आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

मै भएर बाँच्न देऊ

शनिबार, १६ असार २०८०, १४ : ०६
शनिबार, १६ असार २०८०

तिमी मलाई मै भएर बाँच्न देऊ 
मलाई पनि स्वतन्त्र पक्षीसरि 
आफ्ना सपनाको उडान भर्न देऊ ।

बनावटी अट्टहास होइन 
साँचो हाँसो हाँस्न देऊ 
भो चाहिएन तिम्रा सहयोगी हात
त्यो पाउँदिनँ थाहा छ 
तर बिन्ती खुट्टा नतानी देऊ ।

आत्मसम्मान प्यारो छ मलाई 
घमण्डीको उपनाम बिन्ती नदेऊ न 
तिमी क्षमतावान्, बलवान् र बुद्धिमान छौ मान्छु म 
मलाई पनि आफ्नै अस्तित्वमा बाँच्न देऊ ।

मेरा लागि साँघुरो सीमा कोर्ने तिमी
बिन्ती आफ्नो निम्ति एक फराकिलो सीमा कोरिदेऊ
ममा कमजोरीको अथाह खानी भेट्ने तिमी
बिन्ती तिम्रा दुई–चारवटा गुण सापटी देऊ
मैनझैँ पग्ली म दिउँला श्रीखण्डझैँ घोटिई म दिउँला 
बिन्ती मेरा खुसी राखेको बाकसको चाबी मैलाई नै सुम्पिदेऊ ।

कैयौँ दिनरात एक गरी सामना गरेकी छु आँधीबेरीको
बिन्ती तिम्रो ढुंगासरि मन पगाल्ने औषधि बताइदेऊ,
लडायौ धेरै तिमीले तर बनेनौँ उठ्ने सहारा 
बिन्ती मलाई आज आफैँ उठ्ने एक मौका त देऊ । 

म रित्तिएर तिमीलाई भरिदिउँला 
छरपस्ट म भएर तिमीलाई समेटी दिउँला 
तर बिन्ती मेरा विवशता र बाध्यताको फाइदा अब नउठाइदेऊ,
सुगन्धित पुष्पगुच्छा बाटोभरि बिछ्याइदेऊ भन्दिनँ 
तर जहाँ म हिँड्छु त्यहीँ काँडाको तगारो नबनिदेऊ
तिमी मलाई मै जसरी बुझिदेऊ
तिम्रा कारण रुझेका यी नयन, बिन्ती आज पुछिदेऊ
जानी नजानी बाटो बिराउँला मै कथंकदाचित 
बिन्ती अञ्जानको भुल ठानी मैलाई सम्हालिदेऊ ।

घर, थर, सहर सबै त त्यागे तिम्रा लागि 
त्यागे सारा संसार 
बिन्ती अब मलाई तिम्रै संसारमा अटाइदेऊ ।

सुन्दर त्यो जूनमा पनि दाग हुन्छ बुझिदेउन
न घमण्ड, न आवेग न द्वेष, न गुनासो
बस् बेफिक्री मलाई मै भएर जिउन देऊ
रहन्छु म सदा बनी तिम्रै छाया समीपको 
बिन्ती तिम्रो अहंकारीरूपी पर्दा अब त हटाइदेऊ ।

नदुखोस् यो मन कसैले दुखाइदिँदैमा 
नफुर्कियोस् यो मन कसैले फुर्काइ दिँदैमा 
बिन्ती मलाई आफ्नै स्वभावमा बाँच्ने 
अमृतरूपी मन्त्र बताइदेऊ । 

बत्तीको उज्यालो प्रकाशको मोहमा आफैँ
खरानी हुने पुतली मलाई नठानिदेऊ न 
गडगडाउने खहरे होइन मलाई समुद्रझैँ
शान्त र स्थिर भई जीवन कटाउन देऊ
तिमी मलाई मै भएर बाँच्न देऊ,
मलाई पनि स्वतन्त्र पक्षीसरि आफ्ना सपनाको उडान भर्न देऊ ।

(पनौती–१० खोपासी, काभ्रे ।
(हालः खानीखोला–५ ताल्ढुंगा)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अम्बिका पन्त
अम्बिका पन्त
लेखकबाट थप