आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शरद गौचन हत्या प्रकरण

समिरमान र अम्बर रानालाई जन्मकैद, लोप्साङलाई १५ वर्ष कैद

फैसला भएकामध्ये ८ जनालाई कैद, दुई जनाको मृत्यु, ७ जनालाई सफाइ
बुधबार, २० असार २०८०, २० : ३३
बुधबार, २० असार २०८०

काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्या प्रकरणमा संलग्न रहेका भनी मुद्दा दायर गरिएका २४ जनामध्ये ८ जनालाई कैद सजायको फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न रहेकामध्ये ८ जनालाई कैद सजायको फैसला सुनाएको हो ।

गत असार १२ गते कसुर ठहर गरी असार २० गते सजाय निर्धारण गरिएकाहरुमा ५ वर्षदेखि जन्मकैदसम्मको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार हत्याका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यात र गोली हान्ने काले भन्ने अम्बर बहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ । त्यसैगरी गोली हान्ने अर्का प्रतिवादी लोप्साङ्ग लामा भन्ने सोम तामाङलाई १५ वर्षको कैद सजाय सुनाइएको छ ।

२ करोड ५० लाख चन्दा मागिएकामा चन्दा नदिएपछि बस्नेतकै योजनामा तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका व्यवसायी गौचनमाथि २०७४ असोज २३ गते बानेश्वरको प्रयागमार्गमा गोली प्रहार भएको थियो ।

हत्यामा संलग्न भन्दै जन्मकैदको फैसला सुनाइएका समिरमान सिंह बस्न्यात काठमाडौंको साविकको धर्मस्थली गाविस वडा नम्बर ९ स्थायी ठेगाना भई कामनपा १३ बाफलमा बस्ने गर्दथे । त्यसैगरी जन्मकैदकै फैसला सुनाइएका काले भन्ने अम्बर बहादुर राना उदयपुरको रौता गाविस वडा नम्बर ५ पहोरटोलका स्थायी बासिन्दा हुन् ।

त्यसैगरी १५ वर्ष कैद सजाय सुनाइएका लोप्साङ भन्ने सोम तामाङको स्थायी ठेगाना भने भारतको दार्जिलिङ रहेको अभियोगपत्रमा उल्लेख छ । यद्यपि तामाङ सीतापाइला क्षेत्रमा बस्ने गरेका थिए ।

समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद

शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका अन्य प्रतिवादीका बयानका आधारमा पक्राउ परी पछि धरौटीमा रिहा भएकी योजनाकार समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई भने अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । प्रतिवादीहरुलाई आर्थिक तथा हतियारको व्यवस्थापन गर्ने काममा मायाको भूमिका रहेको अदालतको ठहर छ । मायालाई मनसायपूर्ण हत्या अभियोगमा १० वर्ष कैद र हातहतियार खरखजनामा ६० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

५ वर्ष कैद ठेकिएका प्रतिवादीहरु

काठमाडौं जिल्ला अदालतले हत्यामा संलग्न र मतियारहरुमध्ये बाराको जीतपुरसिमरा–९ का श्याम गुम्बे भन्ने श्याम बहादुर गुम्बी, काठकाडौंको सीतापाइला गाविस–१ स्थायी ठेगाना भइ नार्गाजुन नगरपालिका–४ लामथुम्की बस्ने काले दारी भन्ने रोशन बुढाथोकी, नुवाकोटको थप्रेक गाविस वडा नम्बर ३ का राजिव तामाङ भन्ने राजिव स्याङ्गतान र पाँचथरको याङ्गवरक गाउँपालिका वडा नम्बर ४ थर्पुका धनराज योङ्गहाङ्गलाई जनही ५ वर्षको कैद सजाय तोकेको छ । 

त्यसैगरी घटनामा संलग्न भएको भनिए पनि हाल मृत्यु भइसकेका प्रतिवादीहरु रुपन्देहीको देवदह नगरपालिका ६ खैरेनीका मनोज पुन भन्ने मनोज बुढामगर र ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ४ बसन्त थेवेको मृत्यु भइसकेको कारण उनीहरुको हकमा केही गर्नु नपर्ने भन्दै मुद्दा खारेज गरिएको छ ।

आपराधिक क्रियाकलापमा कुख्यात मनोज पुनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २०७४ फागुन ८ गते राती रुपन्देहीको देवदहमा इन्काउण्टर गरी हत्या गरेको थियो । पुनसँगै उनका सहयोगी सोम आलेको पनि हत्या भएको थियो ।

फरार ७ जनाको मुद्दा मुल्तबीमा

काठमाडौं जिल्ला अदालतले शरदकुमार गौचन हत्या प्रकरणमा फरार रहेका ७ जनाको मुद्दा भने मुल्तवीमा राखेको छ । काठमाडौं जिल्ला अदालतका अनुसार झापाको भद्रपुर नगरपालिका–४ का गंगा प्रकाश लिम्बु, सिन्धुपाल्चोकका चौतारा साँगाचोकगढी नगरपालिका–१० का अजय थापा, मोरङको केराबारी गाविस–५ की समिकला राई, सिराहाको लाहान नगरपालिका–७ का प्रवेश नायब, पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ की सुजा थक्सु वाजी, पर्साको बिरगंज महानगरपालिका–९ का प्रदिप कुमार झा र सिराहाको लाहान नगरपालिका–७का सुधिर कुमार साहको हकमा उनीहरुको मुद्दा मुल्तवीमा राखिएको छ ।

उनीहरु पक्राउ परी नआएको र हालसम्म फरारकै सूचीमा रहेको कारण उनीहरुको हकमा थप प्रमाण बुझ्नुपर्ने र बयान लिनुपर्ने भएको कारण पक्राउ परेका बखत जाग्ने गरी मुल्तवीमा राखिएको हो ।

यी ७ जना जसले सफाइ पाए

शरदकुमार गौचन हत्या प्रकरणमा प्रतिवादी बनाएकामध्ये ७ जनाले भने काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले समिरमानको भतिजा नागार्जुन नगरपालिका–४ लामथुम्कीका प्रकाश बुढाथोकी, पर्साको ठोरी गाउँपालिका–५ का सन्तोष गुरुङ, पर्साकै कालिकामाई गाउँपालिका–१ का शिवजी महतो कमकर, पाँचथरको मिक्लाजुङ गाउपालिका–८ का सुर्य बहादुर वाजी, सिरहाको  लाहान नगरपालिका–७ का राज कुमार साह, भारत बिहारका मुकेश कुमार पाण्डे र सिरहाको लाहान नगरपालिका–७ का श्याम गुप्ताले सफाइ पाएका छन् ।

हत्यामा उनीहरुको भूमिका नपाइएको भन्दै सफाइ दिइएको हो ।  

यसअघि असार १२ गते न्यायाधीश घिमिरेको इजलासले २४ जना प्रतिवादीमध्ये ७ जनालाई सफाइ, ७ जनाको मुद्दा मुल्तवीमा र मृत्यु भइसकेका दुई जनाको हकमा मुद्दा खारेज गरिदिएको थियो । दोषी ठहर भएका ८ जनाको हकमा कसुर निर्धारणका लागि असार २० गते बुधबारका दिन पेसी तोकिएको थियो । असार १० गते पेसीमा चढेपछि उक्त मुद्दालाई न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ गरेका थिए ।

२०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न भन्दै प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पछि बुझ्दै जाँदा घटनामा समिरमान सिंह बस्न्यातको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत् माया शेरचनविरुद्ध समेत मुद्दा दायर गरिएको थियो ।

हालको अपराध संहिताले जन्मकैद भन्नाले २५ वर्षको कैद सजाय सुनाएको छ । तर साविकको मुलुकी ऐनमा जन्मकैद भन्नाले २० वर्षको कैद सजाय हुने भन्ने व्यवस्था गरेकाले कुन सजाय कायम हुने हो, त्यो भने अझै खुलेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप