सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मध्यपुर थिमिमा अस्पताल स्थापना गर्न दक्षिण कोरियाले ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने

मङ्गलबार, २६ असार २०८०, १४ : ५०
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अर्थ मन्त्रालय र दक्षिण कोरियाका राजदूतावासबीच भक्तपुरका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी भएको छ । 

मन्त्रालय र राजदूतावासबीच मंगलबार समझदारी भएको हो । समझदारी पत्रमा मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र राजदूतावासका राजदूत पार्क ते-योङले हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराई, मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कोइकाले ५ वर्षमा योजना सम्पन्न गर्नेगरी ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्य हासिल गर्ने कोइकाले जनाएको छ । 

परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने जनाइएको छ ।  

कोइकाले १५० शय्याको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्ने बताइएको छ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप