सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मङ्गलबार, २६ असार २०८०, १८ : ५०
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष व्यवसायी समाधानका लागि आग्रह गरेको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न समस्या विद्यमान रहेको भन्दै समाधानका लागि आग्रह गरेको हो ।

विद्यमान समस्या समाधान गरेको खण्डमा वैदेशिक रोजगारीमा आमूल परिवर्तन भई व्यवसाय व्यवस्थित, सुरक्षित र मर्यादित हुने संघको निष्कर्ष छ ।

संघले मागपत्र प्रमाणीकरण सम्बन्धमा देखिएको समस्या समाधानका लागि आग्रह गरेको छ । युरोपका विभिन्न देशबाट वैदेशिक रोजगारको मागपत्र प्राप्त भएको तर मागपत्र दिने देशमा नेपाली दूतावास नभएको कारण मागपत्र प्रमाणीकरण गर्न नपाई कामदार पठाउन नसकिएको भन्दै त्यो समस्या समाधानका लागि आग्रह गरिएको हो ।  

मागपत्र प्रमाणीकरण निर्देशिकामा संशोधन नहुँदा समस्या भएको भन्दै यथाशीघ्र संशोधनका लागि आग्रह गरिएको छ ।

त्यस्तै सेवा शुल्क सम्बन्धको विषयमा समेत उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सबैभन्दा बढी नेपाली जाने मलेसिया, साउदी अरब, कतार, युएई, बहराइन, ओमान र कुवेत जस्ता देशमा कामदार पठाए बापत व्यवसायीले १० हजार सेवा सुल्क लिन पाउने कानुनी व्यवस्था छ ।

सरकारले तोकेको उक्त शुल्कमा कामदार पठाउन नसकिरहेको भन्दै उक्त व्यवस्था परिमार्जन गर्नुपर्ने संघको धारणा छ । सेवा शुल्क बापत १ महिनाको तलब बरावरको रकम लिन पाउने व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् ।  

त्यस्तै जापान रोजगारीको बाटो खोल्न माग गरेका छन् । जापान नेपालीहरूका लागि प्रशस्त सम्भावना तथा अवसर भएको मुलुकमा कामदार पठाउन नसकिएको भन्दै त्यसतर्फ ध्यान दिन उनीहरूले माग गरेका छन् ।

त्यस्तै घरेलु कामदार पठाउन अनुमति प्रदान गर्न समेत सरकारसँग उनीहरूले माग गरेका छन् । मलेसिया लगायतका अन्य मुलुकबाट घरेलु कामदारको माग भएको हुँदा सरकारले आवश्यक अध्ययन गरी तत्कालै संस्थागत रूपमा घरेलु कामदार पठाउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

त्यस्तै वर्षमा १०० जना कामदार पठाउनुपर्ने कानुनी व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था हटाउन समेत माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप