आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका उद्धव थापा सामु कम छैन चुनौती

बिहीबार, २१ असार २०८०, १९ : ००
बिहीबार, २१ असार २०८०

विराटनगर । कांग्रेसका कोशी प्रदेश सभापतिसमेत रहेका उद्धव थापा कोशी प्रदेशका पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेसबाट पहिलो पटक उनी कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।

प्रदेशका पहिलो मुख्यमन्त्री एमालेका शेरधन राई र दोस्रोमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । प्रदेशको तेस्रो मुख्यमन्त्रीमा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र चौथोमा एमालेकै हिक्मतकुमार कार्की बनेका थिए ।

केन्द्रीय सत्ता बाँडफाँटमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै दोस्रो मुख्यमन्त्रीका रुपमा थापाले प्रदेश सरकारको नेतृत्व सम्हाल्न पाएका छन् । शान्त स्वभावका उनी कोशी प्रदेशमा पहिलो गैरकम्युनिष्ट मुख्यमन्त्री बनेका छन् ।

थापाको राजनीतिक जीवन

२०१४ मंसिर १५ गते झापाको अर्जुनधारा–४ शनिश्चरेमा बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको कोखबाट जन्मिएका उनले अहिलेसम्म विभिन्न आरोह अवरोह पार गरेका छन् ।

उनको श्रीमती भगवती थापा र दुई जना छोरा छन् । २०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको राजनीति सुरु गरेका थापा २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा र निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा प्रचार अभियानमा लागेका थिए ।

त्यसबेला थापा विपी कोइरालाको सुरक्षा दस्तामा सहभागी थिए । २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्वको आन्दोलनमा पनि सहभागी भएका थापा प्रजातन्त्र पुनःस्थापनापछि भने कांग्रेसको स्थानीय समितिमा रहेर काम गरे । उनले कांग्रेसको अर्जुनधारा गाउँसमितिको सचिव र सभापति, झापा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति, झापा जिल्ला सचिव, उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए ।

२०६२/०६३ सालको जनआन्दोलनको समयमा उनी एक पटक १२ दिन र एक पटक १६ दिन तत्कालीन शाही सेनाको हिरासतमा परेर चरम यातना खेपेका थिए । २०६३ सालपछि उनले ३ वर्षसम्म जिल्ला समन्वय समितिमा सर्वदलीय संयन्त्रको सदस्य भएर काम गरे ।

उनी २०७० साल र २०७४ सालको निर्वाचनमा भने एमालेका उम्मेदवारबाट पराजित हुनुपरेको थियो । २०७० सालमा एमालेका प्रेम गिरी र ०७४ सालमा एमालेकै पवित्रा खरेलसँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थापा दुवै पटक पराजित बनेका हुन् ।

उनी कांग्रेसको १३ औं महाधिवेशनबाट भने कोशी प्रदेश सभापतिमा निर्वाचित भए । उनले प्रदेश सभापतिमा कांग्रेसका चर्चित नेता गुरुराज घिमिरेलाई २ मतले पराजित गरेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट रहेर प्रदेश सभापतिमा विजयी भएसँगै थापाको राजकीय भूमिकामा देखा पर्ने बाटो खुल्यो । उनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ पहिलो नम्बरमा नाम राख्न सफल भए । उनै थापा समानुपातिक कोटाबाट सांसद बने ।

कोशी प्रदेशसभा २०७९ साल माघमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा उनले संस्थापन पक्षको उम्मेदवार बन्दै इतर पक्षका केदार कार्की र अमृत अर्याललाई पराजित गरेका थिए । २९ सांसद रहेको कांग्रेस संसदीय दलमा थापाले १८ मत ल्याएका थिए । योसँगै दलको नेता बनेका उनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको ६ महिनाको अवधिमा सहयात्री दलहरु माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको सहयोगमा मुख्यमन्त्रीमा नियुक्त हुन सफल भए ।

थापाको सत्तायात्रा भने त्यति सहज देखिँदैन । उनको नियुक्ति प्रक्रियालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्न सुरु गरेको छ । तटस्थताको भूमिकामा रहेका सभामुखको संख्या गणना गरेर झिनो बहुमत (४७) पु¥याएका थापाका लागि ३० दिनपछि विश्वासको मतमार्फत बहुमत सिद्ध गर्नु तथा एमालेको गठबन्धनमा रहेको राप्रपालाई फकाएर आफ्नो पक्षमा ल्याउनु कठिन हुने देखिन्छ ।

त्यसका साथै सरकारका हरेक विधेयक तथा प्रस्तावहरुलाई प्रदेशसभाबाट पारित गराउने र सहयात्री दलहरुलाई मन्त्रालय बाँडफाँटमा चित्त बुझाएर अघि बढ्नु उनका लागि अर्को चुनौती हो । प्रदेश संरचनाप्रति जनतामा फैलिरहेको असन्तुष्टिलाई कम गर्नु, प्रदेश संरचना जनताकै सेवामा समर्पित रहन्छ भन्ने सन्देश दिएर सुशासन र विकासतर्फ प्रदेशलाई डो¥याएर लैजानु पनि उनलाई तेस्रो चुनौती छ ।

थापालाई उनी निकट कांग्रेसीहरु विकासवादी, व्यावहारिक र राजनीतिका योजनाकारको रुपमा लिन्छन् । उनी कांग्रेसमा रहँदा विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपदमा कांग्रेसको नीतिलाई साथसाथै लानुपर्ने बताउने गरेका छन् ।

वाणिज्य शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका थापा समन्वयकारी भूमिकामा रहन आफूलाई रुचाउँछन् । समन्वयकारी भूमिका र विकासवादी सोच रहेका उनले प्रदेशलाई कसरी अगाडि बढाउँछन्, त्यो भने हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप