मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाल मन्दिरमा ब्याडमिन्टन दिवस, रसिलाले पुरस्कारको १० प्रतिशत रकम सहयोग गर्ने

शुक्रबार, २२ असार २०८०, ११ : ३९
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले काठमाडौँको नक्सालस्थित बाल मन्दिरमा ‘विश्व ब्याडमिन्टन दिवस’ मनाएको छ । अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको आवासमा रहेका बालिकाहरुले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्ने अवसर पनि पाएका थिए । 

बालिकाहरुले ब्याडमिन्टन खेलका प्राविधिक शब्दहरुबारे पनि जानकारी लिएका थिए । कार्यक्रममा ७० जनाभन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । बालिकाहरुले एकेडेमीका खेलाडीसँग नाचगानसहित मनोरञ्जन पनि गरेका थिए । 

कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टले बाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरिन् । बाल मन्दिरकी अध्यक्ष न्यौपानेले बाल मन्दिरमा आश्रित बालिकाहरुलाई खेलकुदबारे जानकारी हासिल गर्ने अवसर दिएकोमा एकेडेमीलाई धन्यवाद दिइन् । ‘आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । भविष्यमा उनीहरु देशका लागि खेल्ने प्रतिभाशाली खेलाडी बनेर पनि उदाउन सक्नेछन्,’ उनले भनिन् । 

एकेडेमीका सचिव दीपक थापाले विश्व ब्याडमिन्टन दिवसलाई फरक तरिकाले मनाउने उद्देश्यले बाल मन्दिरलाई रोजेको बताए । उनले भने, ‘हामीले विश्व ब्याडमिन्टन दिवस फरक तरिकाले मनाउन बाल मन्दिर छनोट गरेका हौं ।’  एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेको सम्पूणर् खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण गरेको थियो । बाल मन्दिरका बालिकाहरुलाई एकेडेमीका खेलाडीले ब्याडमिन्टनको र्‍याकेट समातेर सटल प्रहार गर्दै नेट कटाउन सिकाएका थिए । 

सोही अवसरमा नेपालकी नम्बर १ महिला खेलाडी रसिला महर्जनले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाहरूको शिक्षाका लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गरिन् । उनले हालै अन्नपूर्ण र प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेक थिइन् । जुलाई ५ तारिखलाई विश्व ब्याडमिन्टन दिवसको रुपमा मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप