आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रासस

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

शुक्रबार, २२ असार २०८०, ०८ : २२
शुक्रबार, २२ असार २०८०

म्याग्दी । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे ।

बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले एक सय २० बाख्रा पालेका छन्। 

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन्् । गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ । तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक रु १० लाख आम्दानी गरेको बताए ।

“विदेशबाट फर्किएपछि  रु ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोले”, उनले भने । बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दैआएका छन् । उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन् । “वार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य छ”, उनले भने ।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए । “मेरै बाटो पछ्याएर गाउँका अरुले  बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ”, उनले भने।  सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा  परिवर्तन आएको उनको अनुभव छ । 

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ । “चरनको समस्या छैन”, बाख्रापालक कृषक राजन राम्जालीले भने । विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ । 

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ । “मिलेर बाख्रापालन गरेका छौँ”, राम्जालीले भने । 

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने  स्थानीय बताउँछन् । खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन् ।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ । गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन् । उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन् ।

गाउँपालिकाले उनीहरुलाई रु २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप