सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा घर भएका र बङ्गुर फर्म चलाउने पुरुष ‘नक्कली नोट’ कारोबारमा

मङ्गलबार, १९ असार २०८०, १२ : ४३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । मकवानपुरबाट काठमाडौँ उपत्यकामा छिरेका पासाङ भोम्जन ‘प्रशान्त’ले ललितपुरको चापागाउँमा घर बनाएका छन् । छम्पिमा बङ्गुर फर्म चलाउँछन् । तर, देखावटी बङ्गुर फर्म चलाए पनि ४२ वर्षीय भोम्जन ‘नक्कली नोट’ कारोबारमा संलग्न रहेको आरोप छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १५ मा प्रशान्तलाई पक्राउ गरेको थियो । उनको साथबाट ५ सय दरका ८० हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको छ । पक्राउपछि प्रशान्तले प्रहरीसँग भनेका छन्–‘विदेश जान भनेर कसैलाई पैसा दिएको थिएँ, फिर्ता माग्दा यस्तो पैसा दिए ।’

१५ वर्षअघि कतारमा बसेर फर्केका भोम्जनले ‘नक्कली नोट’ सहित पक्राउ परेपछि आफ्नो डेरा इमाडोलमा भएको बताए । अनुसन्धान अधिकृतहरू उनलाई लिएर डेरामा जाँदा त्यहाँ सुत्नका लागी एक सेट बिस्तारा बाहेक केही भेटिएन । तर, प्रशान्तकी पत्नी प्रहरीकहाँ आएपछि थाहा भयो–‘चापागाउँमा घर रहेछ ।’

नक्कली नेपाली रुपैयाँ प्रशान्तले काठमाडौँबाहिर बाट ल्याएको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए । डा. केसी भन्छन्–‘पैसा कहाँ छापियो र कसरी उपत्यकामा भित्रियो भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार प्रशान्तले वीरगन्जबाट ल्याएर नक्कली नोट बेच्न खोज्दै थिए । ८० हजार ‘नक्कली नोट’ ३५ हजारमा बेच्न खोज्दा उनी पक्राउ परेका हुन् । प्रशान्तलाई आफूले वीरगन्जबाट ल्याएको नोट ‘नक्कली’ रहेको जानकारी थियो । उनले नोट कारबार गर्नकै लागी इमाडोलमा डेरा लिएको थाहा भएको छ । अपराध गर्नेहरूले प्रहरीलाई झुक्काउनका लागी ‘देखावटी डेरा’ लिने गरेका छन् ।

पछिल्लो समय उपत्यकामा नक्कली नोटको कारोबार बढ्न थालेको छ । तर, प्रहरी पैसा आउने मुख्य स्रोत सम्म पुग्न सकेको छैन । प्रशान्तलाई पैसा दिने ‘स्रोत’बारे अनुसन्धान भइरहेको एसएसपी डा. केसीले जानकारी दिए । प्रशान्तले आफू विदेश जाने तयारीमा बसेको जिकिर गरेका छन् । तर, उनको परिवारका अनुसार उनी विदेश जाने तयारीमा थिएनन् ।

दोस्रो बिहे गरेका प्रशान्तका दुई बच्चा छन् । उनी मकवानपुरको गढी नगरपालिका–१ का स्थानीय हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप