यङ्ग्यसमेत समेटिन्छ । तर, प्राथमिकतामा भने असारकै प्रसंग हुन्छ ।

किन हराउन थाल्यो असारे गीत ?

हरियो डाँडामाथि हलो जोत्ने साथी 

हो हो माले हो हो, हो हो तारे हो हो,

जनकविकेशरी धर्मराज थापाको यो सदाबहार यो गीत होस् वा 

समसिमे पानी परेको बेला केही छैन ओत लाग्ने    

जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने

जस्ता गीतहरू हरेक असारमा प्राथमिकतामा त पथ्र्याे नै । अन्य समयमा समेत सुनिन्थ्यो । तर अहिले गीत सुन्न मुस्किल पर्न थालेको छ । 

पहिले सीमित मिडिया थियो । तै पनि असारे गीत प्राथमिकतामा पथ्र्याे । अहिले थुप्रै मिडिया भित्रिएका छन् । तर असारे गीत कहीँ कतै प्राथमिकता छैन । मिडियामा मात्र होइन, अचेल रोपाइँमा समेत यस्ता गीत गुञ्जिरहेका छैनन् ।

असारे गीतको सङ्कलन कम भएकैले पनि यस्ता गीतसंगीत प्राथमिकतामा पर्न छोडेको गीतकार कृष्णहरि बराल बताउँछन् । मिडियाका कारण समेत यस्ता गीतसंगीत हराउँदै गएको बरालको धारणा छ ।

उनले भने, ‘मिडियामा मौलिक सङ्कलित गीत भन्दा पनि कोठे गीत प्राथमिकतामा पर्न थाले । श्रोता त्यसमै रमाउन थाले ।’ लोकगीतको क्रमिक विकासले समेत यस्ता गीतमा असर परेको उनको भनाई छ ।

असारे गीत हराउनु सांस्कृतिक अतिक्रमण मान्छन् संगीतकार, गायक तथा गीतकार चेतन सापकोटा । 

‘एउटा गीतकार, सङ्कलक र संगीतकारले तातेको भरमा यो जोगिने र प्राथमिकतामा पर्ने होइन’, सापकोटाले भने ‘ राज्यको ध्यानाकर्षण हुनु जरुरी छ ।’ टिकाउ भन्दा पनि बिकाउ गीतको पछि लागेको कारण पनि यो प्राथमिकतामा नपरेको सापकोटाको धारणा छ ।

‘राज्यले सांस्कृतिक क्षेत्रको संरक्षणका लागि भनेर गठन गरेका संस्थामा जाने व्यक्तिले यस्ता विषयमा ध्यान नदिएर सेवा र सुविधामा भुल्छन्’, सापकोटा थप्छन्, ‘यस्ता गीतसंगीत प्राथमिकतामा ल्याउने, रैथाने, मौलिक कलासंस्कृतिको संरक्षण गर्ने काम एकडेमीको हो ।’ यसतर्फ एकडेमी र राज्यको ध्यान जानु जरुरी रहेको उनको जिकिर छ ।

संगीतकर्मी व्यावसायिक भए 

‘असारको बेला जानुपर्ने मेला, पानी पर्‍यो दर्केर’, ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’, ‘असारमा खाने दुधिला मकै साउनमा खाने खिर’, ‘असारे मासको दलदले हिरो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’ लगायतका थुप्रै असारे गीतसंगीत पहिले बजारमा आए ।

अहिले युट्युब लगायतका बिभिन्न प्लेटफर्ममा पनि पुराना असारे गीत सुन्न सकिन्छ ।

तर, केही वर्ष यता भने यस्ता नयाँ असारे गीतसंगीत बजारमा भित्रिने क्रम भने रोकिएको छ । गीतसंगीत बढी व्यावसायिक भएकोले यस्ता गीतसंगीत ओझेलमा परेको लोकगायक पुरुषोत्तम न्यौपाने बताउँछन् । 

कलाकार बढी व्यावसायिक भएको र असारेलगायत संस्कृतिक गीतमा पैसा कमाउन नसकिने भएकोले पनि  कमी भएको न्यौपानेको बुझाइ छ ।

न्यौपाने अगाडि भन्छन्, ‘दुर्गा रायमाझी, नारायण रायमाझी, हरिदेवी कोइराला लगायतले धेरैले थुप्रै असारे गीत गाएका छन् । असारे गीत जहिले बनाए पनि विषयवस्तु भने त्यही हली, रोपार, बाउसे लगायतको वरिपरि घुम्नुपर्ने हुन्छ । एउटै बिषयबस्तुमा पटक पटक गीत निकाल्दा उपयुक्त नहुने भएकोले पनि निस्कन कम भएको हो ।’

लोकगायक न्यौपानेको विचारसँग लोकगायक नारायण रायमाझी पनि सहमत छन् । रायमाझी पनि लोकसंगीतकर्मी बढी व्यावसायिक भएकाले असारे गीत बाहिर आउन कम भएको बताउँछन् ।

‘गीतसंगीत बढी व्यावसायिक भएको छ । समयसँगै सबै कुरो परिवर्तन हुँदै गए’, रायमाझीले भने, ‘अचेल गाउँमा गोरु पाल्न छाडे, ट्याक्टर भित्रियो । आधुनिकतासँगै गीत पनि हराउन थाल्यो ।’ 

‘असारे गीत क्षणिक पनि भयो । यस्तो भन्दा गायक गायिकाले वर्षभरि नै प्राथमिकतामा पर्ने गीत रोज्न थाले । सबै व्यवसायमा फोकस हुँदा संस्कृति बोक्ने गीत निस्किन छाड्यो,’ रायमाझीले थपे । असारे गीत जोगाउन सांस्कृतिककर्मी र राज्यले पहल गर्नुपर्ने उनको धारणा छ । 

संस्कृतिविद् तुलसी दिवसका अनुसार विशेष गरी हाम्रो लोकसंस्कृतिका गीतहरू चाडपर्व, कामसँग सम्बन्धित छन् । तिनले त्यस्तै समय मात्र प्राथमिकता पाउँछन्, त्यो स्वाभाविक पनि हो । 

दिवस भन्छन्, ‘असारे गतिमा पनि परिवर्तन भएको छ । परिवर्तन हुँदा पुराना गीतका गेडाहरू लुप्त हुँदै जान्छन् र नयाँ थपिँदै जान्छन् । त्यसैले पहिलेका गीत पुरै हरायो, प्राथमिकतामा छैन भनेर भन्न मिल्दैन । त्यो हराएको पनि हुँदैन ।’ 

उनको विचारमा पहिले मानिस, गोरुले गर्ने काम अहिले बिस्तारै मेसिनबाट हुन थालेका छन् । त्यो हिसाबले असारे गीत संगीतमा पनि परिवर्तन हुनु स्वाभाविक पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप