आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कांग्रेस एउटा परिवार पनि हो, बालकृष्ण खाणलाई निलम्बन गर्दैन’

महामन्त्रीले सभापतिसँग द्वन्द्व गर्दा पार्टी अगाडि बढ्न सक्दैन : किशोरसिंह राठौर
बिहीबार, २८ असार २०८०, ११ : १४
बिहीबार, २८ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर महामन्त्रीले सभापतिसँग द्वन्द्व गर्दा पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् । महामन्त्रीले सभापतिलाई विश्वासमा लिएर पार्टीलाई अगाडि बढाउनु आजको आवश्यकता भएको उनले बताए ।

यस्तै, महामन्त्री गगन थापाले संसदीय दलको नेता हुन प्रयास गर्ने कुरा स्वभाविक भएपनि देउवालाई गाली गर्नु गलत भएको उनको भनाइ छ । कांग्रेसमा लोकतान्त्रिक अभ्यास भएपनि लोकतान्त्रिक संस्कार नहुँदा पार्टीमा समस्या आएको उनले बताए ।

प्रधानमन्त्री र मन्त्रीका लागि वर्तमान गठबन्धनको विकल्प खोज्नतिर कांग्रेसका नेताहरु नलाग्ने प्रतिनिधिसभा सदस्य समेत रहेका राठौरको जिकिर छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीले निलम्बन नगर्ने उनको भनाइ छ । परिवारको सदस्य दुःखमा परेका बेला पार्टीले अवहेलना गर्नु राम्रो नहुने राठौरको धारणा छ । 

प्रस्तुत छ, कांग्रेसको आसन्न केन्द्रीय समिति बैठकको सन्दर्भ पारेर सह–महामन्त्री किशोरसिंह राठौरसँग रातोपाटीका लागि लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंशः

kishor singh rathore (5)

करिब एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । के के विषयमा छलफल हुँदैछ ?

हामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा व्यस्त भयौँ । त्यसपछि सरकार गठनको विषयमा व्यस्त भयौँ । सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन भयो । तुरुन्तै बजेट निर्माणमा केन्द्रित हुनुपर्‍यो ।

बजेट आयोे । पास गर्नुपर्‍यो । त्यसैले समयमा केन्द्रीय समिति बैठक बस्न सकेन । करिब ११ महिनापछि केन्द्रीय समितिको बैठक बस्दैछ । तर, हामीले यस बीचमा धेरै पटक कार्यसम्पादन समितिको बैठकबाट धेरै निर्णय गरेका छौँ ।

त्यसलाई केन्द्रीय समिति बैठकले अनुमोदन गर्छ । पार्टी संगठन र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुन्छ । पार्टीभित्र अनुशासनको कुरा ठूलो समस्याका रुपमा आएको छ ।

२०५१ सालमा कृष्णप्रसाद भट्टराईलाई नेतादेखि कार्यकर्ताले घातअन्तरघात गरेदेखि पार्टी अराजकतामा गयो । हिजो नेताले बोलेपछि अनुशासन हुन्थ्यो । अहिले कसैले कसैलाई नमान्ने अवस्था छ । सोमबार हामी पदाधिकारी बैठक बसेका थियौँ ।

महामन्त्रीद्वयले पनि एजेण्डा तयार गरेर ल्याउनु भएको छ । त्यस एजेण्डाको विषयमा छलफल हुन्छ । 

पार्टी विधानसम्मत चलिरहेको छैन । प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक १ वर्षपछि बस्दैछ । पार्टीका सबै निकाय पनि अपूर्ण अवस्थामा छन् । भ्रातृसंस्थाको अवस्था पनि भद्र्रगोल छ । यी विषय बैठकमा कसरी उठ्छन् ?

स्थानीय तहको निर्वाचनको समीक्षा गरे पनि हामीले चुनावको समीक्षा समेत गर्न पाएका छैनौँ । सरकारको सहभागिता र बजेटप्रतिको गुनासो होला । यी सबै कुरामा गम्भीर समीक्षा हुन्छ ।

अर्को कुरा पार्टीको संरचनालाई पूर्णता दिनु, नदिनु ठूलो कुरा होइन । पार्टीको भएको संरचनाले पनि काम गरेको छैन । मैले १३ औँ महाधिवेशनदेखि उठाउँदै आएको कुरा छ । पार्टीभित्रको आन्तरिक निर्वाचनले पार्टी बलियो हुनुपर्ने हो । तर, नेपाली कांग्रेस कमजोर भयो । किन भयो भने हामीमा लोकतान्त्रिक संस्कार भएन । 

लोकतान्त्रिक संस्कार भनेको जित्नेले पार्टी चलाउने, हार्नेले सहयोग गर्ने, जित्नेले समेट्ने, हार्नेले कुर्ने हो नि त । हामीमा त्यो छैन ।

kishor singh rathore (7)

त्यसैले, पार्टीको आन्तरिक लोकतन्त्रले कांग्रेस कमजोर भएको मेरो ठहर हो । हामी हरेक ठाउँमा निर्वाचन भन्छौँ । त्यसले पार्टीलाई फाइदा गरेको छ कि बेफाइदा भएको छ, हामीमा गम्भीर समीक्षा भएको छैन ।

तपाईं पार्टीको संरचना बनेको छैन भन्नुहुन्छ । म पार्टीका भ्रातृ र शुभेच्छुक संस्था विघटन गर्नुपर्ने भन्ने पक्षमा छु । हिजो पार्टी प्रतिबन्धित हुँदा नेविसंघको आवश्यकता थियो । प्रतिबन्धित अवस्थामा पार्टी जोगाउने र लोकतान्त्रिक आन्दोलनको दियो जोगाएको नेविसंघले हो ।

आज यसको औचित्य छैन । पार्टीको संरचना पनि केन्द्रीय समिति, जिल्ला, पालिकामा चार पाँच जनाको कार्यसमिति, वडा कार्यसमिति र वडा कार्यसमितिमा जानुपर्छ । हिजो ‘मासबेस’ पार्टी कांग्रेसलाई कम्युनिस्ट पार्टीसँग प्रतिस्पर्धा गर्न ‘क्याडरबेस’ पार्टी बनाउन लाग्यौँ । तर, अब कांग्रेसलाई ‘क्याडरबेस’ पार्टी बनाउन जरुरी छैन ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यहाँ नेताका विरुद्ध उभिन पाइन्छ । तर, चारतारे झण्डा र रुख चिन्हका विरुद्ध लाग्न पाइँदैन ।

कांग्रेसलाई अब ‘मासबेस’ पार्टीमा फर्काउनुपर्छ भन्ने हो ?

पुरा ‘मासबेस’मा जानुपर्छ । पार्टीका भ्रातृ, शुभेच्छुक संगठन, पार्टीका संरचनाहरुका विषयमा पनि व्यापक छलफल गर्नुपर्छ । 

यसका लागि नेतृत्व तयार छ त ?

नेतृत्व तयार छैन । मैले मेरो कुरा भन्दैछु । पदको जिम्मेवारी दिने काम गर्नका लागि हो । यहाँ काम कोही गरिरहेका छैनन् । पार्टीमा जिम्मेवारी पाएपछि दलाली गर्ने र ठालु बन्ने काम भएको छ । 

त्यो सम्म सहन सकिन्थ्यो । तर, टिकट नपाए त्यही पदको बलमा पार्टीलाई अन्तरघात गर्नतिर लाग्छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यहाँ नेताका विरुद्ध उभिन पाइन्छ । पार्टीको संस्थापन हुन मैले पनि २० वर्ष त्यो गरेको हुँ । म लडेरै आएको हो । तर, चारतारे झण्डा र रुख चिन्हका विरुद्ध लाग्न पाइँदैन । जो चारतारे झण्डा र रुख चिन्हका विरुद्ध लाग्छ, त्यसले पार्टी छाडे हुन्छ । त्यस्तो कार्यकर्ता कांग्रेसलाई चाहिएको  छैन ।

kishor singh rathore (8)

कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेको छ । पार्टीका महामन्त्री नै सभापतिले मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन् । यो विषयमा केन्द्रीय समितिभित्र कसरी छलफल अगाडि बढ्छ ?

त्यो कुरा आइरहेको छ । अहिले निर्वाचित सभापतिको विकल्प खोज्ने कुरा गलत हो । सभापतिसँग चित्त नबुझेको कुरा उहाँसँग बसेर गर्न सकिन्थ्यो । उहाँ (गगन थापा)लाई सभापतिसँग चित्त नबुझेको कुरा हामीलाई पनि थाहा दिनु भए हुन्थ्यो ।

हामी पनि त पदाधिकारी हो । सभापतिले उहाँको के कुरा मान्नु भएन ? त्यो कुरा हामी पदाधिकारीलाई राखेर ‘हामीले यो चाहेका थियौँ, यो गर्न खोजेका थियौँ । पार्टीलाई यसरी लग्न खोजेका थियौँ । सभापति अवरोधक बन्नुभयो’ भन्ने कुरा उहाँहरुले हामीलाई शेयर गर्नुपर्यो नि त ! उहाँहरु मिडियामा आएर भन्नुहुन्छ । 

महामन्त्रीले न सभापतिसँग मिलेर काम गर्न सक्नु भयो न सह–महामन्त्रीलाई साथमा लिनु भयो । महामन्त्रीद्वय आफ्नै ढंगले अगाडि बढ्न खोजे भन्ने हो ?

हो, म त्यही भन्न खोजिरहेको छु । महामन्त्रीले सभापतिलाई विश्वासमा लिएर पार्टीलाई अगाडि बढाउने हो । महामन्त्रीले नै सभापतिसँग द्वन्द्व गर्दा पार्टी अगाडि बढ्दैन । तर, पदाधिकारी बैठकमा उहाँहरुले सभापतिको विकल्पको विषयमा कुरा गर्नु भएको छैन । उहाँहरुले केन्द्रीय समिति बैठकबारे राम्रै कुरा गर्नुभयो । 

गुटको बैठक नराखेर केन्द्रीय समितिमा आफ्ना धारणा राख्ने कुरा राम्रो हो । गुट भनेको निर्वाचनको बेला हुने हो ।

महामन्त्रीहरुले असार २१ र २२ गते जिल्ला सभापतिसँग बैठक गर्दा सभापतिको सहभागिता देखिएन । उहाँले सभापतिलाई ‘बाइपास’ गर्नु भएको कि सभापतिले जिल्ला सभापतिको बैठकलाई बेवास्ता गरेको हो ? 

पदाधिकारी बैठकमा सभापतिलाई सोधेका थियौँ । उहाँले आफ्नो सहमतिमै जिल्ला सभापति बैठक भएको बताउनुभयो । तर, हामी सह–महामन्त्रीलाई बैठकबारे समयमा जानकारी आएन ।

बैठककै बिहान मलाई फोन आएको थियो । म त जिल्ला गएको थिएँ । जिल्ला सभापतिको बैठक जस्तो कुरामा सह–महामन्त्रीलाई कार्यक्रमको दिनमा फोन गर्ने त्यो ठीक कुरा हो त ? त्यसबाटै कुरा बुझिन्छ कि त्यो भेलाको रखाइ, काम गराइ कति व्यवहारिक थियो ? त्यस विषयमा केन्द्रीय समितिमा कुरा उठ्छ ।

कांग्रेसमा केन्द्रीय समिति बैठक बस्नुअघि संस्थापन इतर पक्षले सभापतिमाथि घेराबन्दी गर्न गुटगत बैठक राख्ने परम्परा थियो । यसपटक बैठक नराखी शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा सहभागी हुँदैछन् । यसलाई कसरी लिनु भएको छ ?

गुटको बैठक नराखेर केन्द्रीय समितिमा आफ्ना धारणा राख्ने कुरा राम्रो हो । गुट भनेको निर्वाचनको बेला हुने हो । सधैँ त्यही गुट लिएर हिँड्नुपर्छ भन्ने पनि छैन । अहिले पार्टी निर्माण गर्ने कुरा हो ।

kishor singh rathore (9)

आगामी महाधिवेशनमा को–को कहाँ–कहाँबाट प्रतिस्पर्धा गर्ने हो गरौला । हिजो पनि चार पाँच जना पार्टी सभापतिमा लड्नु भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच नजिकिएको चर्चा थियो । त्यसले यसलाई बल पुग्यो हैन त ?

मलाई त्यस्तो लाग्दैन । मैले अघि भनेको जस्तो जित्नेले चलाउने र हार्नेले सघाउने, जित्नेले समेट्ने, हार्नेले कुर्ने पद्धति हो । त्यही पद्धतिअनुसार उहाँ हिँड्न खोजेको जस्तो मलाई लागेको छ । जहाँसम्म भागबण्डाको कुरा छ । हरेक ठाउँमा शेरबहादुर दाइले भाबगण्डा दिइराख्नु भएको छ । शेखर दाइले पार्टी बनाउन सकारात्मक भूमिका देखाउँदा राम्रो हुन्छ ।

सभापति देउवाप्रति कोइराला उदार देखिने कुराले के अब कांग्रेसमा गुटगत लडाइँ कम हुन्छ ?

तपाईंहरु सधैँ गुटमा मात्र सीमित हुनुहुन्छ । गुट मात्र समस्या होइन, लोकतान्त्रिक संस्कार नभएकाले समस्या भएको हो । हामी जिम्मेवारीमा बसेको मान्छेले काम नगर्नु समस्या हो । गुट त हिजो वीपी कोइरालाको पालामा पनि थियो । अहिले पनि छ, भोलि पनि हुन्छ ।

kishor singh rathore (10)

कांग्रेसका केही नेताले थालेको रुपान्तरण अभियानलाई कसरी लिनुहुन्छ ?

रुपान्तरण भनेको आफूले आफैलाई रुपान्तरण गर्ने हो । म आफूलाई क्रमिक रुपमा रुपान्तरण गर्दैछु । यो रुपान्तरणका कुरा गर्नेहरु १४ औं महाधिवेशनमा हार्नेहरु हुनुहुन्छ ।

तर, महामन्त्रीले आफ्नो पार्टी सभापति प्रधानमन्त्री हुनुभयो भने देश र पार्टीको अहित हुन्छ भन्ने गलत कुरा हो ।

उहाँले १५ औं महाधिवेशनको तयारी थाल्नु भएको छ । जहाँसम्म पार्टीलाई रुपान्तरण गर्ने भन्दा पनि उहाँहरु आफू रुपान्तरण हुनुभयो भने राम्रो हुन्छ । हामी सबै रुपान्तरण भयौँ भने पार्टी आफै रुपान्तरण हुन्छ । कांग्रेसमा अब आर्थिक, राजनीतिक र सामाजिक मुद्दामाथि बहस गर्नुपर्छ । अहिले पार्टीमा पदको मात्र झगडा भइरहेको छ । 

संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउने कसरतमा रहेको महामन्त्री गगन थापाले बताइरहेका छन् । देउवा भावी प्रधानमन्त्री हुने कुरा पार्टी र देशको हितमा हुँदैन भन्ने उहाँको तर्क छ । कांग्रेसमा संसदीय दलको नेता परिवर्तन हुने सम्भावना कत्ति छ ? 

उहाँ संसदीय दलको नेता लडेर हारेको मान्छे हो । उहाँले संसदीय दलको नेता हुने चाहना राख्ने कुरा गलत होइन । तर, महामन्त्रीले आफ्नो पार्टी सभापति प्रधानमन्त्री हुनुभयो भने देश र पार्टीको अहित हुन्छ भन्ने गलत कुरा हो ।

उहाँलाई संसदीय दलको नेता हुन् कसले रोकेको छ र ? अस्ति भरखर शेरबहादुर देउवाले अत्याधिक मतले जितेको सबैलाई थाहै छ । उहाँले एक–दुई वर्ष कुरेर फेरि प्रयास गरे भयो त । संसदीय दलको नेता हुन उहाँले प्रयास नै गर्न पाउनुहुन्न, उहाँ संसदीय दलको नेता हुनुहुन्न पनि भनेका छैनौँ ।

kishor singh rathore (11)

यो सत्ता गठबन्धनबारे पनि संशय चलिरहेको छ । गठबन्धनबीच भएका सहमति कार्यान्वयन भएर पाँच वर्ष टिक्छ ?

हामी चुनावमै गठबन्धन गरेर गएका हौँ । त्यसबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी भयो । यो गठबन्धन जोगाउने नैतिक जिम्मेवारी कांग्रेसमाथि छ । गएको वर्षपछि पदका लागि तत्कालीन नेकपाका नेताहरुले झगडा गर्दा यो परिस्थिति आयो । पाँच वर्ष हाम्रो खेर गयो ।

अबको पाँच वर्ष पनि यही सत्ताको झगडा गरेर बस्ने हो भने जनताले हामीलाई के भन्छन् ? भोलि २०८४ सालमा मत माग्न जाँदा के भन्छन् ? त्यसैले, सत्ताका लागि यो गठबन्धनको विकल्प खोज्नतिर कांग्रेस लाग्दैन ।

को प्रधानमन्त्री, को मन्त्री भन्ने होइन । मन्त्री हुन त मलाई पनि इच्छा लागेको होला नि त । म त अहिलेसम्म भएको छैन । गगनजी ४० वर्षमै मन्त्री बन्नु भएको थियो, म ६० वर्षको हुन लागें, मन्त्री भएको छैन । तर, यो अहिले बहसको विषय होइन । बरु संविधानमा कमी कमजोरी छन् भने पार्टीका सबै मिलेर संविधान संशोधन गर्नुतिर लाग्नुपर्छ । 

एमालेका नेताहरुले सत्ता सहकार्यका लागि प्रस्ताव गरिरहेका छन् । एमालेसँग तत्काल सत्ता सहकार्यको सम्भावना छ कि छैन ? 

हामी यो गठबन्धनको विकल्प खोज्ने पक्षमै छेनौँ । एमाले अहिले सत्ताको खेलामा लाग्नु हुँदैन । प्रचण्डले धोका दिए भनेर कांग्रेससँग प्रस्ताव गर्ने होइन । देशको दोस्रो ठूलो पार्टी जिम्मेवार प्रतिपक्षी बन्नुपर्छ ।

kishor singh rathore (1)

नक्कली भुटानी शरणार्थी प्ररकरणमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण पुर्पक्षका लागि जेल चलान भएका छन् । कांग्रेसले उहाँलाई जिम्मेवारीबाट किन अलग राखेको छैन ? उहाँको निलम्बनका लागि केन्द्रीय समितिमा कुरा उठ्छ कि उठ्दैन ?

अहिले यो मुद्दा अदालतमा गइसक्यो । अदालतमा गइसकेको विषयमा हामीले बोल्न मिलेन नि त ! साथै तपाईं यसरी पनि बुझ्नुस् । कांग्रेस भनेको एउटा परिवार पनि हो । परिवारमा कसैलाई मुद्दा लाग्यो भने तपाईं परिवारको सदस्यलाई भेट्नै जानुहुन्न ? खाना खानै दिनुहुन्न ? उसले गल्ती गरेको छ भने त अदालतले सजाय लिहाल्छ नि ! घर परिवारको सदस्यलाई गर्नुपर्ने कतव्र्य त गर्नु पर्यो नि त !

कांग्रेसका कोही नेतालाई अदालतले दोषी ठहर गर्‍यो भने सजाय भोग्छन् । खुमबहादुर दाइले भोग्नु भएको होइन ? त्यसलाई त हामीले रोक्न गएका छैनौँ नि त ! दुःख र गाह्रो भएको बेला पार्टीले पनि अवहेलना गर्ने काम गर्नु हुँदैन ।

मतलब कांग्रेसले बालकष्ण खाणलाई पार्टीबाट निलम्बन गर्दैन ?

अहिले निलम्बन गर्दैन । यसबारे अदालतले निरुपण गर्छ । कांग्रेस कसैलाई न निर्दोष हो भन्छ, न दोषी हो भन्छ । यो काम अदालतको हो । अदालतको अन्तिम फैसला जे आउँछ, कांग्रेसलाई त्यो स्वीकार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप