आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हरियालीमा बस्ने मानिसको उमेर साढे दुई वर्षसम्म लम्बिन्छ

सोमबार, १८ असार २०८०, ११ : ४६
सोमबार, १८ असार २०८०

उमेर कसरी बढाउने ? यसबारे वैज्ञानिक लगातार अनुसन्धान गरिरहेका छन् । कोही त अमर हुनेसम्मका कुरा गरिरहेका छन् । अमर हुने सूत्र त अहिलेसम्म फेला पर्न सकेको छैन तर लामो उमेरको एक सहज र सुन्दर तरिका भने पक्कै भेटिएको छ ।

अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीको ताजा शोधमा दाबी गरिए अनुसार हरियाली इलाकामा बस्ने मानिसमा विभिन्न खालको जैविक र मोलिक्युलर परिवर्तन आउँछ । यसले उनीहरूको जैविक उमेर घटाउँछ जसले क्रोनोलोजिकल अर्थात् वास्तविक उमेर लामो हुन्छ । शोध यसै बुधबार साइन्स एड्भान्सेज पत्रिकामा छापिएको छ । 

व्यक्तिको खानपान र जीवनशैली कस्तो हुन्छ, त्यसमा नै उनीहरूको जैविक उमेर निर्धारण हुन्छ । यदि मानिसको बायोलोजिकल उमेर उनीहरूको क्रोनोलोजिकल उमेरभन्दा बढी छ भने उनीहरू छिट्टै बुढो हुन्छन् । बुढेसकालमा देखिने रोगले उनीहरूलाई पहिले नै घेर्छ र मृत्यु पनि छिट्टै हुन्छ । यहाँ क्रोनोलोजिकल उमेरको अर्थ वास्तविक आयु हो ।

विशेषज्ञका अनुसार बायोलोजिकल उमेर यदि वास्तविक उमेरभन्दा कम छ भने यस्ता व्यक्ति अन्यको तुलनामा बढी समयसम्म युवा देखिन्छन् । पहिला यो उमेर घटाउनका लागि हरियो तरकारी खान र व्यायाम गर्न भनिन्थ्यो । तर हरियो तरकारी खानुका साथै हरा–भरा ठाउँमा बस्दा पनि उमेर लम्बिन्छ ।

अनुसन्धानका लागि अमेरिकाका ४ सहर छानियो । यसलाई पनि दुई भागमा बाँडिएको थियो । एक हरियाली क्षेत्रमा बस्ने मानिस र अर्को कङ्क्रिट बीच बसिरहेका मानिस । लगभग ९०० मानिसमा गरिएको यो शोध दुई दशकसम्म चल्यो । यसको उद्देश्य हरियालीको लामो सम्पर्कमा रहँदा स्वास्थ्यमा कस्तो असर पर्छ भनेर थाहा पाउनु थियो ।

अनुसन्धाताले यी मानिसका डिएनएको परीक्षणमा एक केमिकल परिवर्तन देखे जसलाई मिथाइलेसन भनिन्छ  । हुन त यो प्रक्रिया डिएनएमा भइरहन्छ तर उमेर बढेसँगै यसमा परिवर्तन देख्न थाल्छ । यसलाई एपिजेनेटिक क्लक भनिन्छ । यो घडीले हामी जवान वा बुढो भएको कुरा बताउँछ ।

अनुसन्धानमा पाइए अनुसार हराभरा स्थानमा बस्ने मानिसमा एपिजेनेटिक क्लक निकै बिस्तारै चलिरहेको थियो । जसको घरमा ५ किलोमिटरको रेडियसमा ३० प्रतिशतसम्म हरियाली थियो, उनीहरू ती व्यक्तिको तुलनामा साढे दुई वर्ष युवा देखिन्थे जसको घर वरिपरि २० प्रतिशतसम्म हरियाली थियो ।

वर्षको सुरुवातमा फिनल्यान्डबाट पनि यस्तै एउटा अनुसन्धान आएको थियो जसले हरियाली बीच बस्न सुझाएको थियो । फिनिस इन्स्टिच्युट फर हेल्थ एन्ड वेलफेयरको अनुसन्धानले पार्कको सैर गर्नेहरूले उच्च रक्तचाप र दमजस्ता रोगमा औषधीमाथि उनीहरूको निर्भरता निकै कम हुन्छ । यहाँसम्म कि सधैँ पार्क जाने डिप्रेसनका बिरामीको डोज पनि सिधै ३३ प्रतिशतसम्म घट्छ । 

यसअघि कम तापक्रमलाई लामो आयुसँग जोडिइसकेको छ  । जर्मन युनिभर्सिटी अफ कोलोजनका अनुसन्धानकर्तालाई विश्वास गर्ने हो भने लामो उमेरमा यो पनि एक कारक हो । कम तापक्रममा बस्न जनसङ्ख्या बढ्दो उमेरसँगै देखिने थुप्रै रोग जस्तै अल्जाइमर्स र डिमेन्सियाबाट केही हदसम्म बच्न सक्छन् र उनीहरूको औसत आयु पनि तातो इलाकाको जनसङ्ख्याभन्दा बढी नै हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप