आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा

‘प्लस टु’ परीक्षा दिएका विद्यार्थीको ध्यान विदेशतिर, कन्सल्टेन्सीमा चाप

मङ्गलबार, १९ असार २०८०, ०६ : ५६
मङ्गलबार, १९ असार २०८०

काठमाडौं । कैलालीकी प्रनिशा भट्टराई कक्षा १२ को परीक्षा दिएर काठमाडौं आइन् । बागबजारको एक होस्टेलमा बस्दै आएकी उनले पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीमा आईएलटीएसको कक्षा लिइरहेकी छन् ।

कक्षा १२ को नतिजा आएसँगै उनको आईएलटीएस तयारी पनि पूरा हुन्छ । त्यसपछि परीक्षा दिएर थप अध्ययनका लागि विदेश जाने सोचमा छिन् उनी ।

उनीसँगै पढ्ने अन्य चार जना साथीसमेत अहिले काठमाडौंमै बसेर आईएलटीएसको तयारी गरिरहेका छन् । कक्षा १२ को नतिजा आएसँगै उनीहरू जतिसक्दो चाँडो विदेश जाने योजनामा छन् ।

‘नेपालमा बसेर जति पढे पनि बेरोजगारै भएर बस्नुपर्ने हो । त्यो भन्दा त विदेश गयो भने आफ्नो करिअर राम्रो बन्छ । पढाई पनि हुने, पैसा पनि कमाई हुने भयो भने किन नेपालमै बेरोजगार भएर बस्नु ?’ प्रनिशाले प्रश्न गरिन् ।

उनीजस्तै उनकै सहपाठी २० जनाभन्दा बढी साथी काठमाडौं आएरै आईएलटीएस÷पीटीईको तयारी गरिरहेका छन् । उनीहरूले सबै जना जति सक्दो चाँडो विदेश जाने योजनामा छन् ।

पढाईमा अब्बल रहेकी प्रनिशा कक्षा १२ को नतिजा राम्रै आउनेमा आशावादी छन् । त्यही आधारमा उनी फुल कन्फिडेन्सका साथ अष्ट्रेलियाको तयारीमा लागेकी हुन् ।

दाङका पवन चौधरी पनि आईएलटीएसको तयारी गरिरहेका छन् । पुतलीसडकमा रहेको एक कन्सल्टेन्सीमा पढिरहेका उनी क्यानडाको तयारीमा छन् । हाल उनले क्लास लिइरहेको कन्सल्टेन्सीमा ३० जना पढिरहेका छन् । उनीहरूमध्ये अधिकांश क्यानडा जाने तयारीमा छन् । क्यानडा नभएको खण्डमा अष्ट्रेलिया विकल्पमा राखेका छन् । त्यो पनि भएन भने कुनै न कुनै देशमा उनीहरू पढ्न जाने सोचमा छन् ।

‘नेपालमा पढेर भोलि बेरोजगार हुनुभन्दा राम्रो देश गएर सेटल हुनुपर्छ । राम्रो कमाई पनि हुन्छ । पढाई पनि हुन्छ । नेपालमा पढ्नु भनेको त त्यत्तिकै समय खेर फाल्नुमात्र हो,’ चौधरीले भने ।

यतिबेला पुतलीसडक, बागबजार, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा प्लस टु दिएर बसेका विद्यार्थीहरूको बढी भिडभाड देखिन्छ । उनीहरू विभिन्न कन्सल्टेन्सीमा गएर अंग्रेजी भाषाका कक्षा लिइरहेका छन् । उनीहरू सबैको तयारी क्यानडा, अष्ट्रेलिया, बेलायत, फिनल्याण्ड लगायतका देशमा पढ्नको लागि जाने भन्ने नै छ ।

प्लस टुको परीक्षा दिएर नतिजा नआउँदासम्मको २÷३ महिनाको खाली समय उनीहरुले यसरी नै सदुपयोग गरेको देखिन्छ । भाषाको तयारी गर्नेदेखि लिएर सम्बन्धित देशको बारेमा बुझ्न जाने विद्यार्थीहरूको उत्तिकै चाप देखिन्छ ।

पुतलीसडकमा रहेको एएचजेड एसोसिएटले यूकेमा पढ्न लागि सहजीकरण गर्दै आएको छ । यसका सञ्चालक आशाशशी विश्वासले पछिल्लो समय यूकेबारे बुझ्न आउने विद्यार्थीहरूको संख्या बढिरहेको बताए ।

‘भर्खर प्लस टु को परीक्षा दिएर बसेका विद्यार्थीहरू आइरहेका छन् । उनीहरूको चाहना जसरी भए पनि विदेश जानुपर्छ भन्ने छ । नेपालमा कोही पनि बस्न चाहदैनन्,’ विश्वासले भने ।

यतिबेला कन्सल्टेन्सीवालाहरू पनि निकै चापमा छन् । उनीहरूलाई विद्यार्थी पढाउनु, विदेशबारे जानकारी दिनु, भिसा लगाउनु जस्ता कामको चापाचाप छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव दिपकराज भुसालले अहिले कन्सल्टेन्सीतिर आउनेहरूमा अधिकांश प्सल टु दिएका विद्यार्थी रहेको बताए ।

प्लस टुको परीक्षा दिएसँगै विद्यार्थीहरू विदेश जान हतारिने गरेको देखिएको छ । विद्यार्थीहरुले नेपालको शिक्षा प्रणाली राम्रो छैन, पढेर रोजगारी पाइँदैन, आफूसँगैको साथी गयो भन्न जस्ता कारणले विद्यार्थीहरुमा विदेश मोह बढेको महासचिव भुसालको भनाइ छ ।

अधिकांश विद्यार्थीहरु अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, फिनल्याण्ड जस्ता देशमा जानको लागि बढी केन्द्रित रहेको उनले बताए ।

हालै सम्पन्न हिसान शैक्षिक मेलामा उच्च शिक्षाका लागि बुझ्न आउने विद्यार्थीको सख्या निकै कम पाइएको थियो । विगतको तुलनामा अहिलेको मेलामा उच्च शिक्षाका लागि बुझ्न आउने विद्यार्थीहरुको संख्या निकै रहेको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिए ।

पछिल्लो समय उच्च शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको संख्या बढ्दो क्रममा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०-०७१ मा २८ हजार १२६ जनाले एनओसी लिएका थिए ।

ती विद्यार्थीहरुको ध्यान विदेशतिर देखिएको छ । जसले गर्दा नेपालमै रहेको अवसरहरुप्रति उनीहरुको ध्यान कम गएको हो । कन्सल्टेन्सीहरुले समेत विद्यार्थीहरुको ध्यान केन्द्रित गराउन भाषा कक्षामा लाग्ने शुल्कमा छुट दिने जस्ता विभिन्न अफर अघि सारेका छन् ।

एउटा विद्यार्थी २०-२५ लाख खर्च गरेर विदेश जान अघि सर्ने तर, नेपालमा रहेका राम्रा राम्रो कलेजहरुमा पढ्नबाट भने पछि हट्ने गरेको देखिन्छ । आफूहरुले विद्यार्थीहरुलाई विदेश पठाउन मात्र नभई नेपालमै रहेको पर्याप्त अवसरबारे समेत जानकारी गराउने गरेको कन्सल्टेन्सीहरुको भनाइ छ ।

विद्यार्थीले जसरी पनि विदेश नै जाने भनेपछि उनीहरुलाई पढ्नका लागि लाग्ने खर्च, पाइने छात्रवृत्ति, कमाउन सकिने अवस्था, बस्न पाउने समय लगायतका विविध विषयमा काउन्सिलिङ गर्ने गरिएको महासचिव भुसालले बताए ।

एनओसी लिनेको संख्या बर्सेनि बढ्दो

पछिल्लो समय उच्च शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको संख्या बढ्दो क्रममा छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०-०७१ मा २८ हजार १२६ जनाले एनओसी लिएका थिए ।

उच्च शिक्षा अध्ययनका लागि ७० भन्दा बढी देशमा नेपाली विद्यार्थीहरू जाने गरेको पाइएको छ । जसमा अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायतका देशमा बढी जाने गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७१-०७२ मा ३० हजार ७९७, आर्थिक वर्ष २०७२-०७३ मा ३७ हजार १४८ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् । २०७३-०७४ मा ५० हजार ७९६ जना, २०७४-०७५ मा ५८ हजार ७५८ जना, २०७५-०७६ मा ६३ हजार ४१७ जना, २०७६-०७७ मा ३३ हजार १९६ जना, २०७७-०७८ मा २७ हजार ९७८ जना, २०७८-७९ मा १ लाख २५ हजार ४ र २०७९-८० को जेठसम्ममा १ लाख १७ हजार जनाले एनओसी लिएका छन् । कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा एनओसी लिनेको संख्या घटेको देखिन्छ ।

यसरी उच्च शिक्षा अध्ययनका लागि ७० भन्दा बढी देशमा नेपाली विद्यार्थीहरू जाने गरेको पाइएको छ । जसमा अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायतका देशमा बढी जाने गरेका छन् ।

एनओसी शाखाका अनुसार गएको वर्ष अष्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका थिए । त्यस्तै जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ एनओसी लिएका थिए । बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाका लागि ५ हजार ८२ जनाले एनओसी लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप