आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महाकालीको पानी सुनबरा नदीमा

मङ्गलबार, २६ असार २०८०, १५ : १६
मङ्गलबार, २६ असार २०८०

महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ ।

डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनीयर शम्भू पण्डितले चार दिनयता नहरमा पानी परीक्षणका रुपमा छाडिएको बताए ।

“फुलेलीबाट महाकाली नदीको पानी सुनबरा नदीमा छाडेका छौँ”, उनले भने, “भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएको छ ।” उनले मूलनहरमा अहिले तीनदेखि चार क्युसेक पानी बगिरहेको बताए । 

“मूलनहरमा नियमित छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको छ”, पण्डितले भने, “यहाँ अहिले २० र २१ नम्बर शाखा नहर निर्माण भएको छ । मूलनहर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको करिब तीन किलोमिटर क्षेत्रमा नहरमा दलदलको समस्या छ ।”

पानी परीक्षणका लागि छाड्दा दलदल भएको क्षेत्रको सफाइ गर्न पनि सहज भएको छ । नहर सफा गर्न अझै केही दिन पानी छाड्न भारतीय पक्षसित आग्रह गरिने उनले बताए । महाकाली सन्धिको २८ वर्षपछि ब्रह्मदेव क्षेत्रबाट महाकालीको पानी २८ किलोमिटर पूर्व शुक्लाफाँटा नगरपालिकासम्म पुर्याइएको छ ।

गत वर्ष धान दिवसका दिन २२ किलोमिटर मूलनहरसम्म महाकाली नदीको पानी पुर्याइएको थियो । आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालदेखि थालिएको मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो । यहाँ रु एक अर्ब बढीको लागतमा २२ शाखा नहर निर्माणको काम अघि बढेको छ । यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको पण्डितले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप