आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘अन्यथा नमान्नु होला’ कवितामाथिको प्रतिक्रिया

शनिबार, २३ असार २०८०, ११ : ३८
शनिबार, २३ असार २०८०

प्रिय कवि रमण घिमिरे, साधुवाद । 

करिब दुई हप्ताअघि तपाईंको नामबाट प्रकाशित ‘अन्यथा नमान्नु होला’ शीर्षक कविता पढेर भावविह्वल भएँ । सुरुमा त लाग्यो, यो तपाईंले लेखेको होइन, तर पछि थाहा भयो, ती पंक्ति लेख्ने कवि तपाईं नै हुनुहुँदोरहेछ । त्यसयता मन त्यसैत्यसै चिथोरिएको छ, हुँडलिएको छ, औडाहा भएको छ । तपाईंले छादेका निराशा, कुण्ठा, घृणा, आक्रोश, र भँडासका शब्द केलाइकेलाइ हेरेँ, बुझेँ र जवाफमा यो पत्र लेख्ने धृष्टता गरेको हुँ, अन्यथा नलिनुहोला ।

कविज्यू, तपाईंसँग मेरो व्यक्तिगत चिनजान त छैन, तथापि तपाईंलाई म चिन्छु । तपाईंलाई चिन्ने अरु पनि पाटा छन्, तर खासमा तपाईं एक सर्जक वा कविका रूपमा परिचित हुनुहुन्छ । जहाँ पुग्दैन रवि, उहाँ कवि पुग्छ भन्ने लोकोक्ति छ । तपाईंहरू पुग्ने र देख्ने ठाउँमा अरु पुग्नै सक्दैनन् । त्यसैले त कवि तथा साहित्यकार समाजका दर्पण हुन् भन्ने मानक स्थापना भएको हो । 

कवि–कलाकारले बढाइचढाइ गर्ने र समाजमा हुँदै नभएका कुरालाई पनि वास्तविक बनाएर लेख्ने भएकाले सायद प्लेटोले यस्ता कवि–कलाकारलाई आदर्श गणराज्यबाट निष्काशन गर्नुपर्छ भनेर उद्घोष गरेका थिए । तपाईंहरूजस्तै कविका कारण प्लेटोले त्यसो भनेका हुन सक्छन् । खैर, प्रवास भासिएका नेपालीप्रति तपाईंले चलाउनुभएको कलमप्रति मलाई टीठ पनि जाग्यो र तपाईंलाई पनि नेपालको तथाकथित गणतन्त्रबाट निष्काशन गर्नुपर्ने त होइन भन्ने गहन प्रश्न उब्जिएको छ । 

ऐतरिय ब्राह्मण ग्रन्थमा एउटा सुन्दर वाक्य छ ‘चरैवेति चरैवेति’ । यसको अर्थ हो, चल्दै जाऊ । जस्तोसुकै परिस्थिति आए पनि जीवनमा चलिरहनुपर्छ, अगाडि बढ्दै जानुपर्छ । यसैको नाम जीवन हो । जिजीविषाले तानेपछि वा जीवन बाँच्ने र बचाउने, सिक्ने र सिकाउने क्रममा कतिखेर को कहाँ पुग्छ, कसैलाई थाहा हुन्न । केही प्राप्तिका लागि बुद्धले एकाएक रातमा घर छाडेर हिँडे । जिसस जन्मेको ठाउँबाट परपरसम्म हिँडे । मोहम्मद जन्मेको स्थानभन्दा पर अर्कै सहरलाई आफ्नो घर बनाएर बसे । 

ईशापूर्व सात सय वर्षअघि तक्षशिला विश्वविद्यालयमा पढ्न दसौँ हजार विद्यार्थी विभिन्न देशबाट आउने गर्थे । चिनियाँ यात्री हुएन सांग पूर्वीय दर्शन बुझ्न र हेर्न भ्रमणमा निस्के । सिकन्दर महान् पनि हाम्रो सभ्यता बुझ्न र लुट्न भारतवर्षसम्म आएका थिए । सभ्यताको विकास आवतजावतले मात्र सम्भव बनाएको छ । 

अमेरिका आप्रवासीले बनेको देश हो । हाम्रा बा र बाका पनि बाहरू वेद र संस्कृत अध्ययनका लागि बनारस ओर्ले । अध्ययन, खोज, अनुसन्धान, बसोबास, आर्थिक समुन्नति वा सहजीकरण र सुखको खोज मानवीय स्वभाव हो । पशुपक्षी वा चराचुरुंगी पनि आफू अनुकूलको वातावरण खोज्दैखोज्दै स्थानान्तरण वा सात समुद्रपारि पुगेको कुरा तपाईंलाई थाहै होला । यो उसको प्रवृत्ति पनि हो । सायद तपाईंका बा वा हजुरबा यसरी वेदाध्ययनका लागि बनारस वा घरबाहिर ननिस्केको भए तपाईंका वंशाणुमा पनि लेखकीय गुण हुने थिएन, न तपाईं कवि नै हुनुहुन्थ्यो र न यस्ता भँडास नै पोख्नुहुन्थ्यो । 

कविज्यू ! इमानदारिताका साथ भन्नुपर्छ, हो हामी परदेसिएका नेपाली हौँ । तपाईंले भनेजस्तै रहर, बाध्यता वा महत्त्वाकाङ्क्षा वा अरु कुनै कारणले हामी यहाँसम्म आइपुगेका हौँ । तथापि हाम्रो रगतमा नेपाली रगत बगिरहेको छ । हाम्रो पुस्ताको मुटुमा त्यही हिमाल, पहाड र तराई छ । हाम्रो मस्तिष्कमा त्यही गाई, बाख्रा, भैँसी र उकाली ओरालीका पदचाप गुञ्जिरहन्छन् । हाम्रो हातमा अझै पनि खेत र गरामा काम गर्दाका ठेला नमेटिने छापका रूपमा रहिरहेका छन् । हाम्रो सासमा अझै पनि नेपाली माटोको सुगन्ध आइरहेको छ । हाम्रा आँखाका नानीमा त्यहीँका गामबेसीका छहारा खेत देखिन्छन् । हामीले हाम्रो जवानीका अधिकांश समय त्यहीँको माटोमा विसर्जन ग¥यौँ । त्यहीँ खेल्यौँ र त्यहीँ हुक्र्यौं र समयको बर्को ओढेर हामी बिदेसिएका हौँ । 

बिदेसिनुको अर्थ तपाईंलाई म कसरी बुझाऊँ ? यसरी देश छाडेर जानुमा आफ्नै कमी–कमजोरी त पक्कै होला, देशका नेता पनि त यसका कारक हुन् भने कतिपयका लागि अलिअलि तपाईंजस्ता चाकडी र चुक्लीबाजको कारण पनि हुनसक्छ । हामी बिदेसिएर के बिगा¥यौँ ? बरु हामीले त देशलाई विश्वमा चिनाएका छौँ । हामीले हामी आउँदा नेपाल बोकेर आएका छौँ । 

हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो संस्कार र हाम्रा रीतिरिवाजलाई हामीले विस्तारित गरेका छौँ । मन्दिर बनाएका छौँ, धर्म फैलाएका छौँ । तीजमा सारी लगाएर नाचेका छौँ । यसै मेसोमा बरु तपाईंका कलम सोझा नेपालीलाई निस्फिक्रीसँग धर्मान्तरण गर्ने वा गराउने व्यक्तिहरूउपर चलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु । 

कविज्यू ! देश दुख्दा हामी पनि दुख्छौँ । देशलाई पीडा हुँदा हामी पनि पीडित हुन्छौँ । त्यो देशसँग तपाईंहरूभन्दा पनि हामीसँग अटूट माटो–मुटुको छ नाता । देशमा भूकम्प जाँदा विदेशी सामु हामीले शिर निहु¥याएर गरेका याचना अहिले पनि मेरा आँखाअगाडि नाचिरहेको छ । 

भारतले हाम्रो सीमा मिच्दा नेपालको झन्डा बोकेर युएन अगाडि प्रदर्शन गर्न तपाईं त आउनुभएको थिएन होला । आर्थिक अभावले अस्पतालको शय्या छाड्न नसकेका थुप्रै गरिब र असहायको उपचारमा गैरआवासीय नेपालीको उदात्त चरित्रले भरथेग गरेको छ । 

चोरजस्ता नेताले देश लुट्दा, देशले चित्कार गरिरहँदा वा बलात्कार गर्दा हामी दुख्न नपाउने ? हामीले हार गुहार गर्न नपाउने ? देशको चिन्ता वा चिन्तन हामीले गर्नै नपाउने ? हामीले लेख्न वा बोल्नै नपाउने ? देश बनेन वा देश बिग्रियो है भनेर हामीले सचेतना वा लेख्न पनि नपाउने ? तपाईं को हो, हामीलाई देशको चिन्ता वा चिन्तन नगर् भनेर निर्देशन दिने ? तपाईंहरूजस्ता लाछी कविहरूचाहिँ कोही रिसाउला कि भनेर आसआसमा बसेर देखेको कुरा लेख्न नसक्ने अनि हामीलाई तपाईंले गाली गर्ने ? हामीले तपाईंको वा तपाईंको बाउको के खाइदिएका छौँ ? हामीले हामी जन्मेको भूमिको के खाइदिएका छौँ ? के बिगारिदिएका छौँ ? हामीले झारेको आँसु गोहीको हो त ? यो देशमा के हाम्रा आफन्त छैनन् ? हाम्रा इष्टमित्र, बन्धुबान्धव छैनन् ? हाम्रा साथीसँगी छैनन् ? के उनीहरूको पीडामा हामीले मलम नलगाउने ? उनीहरूको दुःखमा हामी नरुने ?

हामीले त्यहाँको राजनीतिमा हस्तक्षेप त गरेका छैनौँ, यसो गर्दा ठीक होला भनेर सुझाव पनि दिन नपाउनु ? भ्रष्टाचारका कुरा गर्न नपाउनु ? बरु मैले सुनेको छु, तपाईंले हामीजस्ता बिदेसिएकाले ल्याएको महँगो रक्सी खानुभएको छ । मलाई शंका छ, कसैले तपाईंलाई तपाईंले भने बमोजिमको मोबाइल फोन वा रक्सी नल्याएको झोँक कवितामार्फत देखाउनुभएको त होइन ? मैले सोचेको थिएँ, कवि वा सर्जक उदात्त र धीर हुन्छन् तर तपाईंको यो हरफहरू देख्दा मलाई कविहरूप्रति एक किसिमको घृणाभाव जागेर आएको छ । 

हामीले कहिल्यै पनि आफू जन्मेको मातृभूमिको कुभलो चिताएनौँ, चिताएका पनि छैनौँ । हामीले देश बर्बाद गरेर हिँडेका होइनौँ, बरु देश बर्बादीको चश्मदिद गवाह हुनुभन्दा देश छाड्नु नै उचित लागेर हिँड्नेमध्येको एक म पनि हुँ । 

मन्त्री, प्रधानमन्त्री वा प्रशासकले जेजस्तो हर्कत वा कुकृत्य गरे पनि तपाईंहरूजस्ता नपुंशक लेखक, कविहरू ‘मौनं सम्मति लक्षणम’् गरेर बसेका कारण देश बर्बादतिर वा श्रीलंकाको बाटोतिर जान अभिसप्त छ । तपाईंले देश कहाँ बनाउनुभयो ? खुर्पा र देश उमार्ने बिउ कहाँ रोप्नुभयो ? तपाईंले कहाँ एकालाप गर्नुभयो ? खोक्रो राष्ट्रवादको अलाप नगाउनुस् कविज्यू । 

मलाई लाग्छ, तपाईंहरूमा पनि रोमका शासक निरोको लक्षण छ । एउटा कुरा भन्छु, तपाईंको बारेमा त म भन्न सक्दिनँ, तर तपाईंका सन्तानले अमेरिका आउनका लागि डिभी भरेको कुरा भने साँचो हो । उसो भए के कविज्यू, तपाईं आफ्ना सन्तानलाई पनि धारे हात लगाएर बिदाइ गर्नुहुन्छ ? जबजब हामीप्रति तपाईंका कुण्ठा पोखिएका छन्, तबतब मलाई भूपि शेरचनको यो कविताको याद यसरी आइरहेछ ः

म जति टाढा भए त्यो मेरो देश

सधैँ मेरो मनले

सपनामा पाइला टेकेको हुन्छ । 

कवि रमण, नामजस्तै रमाउनुस् । अरुको डाह र ईष्र्या नगर्नुस् । यो धर्ती सबैको हो । जो जहाँ गएर बसे पनि हुन्छ । ‘वसुधैव कुटुम्बकम्’जस्तो कति उदार र उदात्त छ हाम्रो परम्परा । यो सनातन धर्मको मूल आधार हो । यो आधार बाहिर रहेर तपाईंले जुन कुरा छाद्नुभयो, त्यो सभ्य समाजका लागि र तपाईंकै समकालीन कविहरूका लागि पनि सह्य हुँदै होइन । हो, कसैकसैले राम्रो लेख्नुभयो भनेर लेखेको पनि भेटेँ, तिनीहरूभित्र पनि जलन छ भन्ने स्पष्ट देखिन्छ । रेमिट्यान्सले चलेको देशका एक परिचित कविले आम आप्रवासी नेपालीसँग माफी मागून् कि ‘म मदहोस भएको बेलामा लेखेछु ।’ 

अन्तमा फेरि भूपिकै यो हरफबाट बिदा माग्छु ।

ए मेरो देशका राष्ट्रकविहरू हो

ए मेरो देशका सम्माननीय नेताहरू हो

भन्न मन लाग्छ भने भन मलाई

स्वदेशनिन्दक वा घृणाचिन्तक

तर यो देश तिम्रो जत्तिकै मेरो पनि हो...

 

अंशैबन्डा गर्ने हो भने पनि यो देशका एक करोड

टुक्रामध्ये एउटा टुक्रामाथि

मेरो पनि छाप्रो हुनेछ...

एउटा बगरमाथि मेरो पनि चिता हुनेछ । 

(नर्थ क्यारोलिना, अमेरिकाबाट ।)

०००

कविता : अन्यथा नमान्नु होला

रमण घिमिरे

रहरले होस् कि

बाध्यताले होस्

अथवा ठूलो कुनै महत्त्वाकाङ्क्षाले होस्

आखिर पुगी त सक्यौ हान्निएर

अस्ट्रेलिया, अमेरिका

अनि फेरि किन गुनासो देश बनेन भनेर ?

देश बने पनि

देश बिग्रे पनि

तिमी निमित्त हुँदै होइन

तिमी त रमिते मात्र हौ

तिमीले पातालमा

हनुमानचालिसा पढेर

यहाँ देश बन्दैन

देश त हामी बनाउँछौँ

बिगारे पनि हामी नै बिगार्छौं

किनभने

देश खन्ने कोदालो

देश चिल्याउने खुर्पा

अथवा

देश उमार्ने बिउ त

हाम्रो हातमा छ

त्यसैले तिमी

देशको यति सारो चिन्ता नगर

चिन्ता पनि हामी गर्छौं

चिन्तन पनि हामी गर्छौं

त्यहाँबाट तिमीले

गोहीको आँसु झार्दा

यहाँ देश डुब्दैन

हो, यो तिम्रो पनि देश हो

तर तिम्रा एकालापले

यस देशको चोला फेरिँदैन

आफ्नो सुख–सयल खोज्दै परदेशिनेले

देशको दुःख किन रुनु ?

तिमी उतैका भइसकेका छौ आफ्नै रहरले

उतैको ज्यालादारी गर्छौ

उतैको मानो खान्छौ

उतैको ‘गीता’ गाएर आनन्दित हुन्छौ

यहाँको चिन्ता

हामीलाई छोडिदेऊ

बनाउन सके बनाऊँला देशलाई

सकेनौँ भने पनि

देश सप्रेन भनेर

भुइँचालो आउँदाजस्तो

भागेर पलायन हुँदैनौँ

यहीँ किलो गाडेर बस्छौँ

मेरो भावनालाई

जति नै लाञ्छना लगाएर

फलाक, सराप, धारेहात लगाऊ

र भन– देश मेरो पनि हो

तर तिमीलाई नै थाहा छ

दुइटा नाउमा खुट्टा राख्नुको

परिणाम के हुन्छ !

०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खनाल
कृष्ण खनाल
लेखकबाट थप