आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गठबन्धन बैठक

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

सोमबार, १८ असार २०८०, १८ : १०
सोमबार, १८ असार २०८०

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो । 

‘सत्ता साझेदार दलको बैठक बस्यो । कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भयो’ बैठकमा सहभागी एक नेताले भने, ‘आ–आफ्नो पार्टीको संसदीय दलको बैठकले निर्णय गरेर कांग्रेस नेता थापालाई मुख्यमन्त्री प्रस्ताव गर्ने छन् ।’ तर, थापाको कार्यकाल कति वर्ष हुने भन्ने विषयमा निर्णय भई नसकेको ती नेताले बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठक मूलतः प्रदेश सरकारकै विषयमा केन्द्रित रहेको थियो । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् । ‘कोशी प्रदेशमा पहिलो चरणमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने आजको बैठकमा सहमति भएको छ,’ अध्यक्ष यादवले भने, ‘अब कांग्रेसका नेताहरुले कुन–कुन पार्टीलाई समावेश गर्ने भनेर छलफल र गृहकार्य सुरु गर्नुहुनेछ ।’

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् । यादवले नयाँ बन्ने सरकारले कोशीको पहिचान र नामकरणको विषयमा कसरी डिल गर्छ, त्यही अनुसार जसपाले आफ्नो भूमिका खेल्ने पनि प्रष्ट पारे ।

त्यस्तै, आजको बैठकमा लुम्बिनी र मधेस प्रदेश सरकारलाई चाँडो पूर्णता दिने पनि सहमति भएको छ । दुई प्रदेशमा केही मन्त्रीहरु अझै नियुक्त हुन बाँक रहेका छन् । त्यहाँ चाँडै मन्त्रीहरु नियुक्त गर्ने दलहरुबीच सहमति भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवा रक्षामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, एकीकृत समाजवादीका कार्यवाहक राजेन्द्र पाण्डेलगायतको उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप