सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुई आयोजना अघि नबढ्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य

बिहीबार, २८ असार २०८०, १४ : ५९
बिहीबार, २८ असार २०८०

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बालसुधारगृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिँदै उनले पुँजीगत कार्यक्रम सामान्य प्रकृतिका भए पनि दुई आयोजना अघि बढ्न नसक्दा चालु खर्च कम देखिएको बताए ।      

“मन्त्रालयको बजेटको ठूलो हिस्सा चालु खर्चबाट कार्यान्वयन गर्ने प्रकृतिको छ”, मन्त्री आचार्यले भने, “तर, काठमाडौँको गोठाटारस्थित अस्पतालसहितको वृद्धाश्रम र तनहुँको ढकालटारमा बालसुधारगृह निर्माण आयोजना अघि बढाउन नसक्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको हो ।” 

बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट स्वीकृत कार्यक्रमबमोजिम कार्यक्रम सञ्चालन गर्न बजेट पर्याप्त भएको स्पष्ट पारे । “हालसम्म पाँच सय ३६ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ”, मन्त्री आचार्यले भने, “यस कार्यक्रमलाई निरन्तरता दिनका लागि बजेटको कमी छैन ।” 

उनले आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरेर परियोजनालाई थप परिमार्जन गर्नेसमेत बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप