आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्ना सेवाहरू बन्द गर्ने बैंक तथा वित्तीय संस्थाहरूको चेतावनी

आइतबार, १७ असार २०८०, १० : ३७
आइतबार, १७ असार २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था, सोको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट निरन्तर रूपमा भइरहेको भौतिक आक्रमण एवम् गैरकानुनी गतिविधिहरू बढेको भन्दै संघको बिहीबारका दिन बसेको सातौँ बैठकले सुरक्षा प्रबन्ध नमिलाए आफ्नो सेवा पूर्ण रूपमा बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि निर्वाध रूपमा सुरक्षित वातावरणमा प्रचलित ऐन कानुनद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदत्त अधिकारको प्रयोग गर्दै सोही बमोजिम निर्देशित बैंक तथा वित्तीय संस्थाहरूले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्तर्गतका निकायहरूबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेतर्फ सचेत गराउँदै र सोबाट आम निक्षेपकर्ता, ऋणी लगायत सम्पूर्ण सरोकारवालाहरूको हक, हित संरक्षण तथा सम्बर्द्धनमा गम्भीर र सङ्कट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय सङ्कट सिर्जना हुने भएकोले नेपाल सरकारलगायत सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानुनबाट वर्जित क्रियाकलापहरू देशका विभिन्न स्थानहरूमा निरन्तर रूपमा भइरहेको संघको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप