आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

एकोहोरो माया

आइतबार, १७ असार २०८०, १६ : ४६
आइतबार, १७ असार २०८०

म त तिम्रो एकोहोरो मायाको 
जालमा परिसकेको छु
केवल एक चोटि माया गर्छु भनेर त हेर 
तिमीले कल्पना गर्न नसक्ने
अथाहा प्यार दिन्छु
मलाई केवल एक चोटि माया गर्छु भन 
म तिमीलाई यो कमलो मुटु र कलेजोको 
गहना बनाई उपहार दिन्छु

थाहा छ तिमीलाई
तिम्रो जादुमयी मुस्कानको अद्भुत तागतबाट   
कठोर जिन्दगीको सङ्घर्षका विशाल पहाडहरू 
एक झट्कामै चिर्ने सहास पाउँछु 
केवल मलाई एक चोटि माया गर्छु भनेर त हेर 
म तिमीलाई रङ्गी विरङ्गी फूलका थुँगाले सजिएको छुट्टै संसार दिन्छु

हेरन 
तिमीबिना त म एक्लो महसुस गर्छु
तिमीबिना त म सुकेको निरस झार जस्तै हुँ 
तिमीलाई देखेपछि त 
तिम्रो सुन्दर चेहेरामा 
स्वर्ग झल्किरहेको देख्छु 
र 

तिमी अर्कैको राजकुमारी हुन्छ्यौ कि 
भन्ने डरले हरपल तड्पिरहेछु 

सुनन 
केवल तिमी मलाई एक नजरले त हेर
युद्धबिना यो विशाल विश्वलाई 
आफ्नो मुट्ठीमा कब्जा गरेको महसुस गर्छु 
केवल तिमी मलाई एक नजरले त हेर
हिरामोतीभन्दा सुन्दर बुहुमूल्य तिम्रो रूपमा
मिठो सुगन्ध थपिदिन्छु

                       
थाहा छ तिमीलाई
मैले तिम्रै खातिर 
आफूलाई पीडाको अग्निमा जलाएर 
तिमीलाई हर्षको खोलामा बगाइदिने 
सपना बोकेको छु
रातका निन्द्रा बेचेर 
तिम्रै मिठो सम्झना किनेको छु 
त्यसैले 
मैले आफूलाई भत्काएर
तिमीलाई बनाउने दृढ सङ्कल्प बोकेको छु
मैले आफूलाई बदनाम गरेर 
तिमीलाई अद्भूत सम्मान दिलाउने 
विकल्प रोजेको  छु
केवल मलाई एक चोटि माया गर्छु भनेर त हेर 
दुष्ट ब्वाँसाहरूसँग युद्ध लडेर 
यो मेरो परानै दिएर 
मर्ते दमतक तिम्रो अस्तित्वको रक्षा गर्छु  
किनकि म त तिमीलाई प्राणभन्दा पनि ज्यादै 
एकोहोरो माया गर्छु 

अनि सुनन 
चाहे भयानक पीडाको आँधीबेहेरी तुफान किन नआओस् 
चाहे दुःखैदुःखको विशाल भेल पहिरो र भुइँचालो किन नआओस्
चाहे तिम्रो सुन्दर  रूप  किन चाउरी नपरोस् 
चाहे तिम्रो देह जुनसुकै संसारको कुनामा जाओस् 
तर 
म त तिमीलाई 
यो मेरो ढुकढुकीमा धड्की रहेको महसुस गर्छु 
म त तिमीलाई यो धर्ती र आकाश रहुन्जेल 
यो विशाल अद्भूत ब्रह्माण्ड र बतास छउन्जेल 
अटुट माया गर्ने बाचा गर्छु 

किनकि 
म त तिम्रो एकोहोरो मायाको जालमा परिसकेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उत्तम रोका
उत्तम रोका
लेखकबाट थप