आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महाकाली सिँचाइ तेस्रो चरण : परीक्षण गरिँदै मूल नहर

बिहीबार, २१ असार २०८०, २१ : ०७
बिहीबार, २१ असार २०८०

वेदकोट । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्मको मूल नहर परीक्षण गरिन लागेको हो ।

शुक्रबार (भोलि) देखि एक साता ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडेर परीक्षण गरिने आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । “भारतसँग नहर परीक्षणका लागि पानी छाड्न आग्रह गरेका छौँ”, भारतीय पक्ष तयार भएकाले भोलिदेखि एक सातासम्म २८ किलोमिटर मूल नहरमा पानी परीक्षण हुन्छ”, उनले भने ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना नानीबाली, चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो । नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ ।

महाकाली सिँचाइ आयोजनाका निर्देशक रणबहादुर बमका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । “बाइसवटा शाखा नहरमध्ये दुईवटाको निर्माणको काम सकिएको छ”, उनले भने “अन्यको काम भइरहेको छ ।”

आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए । आगामी आव २०८०/८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

“चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ”, निर्देशक बमले भने, “चालु आवमा रु एक अर्ब २३ करोड बजेट थियो ।” महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । 

विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ । यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । 

राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइसवटा शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप