सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोसी अस्पतालको मेसु चार महिनामै परिवर्तन

०६१ सालयता १८ जना मेसु परिवर्तन
सोमबार, १८ असार २०८०, १९ : २०
सोमबार, १८ असार २०८०

विराटनगर । कोसी अस्पतालमा चार महिना अगाडि नियुक्त भएका निमित्त मेसु डा. रविराज सिंह हटाइएको छ । उनको ठाउँमा डाक्टर चन्द्रलाल झा नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री परिवर्तन भएसँगै अस्पतालमा मेडिकल सुपरिडेन्डेन्ट फेरिने गरिएको छ । जसका कारण विगत १६ महिनामा चार जना मेसु नियुक्त भएका छन् । 

२०७८ फागुन ५ गते स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर यज्ञराज खरेल मेसुमा नियुक्त भएका थिए । खरेलले ६ महिना काम गर्दा नगर्दै खतिवडा मन्त्री पदबाट बाहिरिए । उनको ठाउँमा आएका स्वास्थ्य मन्त्री भवानी खापुङले कोसीको मेसुमा २०७९ भदौ १६ गते डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिए । 

यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङ बाहिरिए र पदम गिरी आए । फेरि उनले २०७९ फागुन २ गते निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएका थिए । पदम गिरी मन्त्री पदबाट आउट भएर मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । फेरि उनै बस्नेतले मेसुमा अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रलाल झालाई नियुक्त गरेका हुन् । झा चार महिना अगाडि ११ औँ तहमा बढुवा भएका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् । झाले मंगलबारदेखि कार्यभार सम्हाल्ने जनाइको छ ।

मेसु नियुक्तिको इतिहास, ०६१ पछि दिगो भएनन्

कोशी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरे । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए । साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । यो अस्पताल कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको ठूलो सरकारी अस्पताल हो । अस्पताल विकास समिति र मेसु नियुक्तिमा ठूलो आर्थिक चलखेल हुने गरेको कतिपय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप