आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अक्षरयात्राको द्विशतक शृङ्खला शताब्दी घरमा

सोमबार, १८ असार २०८०, ०९ : ३९
सोमबार, १८ असार २०८०

पर्वत । ‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रूपमा सञ्चालित भइरहेको यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्रा’को द्विशतक शृङ्खला फरक पर्वत कुस्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ ।

कालीगण्डकी बचाऔँ अभियान एवं कुस्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए । शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक शृङ्खला कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बीचमा प्रगाढ सम्बन्ध छ भन्दै आफ्नी प्रातःस्मरणीय माताको सम्झना गरे । आफू तीन वर्षको हुँदा आमाको देहान्त भएको र यही कालीगण्डकी नदीमा दाहसंस्कार भएको भएको कुरा बताए । आफू तेह्र वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा बताइ सबैलाई भावुक बनाए ।

अभियन्ता आरके अदीप्त गिरी कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सतिसाल झैँ उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठुलो आँट र साहस रहेको विचार व्यक्त गरे । कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नु पर्ने विचार श्रेष्ठको थियो । 

उनले भने, ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो,’ श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गरेका थिए ।

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आफूले जीवनमा तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन् ।

बाहिर झम्झम् असारे झरी परिरहेको थियो भने शताब्दी घरको माथिल्लो तल्लामा सञ्चालित कार्यक्रममा पचासी वर्षीय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाइरहेका थिए । प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आआफ्ना धारणा सहित रचना वाचन गरेका थिए । 

त्यस्तै रचना वाचन गर्नेमा — एन पि घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, सावित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर तत्स्थानीय रूपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए ।

शताब्दी घर तथा कुस्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा सञ्चालित कार्यक्रममा साहित्यकार एवम् रंगकर्मी प्रान्जलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप