आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय आयातकर्ताले युआनमा दिन थाले रुसलाई भुक्तानी

बुधबार, २० असार २०८०, १३ : ५०
बुधबार, २० असार २०८०

एजेन्सी । भारतीय तेल आयातकर्ताहरुले रुसबाट किनेको कच्चा पेट्रोल भुक्तानी चिनियाँ युआनमा दिने गरेको खुलासा भएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका पेट्रोल प्रशोधनकर्ताहरूले युआनमा भुक्तानी गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेको हो ।

छिमेकी मुलुक युक्रेनमा सैन्य हमला गरेपछि पश्चिमा मुलुकको प्रतिबन्धका कारण रुसमा डलर र युरोलगायतका मुद्रा प्रचलनमा छैन । अमेरिकी डलर, युरो र बेलायती पाउण्ड प्रतिबन्ध लागेका कारण भारतीय तेल आयाकर्ताहरुले युआनमा नै भुक्तानी गर्नुपर्ने अवस्था छ ।

पश्चिमाले रुसलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्वीफ्टबाट हटाइदिएपछि विश्वभरका देश अमेरिकी नेतृत्वको गठबन्धनप्रति सशङ्कित छ । सोही कारण, चीनले आफ्नो मुद्रा युआनलाई विश्वव्यापीकरण गर्दै आइरहेको छ । सोही कारण, रुस–युक्रेन युद्ध अघिसम्म विश्वमा ७१ प्रतिशत रहेको अमेरिकी डलरको भण्डारण घटेर ४७ प्रतिशतमा रिपोर्टहरू सार्वजनिक भइरहेका छन् ।

अमेरिकी समाचार संस्था ब्लुमवर्गका अनुसार भारत पेट्रोलियम कर्प, हिन्दुस्तान पेट्रोलियम कर्प जस्ता सरकारी प्रशोधनकर्ताले समेत युआनमै भुक्तानी दिन थालेको उल्लेख गरेको छ । यद्यपि, यी संस्थाका प्रमुखहरूले भने युआनबाट भुक्तानी नदिइएको बताएका छन् ।

यसबाहेक, इण्डियन ओयल, रिलायन्स इन्डष्ट्रिज, नारायण इनर्जी लगायतका संस्थाले समेत भारतमा कच्चा तेल ल्याएर प्रशोधन गर्दै आइरहेका छन् । यी सबै संस्थाले चिनियाँ युआनमा भुक्तानी सुरु गरेको समाचारमा उल्लेख छ । रुसले छुटमा पेट्रोलियम पदार्थको बिक्री सुरु गरेपछि भारतले आक्रामकरुपमा तेल किन्न थालेको छ ।

सन् २०२२ को फेब्रुअरीयता भारतले रसियाबाट पेट्रोलियम पदार्थ र कोइलाको आयात बढाइरहेको छ । हाल भारतले रसियाबाट दैनिक २.१७ मिलियन ब्यारेल पेट्रोलियम पदार्थ छुटमा ल्याउँदै आइरहेको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप