आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

शुक्रबार, १५ असार २०८०, १४ : ४२
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाहरुमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय वाहित चिङ्गरियाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ९ जना मध्ये अन्य ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई देउती नर्सिङ होम र २ जनालाई माया नर्सिङ होममा उपचारको लागि पठाइएको छ । प्रहरीले हाल फरार गाडी चालकको खोजी गरिरहेको छ । 

यता सप्तरीको तिरहुत गाउँपालिका-५ मैनाकडेरीस्थित सडकमा स.७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी ओखलढुंगाको लिखु गाउँपालिका-२ दाहालटारस्थित सडकमा ना.६ त ८७४६ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार लिखु गाउँपालिका-२ बस्ने १८ वर्षीया अप्सरा खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामेछाप, रामेछाप नगरपालिका-३ साँघुटारस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई मन्थली अस्पताल रामेछाप हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौँमा पठाइएको छ ।  

महोत्तरीको सम्सी गाउँपालिका-४ गैडा चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मनराशिस्वा नगरपालिका-४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्रको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

उता दाङको राजपुर गाउँपालिका-५ जंग्रहवास्थित सडकमा रा.६ प ८९२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका-१ बस्ने ३४ वर्षीय तारा प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै स्थानका दुर्घटना स्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप