आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बेलायतमा नेपाली नर्स

नर्सहरूलाई बेलायत पठाउने बाटो खुल्यो, एक महिनाभित्र आवेदन खुल्ने

बुधबार, २० असार २०८०, १३ : ४१
बुधबार, २० असार २०८०

काठमाडौँ । नेपाली नर्सहरूलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाउने बाटो खुलेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) पारित भएसँगै बेलायतमा नर्स पठाउने बाटो खुलेको हो । 

मन्त्रिपरिषद्बाट प्रोटोकल पारित भएसँगै दुवै देशबीच प्रोटोकलमा हस्ताक्षर गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राजीव पोखरेलले प्रोटोकल पारित भएसँगै काम धमाधम अगाडि बढेको बताए । 

अबको एक महिनाभित्रमा अनलाइनमार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । ‘प्रोटोकलमा साइन भएसँगै धमाधम सिस्टम बनाउने काम भइरहेको छ । एक महिनाभित्रमा आवेदन माग गर्छौँ । जति सक्दो चाँडो प्रक्रिया अगाडि बढाउँछौँ,’ पोखरेलले भने । 

एक महिनाभित्रमा कम्तीमा १०० जना नर्सलाई बेलायत पठाउने गरी अनलाइन मार्फत आवेदन आह्वान गरिने उनको भनाई छ । मन्त्रालयले तयार पारेको प्रोटोकल लामो समयदेखि पारित हुन सकेको थिएन । 

बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका अवसर दिन ६ भदौ २०७९ मा नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता (एमओयू) भएको थियो ।  सोही आधारमा दुवै देशका अधिकारीहरूले प्रोटोकल तयार पारेका थिए । 

सम्झौता भएको ९ महिनासम्म प्रोटोकल पारित हुने सकेको थिएन । कहिले परराष्ट्र मन्त्रालय, कहिले कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको प्रोटोकल केही दिन अगाडि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । 

प्रोटोकल अनुसार मापदण्ड पुगेका नर्सहरू सर्ट लिस्टमा नाम निकालिनेछ । र अन्तर्वार्ता मार्फत बेलायत जानका लागि छनोट गरिने सहसचिव पोखरेलले बताए । 

स्वास्थ्यकर्मीको छनोटको सम्पूर्ण प्रक्रिया नेपालमा वैदेशिक रोजगार विभागबाट हुनेछ । त्यसको प्रत्यक्ष मनिटरिङ बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर (डीएचएससी) मार्फत हुनेछ । 

छनोट भएर गएका नर्सहरूले बेलायतमा सुरुमा असिस्टेन्टका रूपमा काम गर्नेछन् । त्यसपछि बेलायतको नर्सिङ काउन्सिलमा दर्ता हुने अवसर पाउनेछन् । नर्सहरूले सुरुदेखि नै बेलायत सरकारको नियमअनुसार पारिश्रमिक पाउने उनको भनाई छ । 

वैदेशिक रोजगार विभाग मार्फत आवश्यक तयारी थालिएको छ । विभागले त्यसका लागि छुट्टै वेबसाइट बनाउने काम गर्दै आएको छ । त्यसको तयारी पूरा भएसँगै आवेदन आह्वान गरिने भएको हो । 

विभागले आवेदन आह्वान गर्ने, आवेदन रूजु गर्ने लगायतका काम गर्नेछ भने त्यसको रिभ्यू डीएचएससीले गर्नेछ । 

अगस्टदेखि अक्टोबर २०२३ सम्म पोस्ट सेलेक्सनको प्रक्रिया अगाडि बढ्नेछ । अन्तिम छनोट प्रक्रियाका लागि नोभेम्बर–डिसेम्बर २०२३ सम्मको समय तोकिएको छ । र, सन् २०२४ बाट नेपाली नर्सहरू बेलायतमा काममा जान पाउने कार्यदिशा रहेको छ ।  

कस्ता व्यक्ति जान पाउँछन् ?

नेपाली नर्सहरू बेलायतमा हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) का रूपमा जान पाउनेछन् । २० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । 

साथै, २ वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनु पर्नेछ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।

सम्झौताअनुसार बेलायतमा काम गर्न जाने हेल्थ केयर असिस्टेन्टहरूको न्यूनतम मासिक तलब ‘पर ब्यान्ड ४’, लेभल २ अनुसार हुनेछ । यो भनेको वार्षिक २६ हजार २८२ पाउन्ड (३९ लाख ४७ हजार भन्दा बढी) हुनेछ । यसमा मासिक २ हजार १९० पाउन्ड न्यूनतम तलब हुनेछ ।

साथै, इन्टरनेशन इङ्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) मा ‘बी’ स्कोर ल्याउनु पर्नेछ । आईईएलटीएसको रिटनमा ६.५ अङ्क अनिवार्य ल्याउनु पर्नेछ । ओईटीमा रिडिङ, राइटिङ र लिस्निङ हुनेछन्, जसमा राइटिङमा ‘सी प्लस’ ल्याउनु पर्नेछ ।

यसका लागि महिला मात्र नभएर आवश्यक योग्यता पुगेका जो सुकैले पनि आवेदन दिन पाउनेछन् ।सबै मापदण्ड पुरा गरेपछि मेडिकल चेकअप हुनेछ ।

के छ सेवा सुविधा ?

नेपाली नर्सले बेलायती नागरिक सरह सेवा सुविधा पाउनेछन् । कामदारमाथि हुने विभेद, सेवा सुविधा लगायतका विषयमा समेत विभेद नहुने गरी समझदारी गरिएको मन्त्रालयले जनाएको छ ।

सम्झौताअनुसार बेलायतमा काम गर्न जाने हेल्थ केयर असिस्टेन्टहरूको न्यूनतम मासिक तलब ‘पर ब्यान्ड ४’, लेभल २ अनुसार हुनेछ । यो भनेको वार्षिक २६ हजार २८२ पाउन्ड (३९ लाख ४७ हजार भन्दा बढी) हुनेछ । यसमा मासिक २ हजार १९० पाउन्ड न्यूनतम तलब हुनेछ ।

मासिक १८१.५ पाउन्ड बीमा, १५५.५० मासिक पेन्सन र १९७.४२ ट्याक्स काटिनेछ । यस हिसाबले एक कामदारले मासिक न्यूनतम १ हजार ६५६ पाउन्ड पाउनेछन् । नेपाली नर्सहरूले श्रम सम्झौताअनुसार बेलायतमा पाँच वर्ष काम गर्न पाउनेछन् । त्यसपछि उनीहरू नेपाल फर्कनुपर्नेछ । नर्सहरूले त्यहाँ गएर तीन महिनासम्म सहयोगीका रूपमा काम गर्नु पर्नेछ । त्यसपछि उनीहरूलाई त्यहाँको लाइसेन्स दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप