आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डक नहरमा भारतले ४ सय क्युसेक पानी छाड्यो

किसानलाई पानी पर्याप्त छ : इन्जिनियर साह
बुधबार, २० असार २०८०, ११ : ५६
बुधबार, २० असार २०८०

बारा । भारतले नेपालको गण्डक नहरमा बुधवारसम्म ४ सय क्युसेक पानी छोडेको छ । दुई देशबिचको सम्झौता अनुसार असार १५ गतेदेखि असोज १५ सम्म भारतले ८५० क्युसेक पानी नेपाललाई दिनुपर्नेछ जसमध्ये आजसम्म ४ सय क्युसेक पानी नहरमा छाडेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साले जनाएको छ । गण्डक नहरको भारततर्फको २२० आर्रडी भन्ने ठाउँमा नहर मर्मत काम भइरहेकोले बाँकी पानी केही दिनमा आउने नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका इन्जिनियर सुरेश प्रसाद साहले जनाएका छन् ।

नेपालतर्फ पर्साको जगन्नाथपुरबाट सुरु भएको नहर प्रणाली ८० किलोमिटर पूर्व रौतहटसम्म पुगेको छ । हाल गण्डक नहरको पानी बाराको सिम्रौनगढसम्म पुगेको र भोलि रौतहट पुर्याइने इन्जिनियर साहले जनाएका छन् । ‘अहिले किसानहरूका लागि पानी पर्याप्त छ, नहरको पानी बाराको स्रिमौनगढसम्म पुगेको छ । भोलिसम्म रौतहट पुर्याउने हाम्रो लक्ष्य हो’ इन्जिनियर साहले भने ‘नहरबाट सिँचाइ हुने बारा, पर्साको २८ हजार हेक्टर भूभाग मध्ये अहिलेसम्म ४ हजार हेक्टरमा नहरको पानी पुगिसकेको छ, दुवै जिल्लाको करिब १५-१५प्रतिशत भूभागमा रोपाई भइसकेको छ ।’ 

बारा, पर्सा र रौतहटमा कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको छ । नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ ।  

भारत तर्फ विभिन्न ठाउँमा नहर मर्मत भइरहेकोले बाँकी पानी आउन केही लाग्ने दाबी  गरिए पनि नहर प्रणालीको ५० वर्षको इतिहासमा भारतले सम्झौता अनुसार ८५० क्युसेक पानी बिरलै दिएको जनाइएको छ ।

na7

यस वर्ष लामो समय परेको खडेरीका कारण किसानहरूले समयमै बिउ राख्न नपाउँदा नहरमा पानी भए पनि बिउ तयार नभएकोले धेरै ठाउँमा रोपाई हुन बाँकी रहेको इन्जिनियर साहले बताए।

यस वर्ष बारा, पर्सासहित मधेस प्रदेशका जिल्लाहरूमा असार १५ पछि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, फिल्ड कार्यालय सिमरा विमानस्थलमा रेकर्ड भएको तथ्याकं अनुसार यस वर्ष हालसम्मकै अधिकतम वर्षा असार १६ गते ४८ दशमलव २ एमएम भएको थियो ।

na6na5na3na2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप