आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा शनिबार सुरु हुँदैछ घरवारविहीनहरुको विश्वकप फुटबल

शुक्रबार, २२ असार २०८०, १८ : २१
शुक्रबार, २२ असार २०८०

काठमाडौँ । के तपाईं फुटबल पारखी हुनुहुन्छ ? त्यसोभए पक्कै पनि तपाईंलाई पुरुष विश्वकप फुटबल र महिला विश्वकप फुटबलको बारेमा राम्रो जानकारी होला । अझ, क्लब विश्वकप फुटबलको बारेमा पनि तपाईं जानकार हुनुहोला ।

तर, के तपाईंलाई थाहा छ, विश्वमा एउटा फरकखाले फुटबलको विश्वकप पनि हुन्छ । त्यो हो, ‘घरवारविहीनहरुको विश्वकप फुटबल ।’ घरवारविहीनहरुको विश्वकप फुटबल फुटबलको अर्को संस्करण अमेरिकामा आयोजना हुँदै छ । 

घरवारविहीनहरुको विश्वकपको १८औं संस्करणको उद्घाटन समारोह शनिबार हुँदैछ । यस पटकको संस्करणमा विश्वका ४० राष्ट्रले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा पाँच सयभन्दा बढी खेलाडीले भाग लिएका छन् । 

सामान्य विश्वकपभन्दा यो विश्वकपको नियम भने केही फरक छ । घरवारविहीनहरुको विश्वकप फुटबलमा सहभागी हुन् खेलाडीको उमेर कम्तीमा १६ वर्ष पुगेको हुनुपर्नेछ । खेलाडीले एक पटकभन्दा बढी घरवारविहीनहरुको विश्वकपमा सहभागिता जनाउन पाउँदैनन् । 

सबैभन्दा महत्त्वपूर्ण कुरा यो विश्वकपमा सहभागी हुने खेलाडी वास्तवमै घरबारविहीन हुनुपर्नेछ । अर्थात, सहभागी खेलाडीको स्वामित्वमा घर वा जमिन हुनु हुँदैन । खेलाडीले आफ्नो पारिवारिक अवस्थाको बारेमा आयोजकलाई पहिले नै जानकारी गराउनु पर्ने हुन्छ । 

सहभागी खेलाडी कम्तीमा पनि दुई वर्षदेखि अरूको सहारामा बाँचिरहेको हुनुपर्नेछ । लागू औषध वा मदिराको लतबाट छुटकारा पाउन पुनरस्थापन केन्द्रमा रहेका व्यक्तिले पनि प्राथमिकता पाउने छन् । यो विश्वकप ‘होमलेस वर्ल्ड कप फाउन्डेसन’ ले आयोजना गर्दै आएको छ । 

घरवारविहीनहरुको विश्वकपमा एउटा टोलीमा केवल चार जना खेलाडीको सहभागिता रहन्छ । तीन जना खेलाडी र एक जना गोलरक्षक । यसका अतिरिक्त एउटा टोलीमा थप चार जना वैकल्पिक खेलाडी पनि राख्न पाइने व्यवस्था गरिएको हुन्छ । 

प्रत्येक खेलमा विजयी हुने टोलीले तीन अंक पाउँछ भने पराजित हुने टोलीले अंक पाउँदैन । निर्धारित समयको खेल बराबरीमा सकिए पेनाल्टी सुटआउटबाट हारजितको निणर्य निकालिन्छ । पेनाल्टी सुट आउटमा विजयी हुने टोलीले दुई अंक पाउँछ भने पराजित हुने टोलीले पनि एक अंक हात पार्छ ।

घरवारविहीनहरुको विश्वकप फुटबलको प्रत्येक खेल केवल १४ मिनेटको हुन्छ । दुवै हाफ सात—सात मिनेट खेलाइन्छ । खेल मैदानको आकार पनि सानो हुन्छ । २२ मिटर लम्बाई र १६ मिटर चौडाइ भएको मैदानमा उक्त विश्वकप खेलाइन्छ । 

सन् २०१५ देखि यो विश्वकप सेन्थेटिक ट्रफमा खेलाइँदै आएको छ । फुटबल खेलको माध्यमबाट घरवारविहीनहरुको समस्या समाधान गर्दै लैजाने उद्देश्यले यो विश्वकप आयोजना गरिएको हो । घरवारविहीनहरुको समस्या समाधानमा यो विश्वकपले सघाउ पुर्‍याएको दाबी आयोजकको छ । 

यो विश्वकपको पहिलो संस्करण सन् २००३ मा अस्ट्रियामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा अस्ट्रियाले इङ्गल्यान्डलाई २—१ गोलले हराएको थियो । नेदरल्यान्ड्स तेस्रो भएको थियो । दोस्रो संस्करण सन् २००४ मा स्विडेनमा भएको थियो । दोस्रो संस्करणको फाइनलमा इटालीले अस्ट्रियालाई ४—० गोलले हराएको थियो । पोल्यान्ड तेस्रो भएको थियो । 

यसैगरी सन् २००५ मा स्कटल्यान्डमा भएको तेस्रो संस्करणको फाइनलमा इटालीले पोल्यान्डलाई ९—३ गोलले हराएको थियो । युक्रेन तेस्रो भएको थियो । सन् २००६ मा दक्षिण अफ्रिकामा भएको चौथो संस्करणको फाइनलमा रुसले कजाकस्तानलाई १—० गोलले हराएको थियो । पोल्यान्ड तेस्रो भएको थियो ।

सन् २००७ मा डेनमार्कमा भएको पाँचौं संस्करणको फाइनलमा स्कटल्यान्डले पोल्यान्डलाई ९—३ गोलले हराएको थियो । लाइबेरिया तेस्रो भएको थियो । सन् २००८ मा अस्ट्रेलियामा भएको छैटौँ संस्करणको फाइनलमा अफगानिस्तानले रुसलाई ५—४ गोलले हराएको थियो भने घाना तेस्रो भएको थियो ।

यसैगरी सन् २००९ मा इटालीमा भएको सातौं संस्करणको फाइनलमा युक्रेनले पोर्चुगललाई ५—४ गोलले हराएको थियो भने ब्राजिल तेस्रो भएको थियो । सन् २०१० मा ब्राजिलमा भएको आठौं संस्करणको फाइनलमा ब्राजिलले चिलीलाई ६—० गोलले हराएको थियो । मेक्सिको तेस्रो भएको थियो ।

सन् २०११ मा फ्रान्समा भएको नवौं संस्करणको फाइनलमा स्कटल्यान्डले मेक्सिकोलाई ४—३ गोलले हराएको थियो भने ब्राजिल तेस्रो भएको थियो । सन् २०१२ मा मेक्सिकोमा भएको १०औं संस्करणको फाइनलमा चिलीले मेक्सिकोलाई ८—५ गोलले हराएको थियो भने ब्राजिल तेस्रो भएको थियो ।

यसैगरी सन् २०१३ मा पोल्यान्डमा भएको ११औं संस्करणको फाइनलमा ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुट आउटमा १—० गोलले हराएको थियो भने रुस तेस्रो भएको थियो । सन् २०१४ मा चिलीमा भएको १२औं संस्करणको फाइनलमा चिलीले बोस्निया एन्ड हर्जगोभिनालाई ५—२ गोलले हराएको थियो भने पोल्यान्ड तेस्रो भएको थियो ।

सन् २०१५ मा नेदरल्यान्ड्समा भएको १३औं संस्करणको फाइनलमा मेक्सिकोले युक्रेनलाई ५—२ गोलले हराएको थियो भने पोर्चुगल तेस्रो भएको थियो । सन् २०१६ मा स्कटल्यान्डमा भएको १४औं संस्करणको फाइनलमा मेक्सिकोले ब्राजिललाई ६—१ गोलले हराएको थियो भने रुस तेस्रो भएको थियो ।

यसैगरी सन् २०१७ मा नर्वेमा भएको १५औं संस्करणको फाइनलमा ब्राजिलले मेक्सिकोलाई ४—३ गोलले हराएको थियो भने रुस तेस्रो भएको थियो । सन् २०१८ मा मेक्सिकोमा भएको १६औं संस्करणको फाइनलमा मेक्सिकोले चिलीलाई ६—३ गोलले हराएको थियो भने हंगेरी तेस्रो भएको थियो ।

सन् २०१९ मा वेल्समा भएको १७औं संस्करणको फाइनलमा मेक्सिकोले चिलीलाई ५—१ गोलले हराएको थियो भने रुस तेस्रो भएको थियो । त्यसपछि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । 

अब १८औं संस्करण अमेरिकामा आयोजना हुँदै छ । अमेरिकाले पहिलो पटक घरवारविहिनहरुको विश्वकप आयोजना गर्न लागेको हो । प्रतियोगिता आयोजकले विश्वभर करिब १० करोड घरबारविहीन ब्यक्ति रहेको अनुमान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप