आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रष्टाहरूको लेखन शिविर सम्पन्न

शुक्रबार, २२ असार २०८०, ०८ : २७
शुक्रबार, २२ असार २०८०

उदयपुर । डा. रणशेर राई स्मृति प्रतिष्ठान र वाङ्मय साहित्य प्रतिष्ठानको  आयोजनामा कोशी प्रदेश स्तरीय ‘स्रष्टाहरूको लेखन शिविर’ सम्पन्न भएको छ । १४ जिल्लाका साहित्यकार सम्मिलित तीन दिने सो कार्यक्रम उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा असार १६ गते शनिबारदेखि सुरु भएको थियो । 

पहिलो दिन प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार राईको सभापतित्वमा आयोजित सो कार्यक्रम प्रमुख अतिथि वरिष्ठ स्रष्टा गणेश रसिकले बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ स्रष्टाहरू बुलु मुकारुङ, शरणकुमार राई, राममणि पोखरेललगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । 

कार्यक्रममा स्थानीय कलाकारद्वारा स्वागत गीत तथा नृत्य प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रमुख अतिथि वरिष्ठ स्रष्टाहरू रसिक र मुकारुङले मन्तव्यसहित केही कालजयी गीत पनि गाएका  थिए । पहिलो दिन प्रतिष्ठानकी कोषाध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख गङ्गा राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

त्यस्तै दोस्रो दिनमा वाङ्मय साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार कौशल चेम्जोङको सभापतित्वमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई थिए । त्यसैगरी विशिष्ट अतिथिहरू गणेश रसिक, वुलु मुकारुङ, जीवन आरोही, पुन्य कार्की, त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत, प्राज्ञ चेतनाथ धमला, गायीका रश्मी राई, सुमी पोखरेल विभिन्न जिल्लाका पाँच दर्जन कविको उपस्थिति थियो ।

सामाजिक विकास मन्त्रालय प्रदेशको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा सामाजिक व्यक्तित्व स्व. रणशेर राईको समाधिस्थल र प्रतिमा मूर्तिमा गई सबै स्रष्टाहरूले धुप र फूलका गुच्छाहरूले श्रद्धाञ्जली माल्यार्पण गरेका थिए । कार्यक्रमको अन्तिम दिन सोमबार चौदण्डी गढीको भ्रमण गरी आमन्त्रित स्रष्टाले कविता वाचन गरेका थिए । 

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप