पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतबाट राहत
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरालाई मनी लाउन्डरिङ्ग मुद्दामा अदालतबाट ठुलो राहत मिलेको छ ।
लाहोरको विशेष अदालतले सोमबार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका छोरा सुलेमान सरिफलाई १६ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ ।
फेडरल इन्भेस्टिगेशन एजेन्सी अर्थात् एफआईएले सुलेमान शरिफविरुद्ध यो मुद्दा दर्ता गरेको हो ।
सुलेमान सरिफ चार वर्ष लन्डनमा निर्वासनमा बसेपछि डिसेम्बर २०२२ मा पाकिस्तान फर्किएका थिए । पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्युरो अर्थात् एनएबीले पनि आयभन्दा बढी सम्पत्तिको मुद्दामा उनको नाम दर्ता गरेको छ ।
डन न्युजका अनुसार सुलेमान दुवै मुद्दामा घोषित अपराधी थिए । तर, उनी फर्कनुअघि नै इस्लामावाद उच्च अदालतले सुलेमानलाई पक्राउ गर्न दुवै निकायलाई रोक लगाएको थियो । गत वर्ष अक्टोबरमा एक विशेष अदालतले प्रधानमन्त्री शाहबाज शरिफ र उनका जेठा छोरा हम्जा शाहबाजलाई सोही मुद्दामा सफाइ दिएको थियो ।