आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वाधार

कलङ्की–वसुन्धरा सडक खण्डमा सर्भिस लेनको काम धमाधम

चक्रपथ विस्तारमा चिनियाँ पक्षले डीपीआर बनाउँदै
शुक्रबार, १५ असार २०८०, १२ : ४१
शुक्रबार, १५ असार २०८०

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा नारायणकाजी श्रेष्ठले कलङ्की पुगेर कलङ्की–महाराजगन्ज क्षेत्र विस्तारको काम छिट्टै सुरु हुने बताएको पाँच महिना भयो ।  बीचैमा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ गृह मन्त्रालयमा फड्को मारे । तर, चक्रपथ विस्तार आयोजनाको काम अहिलेसम्म सुरु भएको छैन । 

उता कलङ्की–वसुन्धरा सडक खण्डमा सर्भिस लेनको काम भने धमाधम सुरु गरेको छ । चीन सरकारको सहयोगमा रिङरोड (कलङ्की–महाराजगन्ज) आठ लेनमा विस्तार गर्न तीन वर्ष अघि सहमति भएको थियो । चिनियाँ पक्षले पहिला सर्भिस लेन बनाएपछि आठ लेनको सडकको काम थाल्ने जनाउ सरकारलाई दिएपछि सर्भिस लनेको काम सुरु भएको हो । दुईतर्फ बनाईरहेको सर्भिस लेनको खर्च भने सरकारले नै व्यहोर्नुपर्छ । 

चक्रपथ सडक विस्तार आयोजनाले आठ लेनको सडकको काम थाल्नुअघि सडकसँग जोडिएका मन्दिर, सडकमै गाडिएका बिजुली तथा टेलिकमको पोल र रुखहरू हटाइरहेको छ । 

चिनियाँ पक्षले ती अवरोध हटाएपछि मात्रै काम थाल्ने जनाउ आयोजनालाई दिएको थियो । 

सडक विभाग अन्तर्गतकै यो आयोजनाका लागि सरकारले यो वर्ष पनि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

विभागका महानिर्देशक सुशील बाबु ढकालका अनुसार चक्रपथ विस्तारको दोस्रो फेजको काम चिनियाँ सरकारकै अनुदानमा सुरु हुन लागेको हो । अहिले कलङ्कीदेखि वसुन्धरासम्मको मात्रै काम भइरहेको छ । यसका लागि प्राविधिक समूहबाट सहमति लिएर चिनियाँ पक्षले नै सडकको डिजाइन र ठेक्का लगाउने तयारी गरेको छ । 

स्वयम्भूबाट वनस्थली, गोङ्गबु, सामाखुसी हुँदै वसुन्धरासम्म करिब आठ किलोमिटर सडकमा ढल र पोल राख्ने काम भइरहेको जानकारी विभागका महानिर्देशक ढकालले दिए । यो सडक खण्डका दायाँबायाँ ६÷६ मिटरको सर्भिस लेन बनाउने काम भइरहेको छ । 

महाराजगन्जमा दुई सय ४४ मिटर क्षेत्रमा सडक मुआब्जामा विवाद हुँदा अहिले दोस्रो फेजको काम कलङ्कीदेखि वसुन्धरासम्मको काम हुने भएको छ । महाराजगन्ज क्षेत्रमा २० वटा घर भत्काएर मुआब्जा वितरण गर्नुपर्ने देखिन्छ  ।

वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चक्रपथ विस्तारको लागि चिनियाँ पक्षले डीपीआरको काम गरिरहेको जानकारी आफूले पाएको बताए । उनले भने,‘चक्रपथ विस्तार रोकिएको होइन, चिनियाँ पक्षले डीपीआरको काम गरिरहेको छ । प्रतिवेदन बुझाउने बित्तिकै ठेक्का लगाउने जानकारी पाएको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप