आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सडक पूर्वाधार

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार हुँदै

मङ्गलबार, १९ असार २०८०, १२ : २३
मङ्गलबार, १९ असार २०८०

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६ दशकपछि स्तरोन्नति हुन थालेको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो ।

विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको सडक विभागले जनाएको छ । विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको बताए । उनले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाइने जानकारीसमेत दिए ।

बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुने उपमहानिर्देशक जैसी बताउँछन् । बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र टेन्डर प्रक्रियामा जाने सडक विभागको योजना छ ।

गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटरको डिजाइन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । जैसीले भने, ‘पहिला बुटवलदेखि गोरुसिङ्गेसम्मको लागि टेन्डर हुन्छ, अनि अर्को खण्डको डिजाइनको काम थाल्छौँ ।’

3

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने  ठुला गाडीहरू चलाउनको पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गहरू सवारी साधनको चाप वृद्धि हुन थालेपछि सडकहरू विस्तार गर्न थालिएको जैसीले बताए ।

उनले बुटवल–गोरुसिङ्गे खण्डमा भदौदेखि फिल्डमै काम हुने गरी तयारी गरिएको जानकारी दिए । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।

बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने भएको छ । पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप